बाँकेको बैजनाथ गाउँपालिकाले हरेक वर्ष आफ्नो वार्षिक बजेट सबैभन्दा बढी कृषी र पशुपालन क्षेत्रमा लगानी गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखी २०८२/०८३ सम्म आईपुग्दा किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत बैजनाथका किसानलाई ७० प्रतिशत र पूर्ण अनुदानमा कृषी र पशुपालनका लागि थुप्रै सामाग्री वितरण गर्दै आएको छ ।
बैजनाथले कृषी र पशुपालन क्षेत्रमा गरेको लगानीलाई सिको गर्दै पछिल्लो समयमा देशका अन्य स्थानीय तहले पनि कृषी र पशुपालनलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न थालेका छन् । गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरिसकेपछि कस्तो प्रतिफल आईरहेको छ ? यि विविध विषयमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीसँग गरिएको संवाद :-
किसानसँग पालिका प्रमुख कार्यक्रम ४ वर्षदेखी निरन्तर कार्यान्वयनमा छ । कार्यक्रम कस्तो चलेको छ ?
किसानसँग पालिका प्रमुख कार्यक्रमको अवधारणा २०७९ सालमा दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिदै गर्दा समग्र रुपमा बैजनाथ गाउँपालिकाको ७० प्रतिशत भन्दा बढी किसानहरु कृषी र पशुपालनमा लागेको अवस्था थियो । किसानले यसैबाट जिविकोपार्जन गरेको अवस्था देख्दा हामीलाई लाग्यो, कि कृषीमार्फत आर्थिक क्रान्ति ल्याउनु छ भने ७० प्रतिशत भन्दा बढी जनतालाई प्रविधिसँग जोड्नुपर्छ ।
विज्ञानको युग अनुसार प्रविधिसँग जोडेर उहाँहरुलाई जिविकोपार्जन र उत्पादनसँग जोड्यौं भने पक्कैपनि कृषीको माध्यमबाट आर्थिक क्रान्ति ल्याउन सकिन्छ भन्ने ध्येयका साथ हामीले किसानसँग पालिका प्रमुख कार्यक्रम जोडेर सोही अनुसार अगाडी बढेको र यो चाही उपलब्धी मूलक, फलदायी नै भएको छ ।
किसानसँग पालिका प्रमुख कार्यक्रम लागु हुनुभन्दा अगाडीको अवस्था र कार्यक्रम लागु भईसकेपछि बैजनाथमा कृषीको समग्र अवस्थामा कत्तिको परिवर्तन आएको छ ?
किसानसँग पालिका प्रमुख कार्यक्रम हुनुभन्दा अगाडीको अवस्था भन्ने कुरा त किसानले नै अनुभुति गर्नुहुन्छ होला । हामीले आफ्नो प्रशंसा आफै गरेको जस्तो होला । विशेषगरी पहिले किसानको अवस्था र अहिले किसानको अवस्थामा जमिन आकाशको फरक देख्छु मैले । पहिले किसानहरुले पुरानो खालको खेती, प्रविधि प्रयोग गर्नुहुन्थ्यो । नयाँ प्रविधिसँग जोडिनु भएको थिएन । जस्तै समयमा खेती नहुने, सिंचाईको कमी हुने ।
यान्त्रीकरणको कमीले गर्दाखेरी भाडामा ल्याउनुपर्ने जटिलता, उहाँले कुरिरहनुपर्ने अवस्था थियो । पानी सिंचाईको लागि पनि पम्पसेटहरु, डेलिभरी पाईपहरु, प्लाष्टिक पाईपहरु, खोलाबाट, संचित पोखरी, खाल्डा खुल्डीबाट पनि सिंचाई गरेर समयमा खेती गर्न सक्ने अवस्था देखिएको अवस्थाले गर्दा पनि उत्पादनमा उहाँको बृद्धि कम हुने र अहिले किन गर्यौं भने यो कार्यक्रमबाट हामीले पम्पसेट दिएका छौं । लालटिन पम्प दिएका छौं । डेलिभरी पाईप, प्लाष्टिक पाईप, कटन पाईप, त्यो माध्यमबाट किसानले समयमा सिंचित गरेर खेती गरिरहनु भएको छ । त्यो हिसाबले पनि पहिले र अहिलेकोमा फरक पाउँछौं एउटा कुरा । किन फरक पाउँछौं भने पहिलेको कार्यकालमा किसानको समय अनुकुल खेती नगरेकोले उत्पादनमा त्यति बृद्धि नभएको अवस्था थियो ।
