नेपालगन्ज : नेपाली कांग्रेसको संस्थापन इतर (शेर बहादुर देउवा) पक्ष बाँकेमा जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नियमित १५ औं महाधिवेशन अन्तर्गत यही कात्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्न लागेको हो । नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर उक्त पक्षले औपचारिक रुपमा जानकारी गराएको हो ।
संस्थापन इतर पक्षका अधिवेशन तयारी समितिका जिल्ला संयोजक कृष्णबहादुर कार्कीले आपसी सहमतीमा नेतृत्व चयन गरिने बताए । ‘जिल्लाको नेतृत्व सम्हाल्न पाए हुन्थ्यो भन्ने हुटहुटी मलाई त्यस्तो छैन, अरु साथीहरुलाई पनि छैन,’ उनले भने, ‘आवश्यकता अनुसार जिम्मेवारीलाई सम्हाल्नुपर्ने स्थितीमा जो पनि तयार हुनुहुन्छ ।’

वडा तहदेखी क्षेत्रीय तहको अधिवेशनसम्म आईपुग्दा निर्विरोध रुपमा सभापतिसहित पदाधिकारी, कार्यसमिति र केन्द्रिय महाधिवेशन तथा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित गरिएको उनले बताए । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएर केन्द्रिय महामन्त्रीको जिम्मेवारीमा पुगेका गगनकुमार थापा र विश्वप्रकाश शर्माकै कारण पार्टी यो स्थितीमा अहिले पुगेको संयोजक कार्कीले आरोप लगाए । गगन नेतृत्वको कांग्रेसमा पनि आफ्नो विचार समुहका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधित्व गरिरहेको उनले बताए । सर्वोच्च अदालतले 'निस्सा' दिनुको अर्थ न्यायिक फैसला पनि शेरबहादुर देउवाकै पक्षमा आउने कार्कीको विश्वास छ ।
पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका पुर्वसभापति एवम् पुर्वमन्त्री गजेन्द्रबहादुर हमाल, कांग्रेस नेताहरु निरन्जनसिंह सिजापति, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रामबहादुर मल्ल, मोहम्मद याकुव अन्सारी, कृष्ण बिके रसाईली, क्षेत्र नम्बर २ का सभापति राजकुमार पोखरेल (राजु हमाल), क्षेत्र नम्बर १ का सभापति यज्ञबहादुर महरा, नेपालगन्ज नगर सभापति नकुल खत्री लगायत नेताहरुको उपस्थिती रहेको थियो । कांग्रेस बाँकेको इतर पक्षले आइतबार नियमित १५ औं महाधिवेशन अन्तर्गत विभिन्न तहमा निर्वाचित भएका पदाधिकारीलाई प्रमाणपत्र वितरण पनि गरेको छ ।