नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधार गर्न नेपाल बिद्यार्थी संघले माग गरेको छ । क्याम्पसमा बेथिती बढेको निस्कर्ष निकाल्दै नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थी नेतृत्वले क्याम्पस प्रमुख लालमणि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएर यस्तो माग गरेको हो ।
नेपाल बिद्यार्थी संघका नेता सन्तोष रावल (आर.एस) को नेतृत्वमा पुगेका बिद्यार्थीले बिहीबार क्याम्पस प्रमुख आचार्यलाई भेटेर उक्त पत्र बुझाएका थिए । पत्रमा क्याम्पसको भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने माग गरिएको छ । नेविसंघले क्याम्पसको छात्रबास सुधार गर्नुपर्ने भन्दै छात्रबास मर्मत, खानेपानी, सरसफाई, शौचालय सुविधा र सुरक्षा व्यवस्थामा सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
यस्तै पुस्तकालय सुधारका लागि पाठ्यपुस्तक, सन्दर्भ सामाग्री, समाचारपत्र र डिजिटल स्रोतहरुको सहज पहुँच सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । क्याम्पसको पठन-पाठनमा गुणस्तर सुधारका लागि नियमित कक्षा सञ्चालन, विषय अनुसार योग्य शिक्षकको ब्यवस्था, प्रयोगात्मक कक्षाको सुविधा, समयमै परिक्षा सञ्चालन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता हुनुपर्नेमा जोड दिदै स्पष्ट मापदण्ड सहित सूचना सार्वजनिक गर्नुपर्ने माग नेविसंघले जोडदार रुपमा उठाएको छ । आर्थिक रुपले कमजोर भएका योग्य बिद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिनुपर्ने र सम्पूर्ण विवरण सूचना पाटीमा राख्नुपर्ने माग गरिएको छ । क्याम्पस वातावरण तथा सरसफाई सुधारका लागि क्याम्पस परिसरमा सरसफाई, ब्यवस्थित पार्किङ, झारपात हटाउने, वृक्षारोपन गर्ने जस्ता दिर्घकालिन योजनाहरु लागु गर्नुपर्ने नेविसंघले सुझाव दिएको छ ।
उक्त विषयमा क्याम्पस प्रशासनले यथाशिघ्र आवश्यक कदम चाल्ने विश्वास लिइएको नेविसंघका नेता रावलले बताएका छन् । ‘बिद्यार्थीको आवाज र सवाल उठाउन म लगायत नेविसंघका सबै साथीहरु निरन्तर सक्रियम रहने कुरामा प्रतिवद्धत छु,’ उनले भने । ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेविसंघका नेताहरु रमेशप्रसाद न्यौपाने चन्द्रलाल जैसी, विशाल थापा, खगेन्द्र बजगाई, निराजन चौधरी लगायतको उपस्थिती रहेको थियो ।