स्थानीय सरकार कार्यसञ्चालन ऐन २०७४ ले उपप्रमुखलाई थुप्रै अधिकार दिएको छ । ति अधिकार मध्ये स्थानीय न्यायिक समिति, अनुगमन समिति, राजश्व परामर्श समिति जस्ता महत्वपूर्ण समितिको संयोजकको अधिकार उपप्रमुखलाई छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले आफ्नो अधिकारलाई कसरी उपयोग गरिरहेकी छन् त ? अहिलेसम्मको अनुभुति कस्ता छ ? यि लगायत विविध विषयमा गरिएको संवाद -:
बैजनाथ गाउँपालिकामा उपाध्यक्ष भएर तपाईले ४ वर्ष आफ्नो कार्यकाल पुरा गरिसक्नु भएको छ । अहिलेसम्मको अनुभुति कस्तो रह्यो ?
जनताको सेवा, जनताको काममा लाग्दै गर्दा हामीले निस्वार्थ भावले काम गर्दा पनि जनप्रतिनिधिलाई जनताबाट हेर्ने नजर राम्रो छैन । जनमानसले जनप्रतिनिधि भन्ने वित्तिकै सबै कुरा लुट्न आएको हो भन्ने किसिमको बुझाई छ । यो गलत बुझाईलाई म जनता समक्ष के भन्न चाहन्छु भने जनप्रतिनिधि जनताको एउटा चौकीदार भएर आएको हुन्छ । उसले चाही निश्पक्ष ढंगले आफ्नो कुनै निजी जीवन नदेखेर जनताको लागि खटिएर काम गरेको हुन्छ । त्यो काम गर्ने क्रममा तिता मिठा अनुभवहरु हामीसँग छन् ।
ति अनुभवहरु सक्रियता पुर्वक काम गर्दै गर्दा पनि त्यो सकारात्मक बन्न जान्छ भने कुनैमा जनताले राम्रो नजरले नदेखेको कुराहरुको अनुभव पनि छन् । अर्को कुरा जनताको चाहना र सरकारको काम गर्ने तरिका र शैलीमा केही फरक पाईयो भने जनताको बुझाईमा सबै किसिमको विकास एकै पटक होस् भन्ने चाहेको हुन्छ ।
हामी सरकारमा काम गर्दै गर्दा सिमित स्रोत, साधनका कारणले पनि हामीले सिमित काम, सिमित योजना मात्रै गर्न सकिने भएको कारणले पनि जनताहरुले आफ्ना निजी आकांक्षा बढी चाहना गरेको र सामुहिक रुपमाा समाजप्रतिको ईच्छा भन्दा पनि ब्यक्तिगत चाहनाहरु भईदिएको भए हुन्थ्यो भन्ने बुझाई उहाँहरुमा हुन्छ । चार वर्षसम्म यस्ता धेरै किसिमका अनुभवहरु भोगियो ।
जनप्रतिनिधि भएर काम गर्नुभयो । यसबीचमा कत्तिको कठिनाईहरु आए ?
कठिनाईको कुरामा त एकदमै धेरै कठिनाईहरु आए । सरकारको नेतृत्व, ऐन, कानुन र नीतिमा टेकेर काम गर्नुपर्ने र जनताको चाहना एकातिरको हुने, काम गर्ने क्रममा हामीले सबै किसिमका कठिनाईहरु त छन् । त्यो कठिनाई हुदै गर्दा पनि त्यो कठिनाईलाई समन्वय गर्दै त्यसलाई समाधान गराउँदै हामी अगाडी बढिरहेको अवस्था हो ।
त्यसमा पनि केही कठिनाईहरु त अहिले पनि जनप्रतिनिधि भनेपछि उसको ब्यक्तिगत जीवन पनि नदेखिने जनताको लागि रातदिन नभनेर, बिहान–साँझ जतिबेला पनि राती पनि निस्किनुपर्ने । जनताको काममा हिड्नुपर्ने अवस्था छ । त्यसलाई कठिनाई भन्दा पनि अवसरको रुपमा लिन्छौं । त्यो पनि एक किसिमको अवसर हो । जबसम्म मान्छेले कुनैपनि ठक्कर खादैन, त्यो मान्छेलाई अनुभव पनि हुदैन । त्यो भनेको हाम्रो लागि अवसर र अनुभव भएको छ ।
जनताका आशा र अपेक्षा धेरै थिए, ति आशा र अपेक्षाहरु ४ वर्षसम्म कत्तिको पुरा गर्न सक्नुभयो ?
