नेपालगन्ज : नेपाली कांग्रेसका नेता मेघराज ओलीले क्यान्सर रोगलाई जितेका छन् । करिव एक वर्षअघि उनको पेटमा क्यान्सर पत्ता लागेको थियो । भारतको दिल्लीस्थित राजिवगान्धी अस्पतालमा चौथो पटकको फ्लोअप रिपोर्टमा डाक्टरले क्यान्सर पूर्ण रुपले निको भएको पुष्टी गरेका हुन् । रिपोर्ट आएसँगै ओलीको स्वास्थ्य पुरानै लयमा फर्केको छ ।
कांग्रेस नेता ओली पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्ष, शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बाँकेको अध्यक्ष हुदै लामो समयदेखी पार्टी राजनीतिमा सक्रिय हुदै आएका छन् । कांग्रेसको १०औं महाधिवेशनदेखी १५औं महाधिवेशनसम्म आईपुग्दा निरन्तर रुपले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य र पार्टीको जिल्ला कार्यसमिति सदस्य एवम् प्रवक्ताको समेत जिम्मेवारी निभाईसकेका छन् ।
उनी हालै भएको १५ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ‘लोकतान्त्रिक आन्दोलनको मियो दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको बाँके जिल्ला अध्यक्षबाट सुरु भएको राजनीतिक यात्रा र कांग्रेसको १०औं महाधिवेशनबाट निरन्तर १५ औं महाधिवेशन सम्म आईपुग्दा महाधिवेशन प्रतिनिधि अनि महासमिति सदस्य हुँदै जिल्ला तहका विभिन्न जिम्मेवारीमा होमिएको पनि साढे तीन दसक काटेछ,’ उनी भन्छन्, ‘राजनीतिक यात्राकै क्रममा २०८२ सालमा स्वास्थ्यमा गम्भिर समस्या आयो र आधुनिक मेडिकल विज्ञानकै कारण दिल्लीस्थित राजिवगान्धी हस्पिटलका डाक्टरका अनुसार चौथो पटकको फ्लोअप पछिको रिपोर्टबाट हाल पुर्णरुपमा स्वस्थ छु, यो जटिल स्वास्थ्यको घडीमा मलाई साथ दिनुहुने आफन्तजन र आम प्रिय मनहरु प्रति आभारी छु ।’
ओली बौद्धिक एवम् स्पष्ट दृष्टिकोण राख्ने नेताका रुपमा परिचित छन् । आफु लोकतान्त्रिक पद्धति र त्यसको चरित्रलाई अन्तर हृदयबाट आत्मासात गर्ने कांग्रेस विचारक भुइँ मान्छे भएको बताउँदै भुइँ तहबाट धुलो माटोसँग खेल्दै भुइँ तहकै प्रिय मनहरुको मनलाई निस्वार्थ भावले जति सके जित्दै आएको नेता ओलीले बताएका छन् ।
‘कांग्रेसको विचार, सिद्धान्त र निष्ठालाई कुनै स्वार्थको जालझेलमा साट्ने दुष्साहस कहिले पनि गरिन र जीवन्त गर्दिन पनि, लोभ–लालचा र स्वार्थमा केन्द्रित भएर राजनीति गर्ने चरित्रको सधै खबरदारी गर्ने कित्तामा हुनुको परिणाम म जस्ता लाखौं कांग्रेसजनले भोग्दै आएका छन्, बिग्रेको राजनीतिलाई सुधार्न पद/प्रतिष्ठान भन्दा विचार सिद्धान्तनिष्ठ र निष्ठावान राजनीतिक यात्रालाई शिरमा राख्न जरुरी छ,’ नेता ओली भन्छन्, ‘आफू अनुकुल भन्दापनि विचार अनुकुल बाँके कांग्रेस आजको आवश्यक्ता हो, मेरो आधा जीवन बैचारिक र मर्यादित नेतृत्व सहितको कांग्रेस बनाउनुपर्छ भन्ने खबरदारीयुक्त बहस मै बित्यो र अबको बाँकी जीवन पनि युग अनुसारको जिम्मेवार कांग्रेस, मर्यादित कांग्रेस, नैतिकवान कांग्रेस, बैचारिक कांग्रेस, सिद्धान्तनिष्ठ कांग्रेस, निष्ठावान कांग्रेस, उर्जासहितको बौद्धिक बहसमा सर्बत्र उत्रन सक्ने कांग्रेस र समय सापेक्ष युग सुहाउँदो बद्लिएको नवीन कांग्रेस बनाउने बहसमा बित्नेछ ।’
प्रतिकुल स्वास्थ्यका कारण गएको वर्ष जीवन संघर्षमा बितेपनि अहिले भगवानरुपी डाक्टरका अनुसार स्वास्थ्य अवस्था पुरानै लयमा आइरहेको नेता ओलीले बताए । अबको जीवन अझ सक्रिय रुपमा नवीन कांग्रेसकै लागि निस्वार्थ भएर खर्चिने हुटहुटी रहेको उल्लेख गरेका छन् । ‘केन्द्रिय अधिवेशन सकियो, प्रदेश र जिल्ला निकट भविष्यमा हुँदैछ, बर्षौदेखि धेरै अग्रज अनि सहपाठी नेतृत्वलाई राजनीतिक रुपमा सहयोग गरियो, मेरो क्षमता र लामो अनुभव अनुसार उपयुक्त स्थानको खोजीमा अब लाग्नैपर्ने अनुभुति गर्दैछु, सहयोगको अपेक्षा पनि राख्दछु, यतिबेला प्रिय बाँके कांग्रेसजन अग्रज नेतृत्व, सहयात्री नेता साथीहरु र उदयमान भाईबहिनीहरुबाट उपयुक्त सुझावको अपेक्षा राख्दछु,’ नेता ओलीको अपील छ ।