अहिले उत्पादनमा बृद्धि भएको देखेको छु मैले । किसान पनि खुसी भएको कुरा छ । मिनी टिलर र पावर टिलर दिदै गर्दा समयमा खेती गर्नुभयो । १० कठ्ठा जमिन लगाउने, त्यसपछि सामान्य कसैको १० कठ्ठा जमिन छ, अन्यत्र कसैको १ विघा जमिन छ भने पनि उहाँले आय स्तर बृद्धि गरिरहेको अवस्था छ । यान्त्रीकरणको मद्धतले समयमा जोत्नु भएको छ । ७० प्रतिशत अनुदानमा उहाँले यान्त्रीकरण लिनु भएको छ । यान्त्रीकरणको मद्धतले समयमा आफ्नो जोतेर समयमा खेती गर्नु भएको छ ।
अर्को कुरा मैले के फरक पाए भने किसानले तरकारी खेती, फलफुल खेती, दलहन बाली, अन्नबाली लगायत किसानहरुको चाही ढुवानीको कमीले गर्दा धेरै समस्या परेको थियो । अहिले ई–लोडिङ रिक्सा हामीले चाही प्रत्येक समुह र फर्मलाई दिएका छौं । त्यसबाट उहाँले ढुवानी गरिरहनु भएको छ । कृषीका उत्पादन भएका बस्तुलाई एकै ठाउँमा राखेर उहाँले बजारीकरण गरिरहनु भएको छ । त्यस हिसाबले पनि किसानमा हौसला बढेको छ । हामीले चाही खेती गर्नुपर्छ । हामीले बेमौसमी खेती गर्नुपर्छ । तरकारी खेती गर्नुपर्छ भनेर लाग्नु भएको छ । किन लाग्नु भयो भनेपछि उहाँले ढुवानीको साधन छ, हाम्रो समुहको पालैपालो समयमा लिन पाउँछौं । समयमा बजारीकरण गरिसकेपछि हामीले गरेको लगानी र मेहनतको फल आईरहेको छ भनेर बुझ्नु भएको छ ।
भैसी पालक किसानलाई हामीले चारा मेसिन दिएका छौं । दाना बनाउनलाई मिनी मिल दिएका छौं । त्यसबाट पनि उहाँले भैसी पालन गर्नु भएको छ । हाम्रो बैजनाथको दुधहरु लगभग धेरै नै बिक्री, वितरण भएर बजारीकरण भएको तपाईहरुले देखिरहनु भएको छ । एउटा भैसी छ भने ४ वटा बनाउनु भएको छ । ४ वटा भैसी हुनेले ५/६ वटा बनाउनु भएको छ । त्यो बृद्धि भएको छ ।
भैसी पालक किसान पनि बढ्दै जानु भएको छ । उहाँहरुलाई बर्सिम घाँसको बीउ देखी लिएर विभिन्न सहयोग गरेका छौं । गाई भैसीलाई सुरक्षित बस्ने ठाउँ चाहिन्छ भनेर म्याटहरु दिएका छौं । यसले गर्दा पनि दुध उत्पादन बढेको पाएका छौं । किसानले पनि भनिरहनु भएको छ हामीलाई । दुध बिक्री गर्ने क्यान दिएका छौं । पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै नै फरक देखेको छु । पहिलेको अवस्था र अहिलेको अवस्थाको अनुभुति किसानले नै गर्नुहोला ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ७० प्रतिशत अनुदानमा वितरण गरेका पावर टिलर ।
किसानसँग पालिका प्रमुख कार्यक्रमले गाउँपालिका भित्रका कस्ता-कस्ता किसानलाई समेटेको छ ?
