कमलराज उपाध्याय
प्रमुख प्रशासकीय अधिकृत, बैजनाथ गाउँपालिका बाँके ।
बैजनाथ गाउँपालिकाको आन्तरिक कर्मचारी प्रशासन कसरी चलिरहेको छ ?
हाम्रो गाउँपालिकाको आन्तरिक प्रशासन स्थानीय सरकार सञ्चालन ऐन–२०७४, प्रदेश निजामति सेवा ऐन/नियम, स्थानीय सेवा नियमावली र संघिय निजामति सेवा ऐन तथा नियमावली अनुसार विधिसम्मत ढंगले चलिरहेको छ ।
कर्मचारीहरु कसरी परिचालन गर्नु भएको छ ?
काम गर्ने क्रममा यस गाउँपालिकामा विगत गाविस हुँदा देखी कै कर्मचारी भएको हुनाले समन्वय र सहजीकरणमा सहजता पनि भएको छ, भने बद्लिदो परिस्थिती अनुसार कतिपय नयाँ कर्मचारीहरु, करार सेवामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिनुपर्ने आवश्यकता पनि देखिएको छ ।
अहिले स्थायी र अस्थायी कर्मचारीको अवस्था के छ ?
अस्थायी कर्मचारीको कुरा गर्नुपर्दाखेरी पुर्वाधार शाखातर्फ केही वडाहरुमा करार सेवामा कार्यरत हुनुहुन्छ । संघिय करार सेवा अन्तर्गत पनि कार्यरत हुनुहुन्छ । कार्यालय सहयोगी र विगत जिल्ला विकास समिति हुदै देखी सम्झौता भएका सामाजिक परिचालक पनि कार्यरत हुनुहुन्छ । गाउँपालिकाको करार र स्थायी समग्र भन्दापनि करिव १ सय ६५ जना जति कर्मचारी गाउँपालिकामा कार्यरत हुनुहुन्छ ।
कर्मचारीहरुमा सुशासन कायम गर्न, जवाफदेही बनाउन के गर्नु भएको छ ?
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने नीति लिएको छ । त्यही नीति अनुसार बजेट विनियोजन हुदै गर्ला र यसभन्दा अगाडी प्राविधिक कर्मचारीका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिमसँगै सञ्चालनका लागि बजेट विनियोजन भएको छ । कर्मचारीको क्षमता अभिबृद्धिमार्फत नै उहाँहरुलाई सेवा सेवाग्राहीप्रति जवाफदेही, सुशासनमुखी बनाउँदै लैजाने गाउँपालिकाको योजना छ ।
स्थानीय सरकार सञ्चालनका लागि कर्मचारी र जनप्रतिनिधिबीच कस्तो सम्बन्ध छ ?
यस गाउँपालिकामा स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समय–समयमा समन्वय हुदै आएको छ । कतिपय जटिलता उत्पन्न भएको अवस्थामा ति समस्याहरुको निरुपन पनि समन्वयमा नै हुँदै आएको छ ।
गाउँपालिकामा सुशासन कायम गर्नका लागि के–के काम गरिएको छ ?
हामीले भिलेज प्रोफाईल निर्माण गरेका छौं । ई–पालिका भन्ने सफ्टवेयर सञ्चालनमा ल्याएका छौं । यस्तै सूचना प्रविधि विकासद्धारा तयार एकिकृत हाजिरी प्रणाली पनि सञ्चालनमा ल्याएका छौं । यसले गर्दाखेरी कर्मचारीहरु कतिखेर उपस्थित हुनुभयो । कतिखेर जानुभयो । कुन कर्मचारी बिदामा हुनुहुन्छ । कुन कर्मचारी काजमा हुनुहुन्छ । कुन कर्मचारी फिल्डमा हुनुहुन्छ । कुन कर्मचारी तालिममा हुनुहुन्छ भनेर स्पष्ट रिपोर्ट देखिन्छ र कर्मचारीको सम्पूर्ण विदाको अभिलेखदेखी लिएर कर्मचारी प्रशासन सम्बन्धी सञ्चालन गर्ने सम्पूर्ण अभिलेखीकरणलाई ब्यवस्थित गर्न मद्धत पुर्याएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको एकिकृत सेवा केन्द्र कत्तिको प्रभावकारी भएको छ ?
हामीले प्रभावकारी बनाउन कोसिस गर्दा गर्दै पनि कतिपय सेवाग्राहीको र कतिपय तालिमको अभावले गर्दाखेरी अपेक्षाकृत रुपले प्रभावकारी हुन सकेको छैन । आगामी आर्थिक वर्षमा यसलाई प्रयोगमा ल्याउनेछौं । हामीले एकिकृत सेवा केन्द्रबाट फाईलहरु ट्रयाकिङ गर्ने, सम्पूर्ण कुराहरुलाई अनलाईन केन्द्रित बनाउने र सूचना प्रविधिद्धारा विकास गरिएको जिओआईएमएस प्रणालीलाई पनि अवलम्बन गर्ने भनेका छौं । यि दुबै प्रणाली र एकिकृत सेवा केन्द्र अझ फस्टाउने भन्ने हामीले अपेक्षा गरेका छौं ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको अवस्था कस्तो रह्यो ?
आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनका सम्बन्धमा २०८२ भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनले केही प्रभावित गर्यो । त्यसका साथै २०८२ फागुन २१ गते भएको निर्वाचनको आचार संहिताको कारणले गर्दा समेत केही विकास निर्माणका कामहरु, केही गाउँपालिकाले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु, अपेक्षाकृत समयमा सम्पन्न हुन नसकेतापनि पछिल्लो समयमा भू–राजनीतिको कारणले, खाडी मुलुकमा भएको युद्धको कारणले गर्दाखेरी निर्माण सामाग्री, तेल र निर्माण सामाग्रीको मुल्य आकासिएकाले अपेक्षाकृत रुपले निर्माण ब्यवसायीले समेत समयमा कार्य सम्पन्न गर्न सक्नु भएको छैन । यद्यपी, फ्रिज भएर जाने योजनाहरुको हकमा भने उहाँहरुले काम सिध्याउनु भएको छ ।
अब, अन्त्यमा बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउनको लागि कस्को के भूमिका हुन्छ ?
बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउनको लागि संविधानको मुल मर्म अनुसार सह–अस्तित्व, सहकार्य र समन्वयमा आधारित कार्यक्रम हामीले सञ्चालन गर्ने हो । विषयगत शाखाहरु बीच, विषयगत शाखा र जनप्रतिनिधिबीच, जनप्रतिनिधि र जनप्रतिनिधिबीच, जनप्रतिनिधि र कर्मचारीहरुबीच एक आपसमा सन्तुलन कायम गर्न सकियो भने पछि हाम्रो अपेक्षा पुरा हुन सक्छ ।