जनताको आशा र अपेक्षाहरु धेरै छन् । हाम्रो बैजनाथ गाउँपालिकामा त नेपालकै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका मध्येको गाउँपालिका पर्छ । यहाँ विभिन्न किसिमका बसोबासी जनताहरु छन् । विभिन्न जात जाति, भाषा, धर्म, सँस्कृति सबै कुरालाई आ–आफ्नो मान्यता लिएर आफ्नो समाज, आफ्नो किसिमले चलेको छ ।
बस्ती स्तरमा योजना ल्याउँदा, जादाँ पनि हामीले त्यो किसिमले नै बस्ती स्तरको योजनाहरु ल्याईरहेका छौं । सामुहिक रुपका योजनाहरु सकभर हामीले समुदायगत रुपमा समाधान गर्ने र समन्वय गर्ने तरिकाले गयौं । जनआकांक्षा कस्तो देखियो भने सिमित भन्दापनि बढी जनताको चाहना र सिमित काम गर्ने भएको हुँदा पनि हामीलाई त्यो किसिमको जनअपेक्षा बढी भएको लाग्छ । उहाँहरुलाई लाग्छ होला, हामीले ४ वर्षे कार्यकालमा नै उहाँहरुलाई सबै कुरा पुर्यायौं भन्न चाही मिल्दैन ।
केही समस्याहरु हामीले चुनावमा बोलेका एजेण्डाहरु थिए, त्यस्ता किसिमका पुर्वाधार निर्माणका कामहरु, शिक्षा, स्वास्थ्य, कृषीतिरका कामहरु चाही सबैलाई थाहा भएकै कुरा हो । धेरै कामहरु त हामीले गर्दै गयौं । तरपनि, सबै कुरा सम्पन्न भईसक्यो, सबै कुरा पुर्यायौं भन्न चाही सकिदैन । काम गर्न बाँकी नै छन् । जनअपेक्षाको कुरा राख्दा निजी स्वार्थ जस्तो देखेर अपेक्षा राख्नुहुन्छ, त्यो चाही गर्न सकिएको छैन । हामीले सामुहिक रुपमा कुनैपनि समुह, पुर्वाधार, सामाजिक विकास, शिक्षा, स्वास्थ्य जुनसुकै कुरामा पनि सामुहिक रुपमा र संस्थागत रुपमा भएका छन् । धेरै भएका छन् ।
जनप्रतिनिधिको कामप्रति जनताको मुल्यांकन कस्तो छ ?