कार्यक्रमले मध्यम किसान, निम्न किसान र ठुला किसान सबैलाई समेटेको छ । किन समेटेको छ भने कृषी समुहमा आवद्ध नभएर पनि त्यस्ता किसान छन् भने कृषी ब्यवसाय गर्नुहुन्छ, उहाँहरुलाई पनि समेटेका छौं । किनभने हामीले सबैलाई समेट्ने नीति ल्याएका छौं । कसै न कसैले स्थानीय सरकारले दिएको अनुदान पाउन । त्यसबाट उहाँहरुमा स्थानीय सरकार भएको अनुभुति होस् । किसानको पनि अपनत्व होस् । त्यसकारण पनि हामीले यो कार्यक्रम ल्याएका छौं ।
हामीले समग्र किसानलाई समेटेका छौं । किसानमाझ हामीले समुह बनाएका छौं । १५ देखी २० जनाको समुह बनाएर त्यसपछि सूचीकृत गर्नुहुन्छ, त्यसलाई हामीले बैधानिक मानेका छौं । एउटा फर्महरु हुन्छ, त्यसलाई बैधानिक मानेका छौं । त्यसपछि अर्को चाही किसान हुनुहुन्छ, तर फर्म दर्ता गर्नु भएको छैन भनेपनि अनुदान दिएका छौं । समुहमा पनि हुनुहुन्न, फर्म पनि दर्ता छैन भनेपनि हामीले उहाँलाई पनि प्रोत्साहन गरेका छौं । त्यसैले हामीले सबैलाई समेटेका छौं ।
किसानले अनुदान पाउनु भएको छ, कत्तिको सदुपयोग भएको पाउनु भएको छ ?
हामीले सम्झौता गर्दाखेरी नै भन्छौं, यसलाई बिक्री वितरण गर्न पाईदैन । संरक्षण गर्ने तपाईहरुको दायित्व हो । हामीले दिएको यसलाई अनुदान मात्रै नसम्झिनुस् । यो तपाईलाई सहयोग गरेको कुरा अनुभुति हुनुपर्यो । यसबाट धेरै भन्दा धेरै सरकारले लगानी गर्दै गर्दा १० कठ्ठा जमिन जोत्नेले मिनी टिलर पाएको छ । उसले एक विघा जोत्छ । समयमै सिंचित गरेर खेती होस् भनेर किसानहरुले यान्त्रीकरण सदुपयोग गर्नुहुन्छ । हाम्रो एउटा टिम छ । त्यो टिमले कृषी शाखा र पशु शाखा अन्तर्गतको टिम छ । हामीले विगतमा दिएका यान्त्रीकरणको अवस्था के छ ? प्रयोग छ कि छैन ? सदुपयोग गर्नु भएको छ कि छैन ? कसैलाई दिनु भएको छ कि भन्ने खालको त्यस्ता कुरामा पनि हामीले अनुगमन गरेर प्रतिवेदन बनाएर राख्छौं र त्यस्तो अवस्थामा कुनै किसानले सदुपयोग गर्यो भने त्यो किसानबाट अनुदान खोसिन्छ र उहाँलाई कारबाही पनि हुन्छ ।
किसानले अनुदान पाउनको लागि सामान्यतया के–के कुरामा ध्यान दिनुपर्छ ?
किसानले अनुदान पाउनको लागि न्यूनतम ध्यान दिनुपर्ने कुरा के छ भने हामीले सूचना निकाल्छौं । हाम्रो वेबसाइटमा सूचना हुन्छ । वडा कार्यालयमा सबै पठाएका हुन्छौं । वडाले पनि सूचना गर्छ । कुन प्रविधि हस्तान्तरण गर्दैछौं भन्ने कुरा हुन्छ । अटो ई–लोडिङ रिक्सा हामीले दिदै गर्दा हामीले सामान्य ब्यक्ती र किसानलाई दिदैनौं । कुनै एउटा समुह हुनुपर्यो । १५/२० जनाले एउटा रिक्साबाट फाईदा लिओस् भन्ने चाहना हुन्छ । ब्यक्तिलाई हामी पहिलो प्राथमिकता दिदैनौं ।
