कोहलपुर : मतदान प्रक्रिया अचानक रोकेर नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ मा हतारमा गरिएको सहमतिलाई कार्यान्वयन गर्न अहिले निकै जटिलता देखिएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि वर्तमान क्षेत्रीय सभापति पोषणराज केसी र महासमिति सदस्य पूर्णप्रसाद आचार्य मैदानमा उत्रिएका थिए ।
यही असोज १३ गतेका दिन निर्वाचन अधिकृतले बिहान ८ बजेदेखी कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा मतदान गराउने गरी मतपत्र र बुथहरु तयार गरेका बेला सभापति पदका प्रत्यासी केसी र आचार्यबीच अचानक सहमति भएको कुरा बाहिर आएको थियो । लगत्तै केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना प्रत्यासी आचार्यलाई समर्थन गरेको कुरा सार्वजनिक गरे र त्यसको केहीबेरमा आचार्यले पनि आफुलाई सर्वसम्मत सभापति बनाउन सहयोग गरेको भन्दै केसीको उच्च प्रशंसासहित धन्यवाद दिए । दुई नेताबीचको सहमतिलाई लिएर फरक फरक प्रतिक्रिया आए ।
कतिपय कांग्रेसीले यसलाई पार्टी बलियो बनाउने महत्वपूर्ण आधारका रुपमा ब्याखा गरे, भने कतिले अन्तिम समयमा गरिएको सहमतिप्रति आक्रोश पोखे । मतदान गर्नका लागि टाढा-टाढाबाट कोहलपुर आईपुगेका क्षेत्रीय प्रतिनिधिहरु र निर्वाचन लड्नका लागि तीन/चार दिनदेखी होटलमा पैसा खर्च गरी बसेका उम्मेदवारहरु अन्तत : निराश भएर घर फर्किए ।
केसी र आचार्य बीच अन्तिम समयमा आएर सहमति गराउनमा कांग्रेस केन्द्रिय सदस्य सुवास पोखरेलले समन्वयकारी भूमिका खेलेका थिए । पोखरेलको उपस्थितीमा केसी र आचार्यबीच के-के विषयमा सहमती भयो ? भन्नेबारे अहिलेसम्म लिखित कुरा बाहिर आएको छैन । तथापी, केसी निकट एक नेताका अनुसार सहमतिका क्रममा आचार्यलाई क्षेत्रीय सभापतिमा समर्थन गरेपछि केसीले क्षेत्रीय सचिव, प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा १ ‘ख’ का सभापतिसहित मुख्य पदाधिकारी, क्षेत्रीय कार्यसमितिमा बहुमत सदस्यहरु तथा ६० प्रतिशत केन्द्रिय महाधिवेशन र लुम्बिनी प्रदेश प्रतिनिधि पाउने कुरा भएको थियो । तर, अहिले अहिले उक्त सहमति मान्न आचार्य पक्ष तयार नभएको केसी पक्षको जिकिर छ ।
सहमति भएको तीन दिन बितिसक्दा पनि सभापति बाहेक अहिलेसम्म अरु कुनैपनि पदमा टुंगो लागेको छैन । महाधिवेशन प्रतिनिधि कै टुंगो नलागेपछि काठमाडौंमा यही असोज १८ गतेबाट सुरु हुन लागेको पार्टीको १५ औं केन्द्रिय महाधिवेशनमा बाँके क्षेत्र नम्बर १ को प्रतिनिधित्व हुने/नहुने बारे अन्यौलता छाएको छ । मौखिक सहमति कार्यान्वयन नै नगर्ने हो भने क्षेत्रीय सभापतिसहित सबै पदमा चुनाव गराउनुपर्ने केसी पक्षको अडान छ ।
‘सभापतिमा सहमति गर्दा पहिला जे कुरामा प्रतिबद्धता गरिएको थियो, त्यो कार्यान्वयन नगर्ने हो भने बरु मतदान प्रक्रियामै जाने र हारजित स्वीकार गर्ने भन्ने निचोडमा हामी पुगेका छौं,’ केसी पक्षीय एक नेताले भने, ‘हामी अधिकतम दुई कदम पछाडी हटेर लचक हुँदा–हुदैपनि अहिले आएर पेलेरै भित्तामा पुर्याउन खोजियो ।’
ति नेताका अनुसार आचार्य पक्ष अहिले केसी पक्षलाई क्षेत्रीय सचिव, प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा १ ‘ख’ को सभापतिसहित मुख्य पदाधिकारी, क्षेत्रीय कार्यसमितिमा बहुमत सदस्यहरु तथा ६० प्रतिशत केन्द्रिय महाधिवेशन र लुम्बिनी प्रदेश प्रतिनिधि दिन मानेको छैन, भने महाधिवेशन प्रतिनिधि पनि ३० प्रतिशत भन्दा बढी दिन नसकिने अडानमा रहेको बताइन्छ ।
यता आचार्य पक्षका एक प्रभावशाली नेताले केसीसँग सभापति बाहेक अरु पदका लागि कुनै त्यस्तो मौखिक सहमति नभएको दाबी गरेका छन् । ‘पोषण केसीले सभापति छाड्दा उहाँलाई कहाँ सेट गर्ने भन्ने विषयमा केही कुराहरु भएको हो, अरु भागबन्डाका विषयमा कुनै त्यस्तो प्रतिवद्धता गरिएको होईन, सभापतिमा कुरा मिलेपछि अरुमा मिलिहाल्छ, मिलाएरै गरौला भन्ने कुरा मात्र भएको हो, अहिले मिलाएर जाउँ भन्दा सबै पदहरु आफैले लिन खोज्नु पनि त भएन नि,’ आचार्य निकट एक नेताले भने, ‘आफ्ना कार्यकर्ताको स्थान पनि त सुरक्षित गर्नुपर्यो नि ।’
बाँकेको क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिको टुंगो केन्द्रिय महाधिवेशन उद्घाटन हुनुअघिसम्म नलाग्ने हो, भने कानुनी रुपले अब कोहलपुर, राप्ती सोनारी र नरैनापुर गाउँपालिकास्थित पालिका सभापति मात्र पदेन महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन पाउनेछन् ।
नेपाली कांग्रेसको संशोधित विधान अनुसार पहिलो पटक पालिका सभापतिहरु पनि पदेन महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन पाउँदैछन् । यस्तै प्रदेश सभाका सभापतिलाई पनि यसपटक पदेन महाधिवेशन प्रतिनिधिको मान्यता दिएको छ ।
सम्बन्धित समाचार :
कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा आचार्य निर्विरोध निर्वाचित