मुल्यांकन जनताले गर्ने कुरा हो । जनताले भन्नुहुन्छ । हामीले आफ्नो मुल्यांकनलाई आफै राम्रो छ, राम्रो गर्यौं भन्नुभन्दा पनि जनप्रतिनिधि र सरकारको मुल्यांकन चाही जनताले गर्लान् । अहिले अरु ठाउँको तुलनामा बैजनाथमा कृषी क्षेत्रमा किसानमुखी कार्यक्रम धेरै भएको छ । शिक्षामा पनि धेरै परिवर्तन गरेका छौं । शिक्षक दरबन्दी मिलानका कामहरु गरेका छौं ।
आवश्यकता अनुसारका भवनका संरचनाहरु बनाएका छौं । कुनैपनि पालिकामा दरबन्दी मिलान भएको थिएन । हामीले पनि त्यसरी गराईरहेका छौं । स्वास्थ्य तिर पनि थुप्रै सुविधाहरु मध्ये पनि अहिले सरकारले स्कुल नर्सको अवधारणा ल्याउँदै गर्दा हामीले स्कुल स्कुलमा किशोरीहरुमा देखिने समस्या थियो, रक्तअल्पतादेखी लिएर धेरै समस्याका लागि पनि हामीले स्कुलमा राखेर स्वास्थ्यको समस्यालाई अहिले न्यूनिकरण गरेका छौं । स्वास्थ्यमा अन्य कामहरु जस्तै बर्थिङ सेन्टरहरु भएको ठाउँमा हामीले ल्याब सञ्चालन पनि गरेका छौं । ल्याबहरु पनि राखेका छौं । निःशुल्क एम्बुलेन्सको ब्यवस्था पनि छ ।
सुत्केरी, अपांगता भएका ब्यक्ती र जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्सको सुविधा पनि गराएका छौं । बर्थिङ सेन्टरमा प्रयोगशाला परिक्षणको ब्यवस्था पनि गरेका छौं । सुत्केरी महिलालाई भिडियो एक्सरे सुविधा दिएका छौं । त्यसले पनि धेरै गर्भवती महिलालाई राहत भएको छ । परिवर्तनको सुरुवात त थुप्रै गर्दै गएका छौं । अझै केही अधुरा पनि छन् । स्वास्थ्य, शिक्षातिर हामीले ब्यवस्थित रुपले संरचना, भवन निर्माण कार्य पनि गरिरहेका छौं । प्रत्येक वर्ष हामीले एकदमै जीर्ण अवस्थामा रहेका भवनहरुलाई कुनै ठाउँमा पुनःनिर्माण, कुनै ठाउँमा नयाँ बनाउने काम पनि गरेका छौं ।
बिद्यालयमा रंगरोगनका कुराहरु त्यो पनि बिद्यार्थीलाई आर्कषण गर्ने कुरा हो । अहिले हामीले सबै बिद्यालयको एउटै किसिमको रंग गराएका छौं । अर्को कुरा बिद्यालयमा जो शिक्षक लामो समय बिदा बस्दा बिद्यालयमा पढाई छुट्ने अवस्था थियो, त्यसको लागि स्वयं सेवक शिक्षक ब्यवस्थापन गरेर प्रत्येक बिद्यालयहरुमा लामो समय बिदा बस्ने अवस्था भएका बिद्यालयमा बिद्यालयको पढाईलाई असर नपर्ने किसिमले शिक्षकहरु पनि पठाईसकेका छौं । संघिय अनुदान, पालिका अनुदानका शिक्षकहरु पनि आवश्यकता अनुसारका बिद्यालयमा विषयगत रुपमा पठाईरहेका छौं । जुन छोरी पढाउ अभियान अन्तर्गत हामीले बैजनाथ गाउँपालिकामा प्लसटु अध्ययन गर्ने बिद्यार्थी नानीहरुलाई ५० प्रतिशत छात्रबृत्ती उपलब्ध गराएका छौं ।
अल्पसंख्यक, मुस्लिम, पिछडा बर्ग, मंगता, मुक्त कमैया, मुक्त कमलहरीका छोरा छोरीलाई हामीले प्लस टु सम्म निःशुल्क पढ्ने ब्यवस्था गरेका छौं । हामीले सबै कुरा गरिसकेका छौं, अब सबै छैन भन्नु भन्दा पनि परिवर्तन चाही भएको छ, त्यो जनताले मुल्यांकन गर्ने कुरा हो ।
तपाई स्थानीय न्यायिक समिति, राजश्व परामर्श समिति लगायत विभिन्न महत्वपूर्ण समितिहरुको संयोजक हुनुहुन्छ । उपाध्यक्षलाई धेरै अधिकार दिइएको छ । त्यो अधिकारलाई कत्तिको प्रयोगमा ल्याउनु भएको छ ?