ठुला ठुला फर्महरु जस्तै दाना उत्पादन गर्ने, कुखुरा पालन, भैसी पालन, बंगुर पालन ठुलो लगानीमा गरेको छ भने त्यसलाई पनि दिन्छौं । किनभने दाना ढुवानी गरेर ल्याउने, बजारीकरणका लागि उत्पादन बोकेर लैजानलाई चाहियो । समुह र फमलाई अटो ई–लोडिङ रिक्सा दिन्छौं । त्यो सूचना हामीले स्पेशल यो प्रक्रिया र मापदण्ड पुगेकोले चाही आवेदन दिनुहोला भनेर हामीले पहिल्यै सूचना खोलेका हुन्छौं । सूचनामै मिनी टिलर, पावर टिलरको हकमा १० कठ्ठा भन्दा माथीको जमिन भएको किसानलाई दिन्छौं भनेर लेखेका हुन्छौं । निवेदनमा १० कठ्ठा भन्दा माथी जमिन भएको किसानले मिनी टिलर र पावर टिलर पाउनु हुन्छ भन्ने मापदण्ड छ । त्यो समुह, सहकारी, ब्यक्तीले पनि पाउने हो ।
अब त्यस्तै चारा मेसिनको हकमा पशु पालक किसानले दर्ता भएको फर्म पनि हो, दर्ता नभएको फर्मले पनि पाउँछ । किनभने ४ वटा पशु छ भने हामी अनुगमन गर्छौ । जस्तै १ सय ५० जनाको निवेदन आयो भने पशुको संख्याको आधारमा प्राथमिकता पाउँछ । अनुगमन हुन्छ, मुल्यांकन समिति हुन्छ । मुल्यांकन गर्दा जसले धेरै नम्बर पाउँछ, उसले पाउने हो । त्यसरी हामीले छनोट गर्ने गरेका छौं र सूचना पनि गर्ने गरेका छौं । अन्य पाइपको हकमा, मल्चिङको हकमा, किसानहरुको कृषी समुहले पाउँछन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ७० प्रतिशत अनुदानमा वितरण गरेका बिद्युतीय चारा मेसिन ।
किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन भएको ४ वर्ष पुरा भईसकेको छ । यस कार्यक्रममार्फत कृषी र पशुमा मुख्य रुपमा कस्ता अनुदानलाई प्राथमिकतामा राख्नु भएको छ ?
विशेषगरी कृषी र पशुको लागि ७० प्रतिशत अनुदानमा मिनी टिलर र पावर टिलर, पम्पसेट, लालटिन पम्पसेट, मोटर, मल्चिङ, टनेल कुनै पूर्ण अनुदानमा पनि छन् । पशुतर्फ ७० प्रतिशत अनुदानमा चारा मेसिन, मिनी मिल, काउ म्याट लगायत थुप्रै सामानहरु छन् । कुनै पूर्ण अनुदानमा पनि छन् । किसानलाई बर्सिम घाँस, पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने कुरा त नियमित प्रक्रिया नै भईहाले । समग्रमा थुप्रै कामहरु गरेका छौं ।
गाउँपालिकाले किसानलाई उत्पादनमा जोड्यो । उत्पादित बस्तुको बजारीकरण गर्न कत्तिको ध्यान दिनु भएको छ ?
हामीले कोहलपुरको कृषी हाट बजारसँग समन्वय गरेर हाम्रो किसानलाई ठाउँ दिनुपर्छ भनेर कतिपय किसानले गरिरहनु भएको छ । बैजनाथ ३ को बैरहवामा कृषी हाट बजार सञ्चालन गरेका छौं । स्थानीय नवयुग कृषी सहकारी संस्थालाई हस्तान्तरण गरेका छौं । कृषी उत्पादनको सहज बिक्रीका लागि हामीले पुर्वाधार बनाईदिएका छौं । त्यहीका जनताले हाट बजारको संरक्षण, सम्बद्र्धन गर्नु भएको छ । हरेक शुक्रबार अग्र्यानिक तरकारी बिक्री गर्न मेला लाग्ने गर्छ ।
पर्यापर्यटनसँग जोडिएको छ । कृषी क्रान्तिमार्फत पर्यटनको हब बनाइएको अवस्था छ । देउडा कला र सँस्कृति पनि देख्न मिल्छ । किसानले उत्पादन गरेका बस्तु पनि बिक्री हुन्छ । किसानको हौसला बढेको छ । उत्पादन भएको बस्तु बजारीकरण भयो भने किसानले मेहनत गर्ने हो । उत्पादन गरेको बस्तु बजारीकरण गर्नुपर्छ भनेर स्थानीय सरकारले कृषी हाट बजारको अवधारणा ल्याएको हो । बैजनाथ गाउँपालिका वडा नम्बर १ मा पनि कृषी हाटबजार तयारी अवस्थामा छ ।
किसानका लागि अझै गर्नुपर्ने केही देख्नु भएको छ ?
