नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले ‘एकिकृत स्थानीय सञ्चार कार्यविधि-२०८३ लाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याएको छ । उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेको पहल, अग्रसरता र समन्वयमा कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को सुरुवातमै उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको नगर प्रमुख प्रशान्त बिष्टले जानकारी दिए । उनका अनुसार कार्यविधि कार्यान्वयन स्वरुप यही भदौं १५ गते सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान गरिएको छ ।
स्थायी ठेगाना नेपालगन्ज उपमहानगरपालिका उल्लेख गरी पालिका क्षेत्रभित्र कार्यालय स्थापना भई हाल सञ्चालनमा रहेका स्थानीय सञ्चार माध्यम (छापा सञ्चार माध्यम, रेडियो, टेलिभिजन, अनलाईन र डिजिटल माध्यम) सूचीकृत हुन १५ दिने सूचना प्रकाशित गरिएको छ । ‘स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारिताको संस्थागत विकास र स्थानीय सरकार तथा सञ्चार क्षेत्रबीचको सहकार्यलाई नयाँ आधार दिने यो महत्वपूर्ण सुरुवात हो,’ नगर प्रमुख बिष्टले भने ।
उपमहानगरपालिकाले पत्रकारहरूको हित, सुरक्षा र कल्याणलाई संस्थागत रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘नेपालगन्ज पत्रकार कल्याणकारी कोष सञ्चालन निर्देशिका-२०८३’ पनि जारी गरेर कार्यान्वयनमा ल्याइसकेको छ । निर्देशिका अन्तर्गत गत असारमै १५ लाख रुपैयाँ कोषमा जम्मा गरी मुद्दती खातामा जम्मा गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले ‘एकिकृत स्थानीय सञ्चार कार्यविधि-२०८३ र ‘नेपालगन्ज पत्रकार कल्याणकारी कोष सञ्चालन निर्देशिका-२०८३’ कार्यान्वयनमा आएसँगै स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारिताको संस्थागत विकास र स्थानीय सरकार तथा सञ्चार क्षेत्रबीच अझ राम्रो सहकार्य हुने विश्वास गरेका छन् । यि कार्यक्रमले पत्रकारहरूको हित, सुरक्षा र कल्याणलाई संस्थागत रूपमा सम्बोधन गर्ने उनको बुझाई छ ।
उपमहानगरपालिकाका सामाजिक, गैर सरकारी संस्था तथा साझेदारी विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले स्थानीय सरकार सञ्चार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीतिगत व्यवस्था, संस्थागत संरचना र कल्याणकारी सोचका साथ अघि बढेको बताए । ‘स्थानीय सरकारले आफ्नो वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत नै सम्बोधन गरेर त्यसको संस्थागत विकासमा प्रतिवद्ध रहेको छ, सोही अनुरुप ‘एकिकृत स्थानीय सञ्चार कार्यविधि-२०८३ र ‘नेपालगन्ज पत्रकार कल्याणकारी कोष सञ्चालन निर्देशिका-२०८३’ लाई कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले उपमहानगरपालिकाको उक्त काम प्रशंसायोग्य भएको बताएका छन् । ‘सञ्चार क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा स्वीकार गर्ने मात्र होइन, नीति, कार्यक्रम र बजेटमार्फत त्यसको संस्थागत विकासमा स्थानीय सरकारको प्रतिबद्धता देखिनु आफैंमा सकारात्मक र प्रशंसायोग्य कदम हो,’ उनले भने, ‘पत्रकारिता केवल समाचार लेख्ने पेशा होइन, लोकतन्त्रको पहरेदारी, नागरिकको आवाज र समाजलाई सही दिशा दिने जिम्मेवारी पनि हो, त्यसैले पत्रकारको पेशागत सुरक्षा र कल्याणमा गरिएको लगानी अन्ततः स्वतन्त्र, जिम्मेवार र सशक्त पत्रकारितामाथिको लगानी हो ।’