नेपालगन्ज : नेपाली कांग्रेसका नेता पोषणराज केसी पार्टीको जिल्ला सभापति पदमा चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति समेत रहेका नेता केसीले १५ औं महाधिवेशन अन्तर्गत जिल्लामा हुन लागेको आसन्न निर्वाचनमा आफु सभापतिको आकांक्षी रहेको धारणा सार्वजनिक गरेका हुन् ।
नेपालगन्जमा आफु निकट नेता तथा कार्यकर्ता र शुभेच्छुकसँगको भेटमा उनले क्षेत्रीय सभापतिको कार्यकाल सफलता पूर्वक पूरा गरिसकेको अवस्थामा स्वभाविक रुपले जिल्ला सभापतिको उम्मेदवार रहने स्पष्ट पारे । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत असोज ३ गतेबाट वडा अधिवेशन, पालिका, प्रदेश सभा, क्षेत्रीय र केन्द्रिय तहको अधिवेशन सम्पन्न भईसकेको छ ।
पार्टीले अब जिल्ला र लुम्बिनी प्रदेश तहको अधिवेशनको मिति चाडैं घोषणा गर्ने बुझिएको छ । आगामी मंसिर दोस्रो सातासम्म जिल्ला र त्यसपछि प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने पार्टीको तयारी भईरहेका बेला बाँके कांग्रेसको नेतृत्व गर्न सम्भावित सभापतिसहित विभिन्न पदका आकांक्षीहरु देखिन थालेका छन् ।
निर्वतमान क्षेत्रीय सभापति केसीले आफ्नो बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा राम्रो माहोल रहेको र अहिलेसम्म देखा परेका आकांक्षीहरु मध्ये आफ्नो सम्भावना बलियो रहेको बताए । ‘अहिले प्रारम्भिक चरणमा पार्टीका नेता तथा कार्यकर्ता, साथीभाईहरुसँग सल्लाह र परामर्श गरिरहेको छु, पार्टीले जिल्ला अधिवेशनको मिति घोषणा गरेपछि औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नेछु,’ उनले भने ।
क्षेत्र नम्बर १ को सभापतिमा दोहोरिनुभन्दा अगाडी नै बढ्नुपर्ने पार्टीका केन्द्रिय सभापति गगन थापाले दिएको सुझाव अनुसार आफुले अन्तिम समयमा सहमती जनाएको नेता केसीले सुनाए ।