कोहलपुर : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत रहेका नेपाली कांग्रेसका ३ जना पालिका सभापतिले मात्र आसन्न १५ औं महाधिवेशनमा भाग लिन पाउने अहिलेसम्म निश्चित भएको छ । यही असोज १८ गतेबाट काठमाडौंमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन हुदैछ ।
बाँके क्षेत्र नम्बर १ बाट अहिलेसम्म महाधिवेशन प्रतिनिधि कै टुंगो नलागेपछि काठमाडौंमा यही असोज १८ गतेबाट सुरु हुन लागेको पार्टीको १५ औं केन्द्रिय महाधिवेशनमा बाँके क्षेत्र नम्बर १ को प्रतिनिधित्व हुने/नहुने बारे अन्यौलता छाएको छ । क्षेत्र नम्बर १ अन्र्तगत अहिलेसम्म टुंगो लागिसकेका कांग्रेस कोहलपुर नगर सभापति बीरेन्द्रकुमार शाह, राप्ती सोनारी गाउँपालिका अध्यक्ष भिमबहादुर रानाक्षेत्री र नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँ मात्र महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुने शुक्रबारसम्म निश्चित भएको हो ।
नेपाली कांग्रेसको विधानमा यसअघि केन्द्रिय महाधिवेशनमा क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधिहरु मात्रै सहभागी हुन पाउने ब्यवस्था रहेको थियो । पछिल्लो संशोधित विधानमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिसहित प्रदेश सभा सभापति र पालिका सभापतिलाई पनि पदेन महाधिवेशन प्रतिनिधिका रुपमा सहभागिताको सुनिश्चित गरेको हो ।
पहिलो पटक महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुदै गर्दा सम्बन्धित क्षेत्रका पालिका सभापतिहरु उत्साहित देखिएका छन् । नेपाली कांग्रेसका राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्रीले पार्टीको विधान अनुसार पहिलो पटक महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन जान लागेको बताए ।
काठमाडौंको खुल्ला मञ्चमा हुने महाधिवेशन उद्घाटनपछिको बन्द शत्रले सभापतिसहित पदाधिकारी तथा केन्द्रिय सदस्यहरु निर्वाचित गर्नेछ । कुल ३ वटा प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा तथा ८ वटा स्थानीय तह रहेको बाँके जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु सँगै पदेन महाधिवेशन प्रतिनिधिका रुपमा क्षेत्रीय सभापति, प्रदेश सभा सभापति र गाउँ/नगर सभापति सहभागी हुन पाउनेछन् ।
बाँकेमा अहिलेसम्म प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापतिसहित महाधिवेशन प्रतिनिधिहरु, प्रदेश सभा–२ ‘क’ र ‘ख’ का सभापति, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका सभापति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सभापतिसहित महाधिवेशन प्रतिनिधिहरु, प्रदेश सभा–३ ‘क’ तथा ‘ख’ का सभापति र जानकी, खजुरा तथा बैजनाथ गाउँपालिका सभापति(पदेन) महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुने पनि अहिलेसम्म निश्चित भएको छ ।
कांग्रेसको क्षेत्र नम्बर २ र ३ मा पार्टीको महाधिवेशनमा सहभागी हुनेबारे नेता तथा कार्यकर्तामा उत्साह जागेका बेला बाँकेकै क्षेत्र नम्बर १ मा भने अन्यौलता सिर्जना भएको पाइएको छ । ‘काठमाडौंमा पार्टीको महाधिवेशनको रमझम सुरु भईसकेको छ, अरु जिल्लाका साथीहरु जान थालिसकेका छन्, हाम्रै जिल्लाका अरु क्षेत्रका महाधिवेशन प्रतिनिधिहरु पनि काठमाडौं जान थालिसके, हाम्रो क्षेत्रमा त सहमतिका नाममा दुई नेताले उधारो सम्झौता गर्दा अन्यौलता छाइरहेको छ, अहिलेसम्म हामीहरु महाधिवेशन प्रतिनिधि बन्ने छाँटकाट नै देखिन्न,’ क्षेत्र नम्बर १ का एक जना महाधिवेशन प्रतिनिधिका प्रत्यासीले भने ।
मतदान प्रक्रिया अचानक रोकेर नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ मा हतारमा गरिएको सहमतिलाई कार्यान्वयन गर्न अहिले निकै जटिलता देखिएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि वर्तमान क्षेत्रीय सभापति पोषणराज केसी र महासमिति सदस्य पूर्णप्रसाद आचार्य मैदानमा उत्रिएका थिए । उनीहरु दुबै जनाबीच सहमति गराउन कांग्रेस केन्द्रिय सदस्य सुवास पोखरेलले समन्वयकारी भूमिका निभाएका थिए ।
पोखरेलको उपस्थितीमा केसी र आचार्यबीच के–के विषयमा सहमती भयो ? भन्नेबारे अहिलेसम्म लिखित कुरा बाहिर आएको छैन । सहमति भएको तीन दिन बितिसक्दा पनि सभापति बाहेक अरु कुनै पदको टुंगो लागेको छैन । यही असोज १८ गते उद्घाटन हुन लागेको १५ औं महाधिवेशन अगाडीसम्म सहमति नभएमा बाँके क्षेत्र नम्बर १ को प्रतिनिधि सभा र प्रदेश सभाको पार्टीको महाधिवेशनमा सहभागिता नहुने देखिएको छ ।