कानुनले उपाध्यक्षलाई दिइएको अधिकारलाई टेकेर नै काम गरिरहेका छौं । न्यायिक समितिको क्षेत्रमा पनि आफुलाई दिइएको अधिकार छ, अधिकारमा पनि कस्तो किसिमले काम गर्न मिल्ने, कुन किसिमका मुद्धाहरु मेलमिलाप गराउन मिल्ने, कुन किसिमका मुद्धालाई हामील मेलमिलाप गर्न नमिल्ने छन् । त्यो किसिलमले पनि अहिले काम गरिरहेको छु ।
राजश्व परामर्शमा पनि उपाध्यक्षको नेतृत्वमा राजश्वलाई कसरी बढाउन सकिन्छ, त्यसलाई नियन्त्रण गर्न पनि कसरी सकिन्छ, भन्ने किसिमले धेरै किसिमका छलफलहरु हुँदै गर्दा हामीले त्यो किसिमले जाने गर्दछौं । अनुगमनका कुराहरुमा थुप्रै चुनौतीहरु छन् । फिल्डमा अनुगमन गर्दा धेरै किसिमका अनुभुतिका बाबजुद पनि आफ्नो कार्यक्षेत्रमा टेकेर काम गरिरहेका छौं । चुनौती भन्दा पनि हामीले ब्यक्तिगत भन्दा विधिलाई टेकेर काम गर्ने हो ।
कानुन विपरित गएर काम गरेका छैनौं । आफुले पाएको अधिकार र कानुनलाई टेकेर काम गरेका छौं । आफुले पाएको अधिकारलाई टेकेर काम गर्न पाउँदा आफुलाई अवसरको रुपमा लिएको छु ।
उपाध्यक्ष अनुगमन समितिको संयोजक हुने ब्यवस्था पनि छ । काम गर्ने क्रममा दवाव कत्तिको आउँछ ?
हामी योजनाको नियमित अनुगमनमा जान्छौं । स्थानीय सरकार कार्य सञ्चालन ऐन–२०७४ ले नै उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति बनाउने भनेको छ । अनुगमन गर्ने क्रममा अथवा कुनैपनि काम गर्दा खासै दबाव आएको छैन । मलाई अहिलेसम्म कसैले पनि दवाव दिएको अनुभुति छैन । सल्लाह, सुझावको रुपमा आउन सक्छ ।
दवाव भन्दा पनि कहिले काही सल्लाह, सुझाव अनुसार आउन सक्छ । त्यसलाई मैले सकारात्मक रुपमा लिएर आफुलाई दिएको सल्लाहको रुपमा लिने गर्दछु । त्यस्तो काम गर्ने क्रममा दवाव खासै आएको छैन । मेरो कार्यकालमा दवावपूर्ण, धम्कीपूर्ण भाषाहरु मैले महसुस गरेको छैन ।
अन्त्यमा, समग्र गाउँपालिकाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
म बैजनाथ गाउँपालिकाका सम्पूर्ण बासिन्दाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरुको साथ, सहयोगका कारण चार वर्षसम्म आईपुग्दा राम्रोसँग बिताएका छौं । जनतासँग भएका कुरालाई हामी कठिनाईको रुपमा बुझ्दैनौं । कहिले काही काम गर्ने क्रममा आएका समस्यालाई अवसरको रुपमा लिने गरेका छौं । अझैपनि धेरै काम गर्न बाँकी छ ।
तपाईहरुको साथ र सहयोगलाई सकारात्मक ढंगले लिएका छौं । जनतासँग सदैब दृढ विश्वासका साथ काम गर्नेछौं । काम गरिरहेका छौं । हाम्रो कार्यकाल सकिएर जनप्रतिनिधि बिहिन भएर बस्दै गर्दा पनि हामी जनताको साथमा रही हातेमालो गर्दै सुख, दुःखमा लागेर काम गर्नेछौं । विशेषत म सम्पूर्ण बैजनाथ गाउँपालिकाबासी दाजुभाई, दिदी बहिनी, आमा बुवालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।