किसानको लागि अझै गर्नुपर्ने भनेको सिंचाई नै हो । सिंचाईका लागि खोला, तलाउबाट पानी तान्नका लागि हामीले पम्पसेट, मोटर, लालटिन पम्प, डेलिभरी पाईप पनि दिएका छौं । हामीले अझै चित्त बुझाउने हो भने सिंचाईमा जोड दिनुपर्छ जस्तो मलाई लाग्छ । ठाउँ ठाउँमा संचित पोखरी बनाईदिनुपर्छ । हामीले विगतमा ४ वटा जति पोखरी बनायौं । अहिले त्यो कार्यान्वयनमा छ । अझैपनि संचित पोखरी थप्न पाएपछि किसानलाई राम्रो हुन्थ्यो ।
आकाशबाट पर्ने पानी र अन्यत्रको पानीलाई संकलन गर्न ड्याम बनाएर सिंचाईको ब्यवस्था गर्न सकिन्थ्यो । पम्पसेट र पाईपबाट सिंचाई गर्न सकिने भएको हुनाले संचित पोखरीलाई ध्यान दिनुपर्छ । सिंचाईको कुरामा लिफ्ट सिंचाईका कुरा पनि छन् । हामीले गर्न सक्ने हामीबाट, हामीले गर्न नसक्ने योजना संघ र प्रदेशबाट ल्याउन बैजनाथ स्थानीय सरकारले यहाँका किसानलाई परेको समस्या हामीले नै हेर्ने हो । नीति, कार्यक्रम, योजना र बजेट माग गरेर त्यो कार्यक्रम गर्न सक्यौं भने त्यो बजेट हामीले छुट्याउन सक्यौं भने पक्की पनि किसानसँग पालिका प्रमुख कार्यक्रम र किसानहरुको लागि चाही राम्रो हुने देखेर हामीले त्यसलाई जोड दिन्छौं ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ७० प्रतिशत अनुदानमा वितरण गरेका बिद्युतीय डिजिटल तराजु ।
बैजनाथ गाउँपालिका कृषीको हब पनि हो । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको नहर केही वडामा चलेको अवस्था छ । नहर नपुगेको ठाउँमा सिंचाईको विकल्प के दिनु भएको छ ?
सिक्टा सिंचाई आयोजना पूर्ण रुपमा अझै सञ्चालनमा आएको छैन । अझै पनि नहर बन्ने प्रक्रियामा छन् । नहरले ठाउँ ठाउँमा सानो कुलो बनाउनुपर्छ । नहरको पानी पनि सहज रुपमा किसानको खेतमा जानको लागि पम्पसेट, डेलिभरी पाईप, मन्चिङ प्लाष्टिक र टनेल पाईप दिने हामीले योजना बनाएका छौं र दिएका पनि छौं । किसानले त्यही अनुसार सदुपयोग पनि गर्नु भएको छ ।
नहर सञ्चालनमा आएपछि धेरै किसानका ५० प्रतिशत समस्या समाधान हुन्छन् । बाँकी रहेका क्षेत्रमा भूमिगत जलस्रोत अन्तर्गत डिप बोरिङको ब्यवस्था गरेर किसानलाई कति सेक्टरमा बाँडेर कुन–कुन क्षेत्रमा पानीको अति आवश्यक छ । एउटा बोरिङले सयौं विघा जमिन सिंचित हुने गरी त्यस्तो खालको योजना बनाएर यो क्षेत्रका किसानहरुलाई सिंचाईको माध्यम पुर्याउनुपर्छ भनेर पनि हाममी लाग्नुपर्छ ।
अब अन्त्यमा, बैजनाथ गाउँपालिका क्षेत्रका आम किसानहरुलाई के भन्नुहुन्छ ?
तपाईहरुलाई जति पनि बैजनाथ गाउँपालिका सरकारले दोस्रो कार्यकालका लागि निर्वाचित भएर आईसकेपछि ५ वर्षको लागि अनुमोदन गरेर पठाउनु भएको छ । सोही अनुसार यो सरकारले पनि कृषीको माध्यमबाट पनि आर्थिक क्रान्तिले सम्भव छ भनेर ७० प्रतिशत बैजनाथका जनताहरु कृषी पेशा र पशु पालन पेशामा आश्रित भएको हुनाले पनि त्यसतर्फ यो सरकारले ठुलो बजेट छुट्याएर काम गरिरहेको छ । त्यसलाई सदुपयोग गर्नुहोला । हामीले प्रविधि दिएका छौं, त्यो प्रविधि अनुसार तपाई चल्नु होला । कुनै समस्या आउँछ भने हाम्रो कृषी शाखा र पशु शाखामा समन्वय गर्नुहोला । करारमा कर्मचारी नियुक्त गरेर पनि प्रत्येक वडामा किसानका समस्यालाई बुझ्ने काम गरेका छौं ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ७० प्रतिशत अनुदानमा वितरण गरेका ई–लोडिङ रिक्सा ।