नेपालगन्ज : कुनै पेशा वा जिम्मेवारी यस्ता हुन्छन्, जसले आफनो कामलाई जीवन्त बनाईरहेका हुन्छन् । यस्तै मध्येको एउटा महत्वपूर्ण हो, ‘डाक्टरी पेशा’ । यिनै डाक्टरले मृत्युसँग लडिरहेका बिरामी वा घाईतेको ज्यान बचाएर पुर्नजन्म दिन्छन् । त्यसैले त, कतिपयले डाक्टरलाई ‘भगवान’ का रुपमा पनि चित्रण गर्छन् । यस्तै मध्येका एक पात्र हुन्, डा. निर्माणबहादुर शाह ।
डाक्टर बनाउने बुवाको सपना पहिल्यै थियो । बुवाको त्यही सपनालाई शाहले अन्ततः साकार पारे । २०५७ सालदेखी भेरी अस्पतालमा सेवा प्रवेश गरेका उनी अहिले डेन्टल विभागमा प्रमुख छन् । ‘अस्पतालबाट नियमित रुपमा बिरामीको सेवा गरिरहेको छु, बिरामीको सेवा गर्न पाउँदा सन्तुष्ट नै छु,’ उनी भन्छन् । भेरी अस्पतालका पुराना डाक्टरको सूचीमा पर्ने शाहको अन्तर कथा रोचकपूर्ण छ ।
२०२९ सालमा बाँकेको ढकेरीमा जन्मिएका शाहको प्रारम्भिक शिक्षा(कक्षा ५ सम्म) भने नेपालगन्जस्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा भयो । त्यसपछि भारतको लखनउमा रहेको सेन्ट ट्रान्सिस स्कुलमा कक्षा १२ सम्म अध्ययन गरे । प्लसटुको अध्ययन पुरा गरिसकेपछि भने उनको डाक्टर पढ्ने बाटो खुल्यो । भारतको बैंङ्लोरमा रहेको किम्स कलेजमा सन् १९८९ मा डाक्टरको पढाई पुरा गरे ।
सन् २००० सालमा नेपालगन्ज मेडिकल कलेजमा तीन महिनाका लागि सेवा प्रवेश गरेर त्यहाँबाट लायन्स डेन्टल अस्पताल स्थापना गराउन लायन्सकर्मीहरुसँगै अहोरात्र खटिए । नेपालगन्जको खजुरा रोडमा लायन्स डेन्टल अस्पताल स्थापना गरिसकेपछि डा. शाह भेरीमा अस्पताल विकास समितिका तर्फबाट डेन्टल विभागमा नियुक्त भए । अस्पताल विकास समितिले २०६६ सालमा उनलाई स्थायी गर्यो । डेन्टल विभाग प्रमुखका रुपमा रहेका उनीसँगै काम गर्ने कन्सल्टेन्ट डेन्टल सर्जन र डेन्टल सर्जन २/२ जना छन् ।
उक्त विभागले ओपिडी सहितका सेवाहरु नियमित रुपमा दिइरहेको छ । आफु डेन्टल विभागमा आउनुभन्दा अगाडीको अवस्था र विभागमा आईसकेपछिको अवस्था धेरै नै फरक भएको डा. शाह सम्झिन्छन् । ‘म आउने बेलासम्म भेरी अस्पतालमा एक थान डेन्टल एक्सरे, एक थान डेन्टल चियर र दात निकाल्ने केही सामाग्री मात्रै ओपिडीमा उपलब्ध थियो,’ विगतलाई सम्झिदै उनले भने, ‘त्यतिबेला ओपिडी नियमित रुपमा चल्दैनथ्यो, विदेशी डाक्टर आएर कहिले काही मात्र ओपिडी चलाउँथ्ये ।’ शाहले विभागको जिम्मेवारी सम्हालेपछि ओपिडी सेवालाई नियमित गरे ।
‘ओपिडी नियमित रुपमा चल्न थालेपछि डेन्टल विभागमा बिरामीहरु दैनिक २०/३० जनासम्म आउन थाले । ‘त्यतिबेला हाम्रो काम दाँत निकाल्ने, सफा गर्ने, स्क्यालिङमा मात्रै सिमित थियो, त्यसपछि ओपिडीले जटिल खालका सेवाहरु दिन थाल्यो,’ उनले भने, ‘मुख तथा अनुहार शल्यक्रिया, सामान्य र जटिल अप्रेशनहरु गर्न थाल्यौैं ।’
डेन्टल विभागले जटिल खालका अप्रेशनहरु हरेक शुक्रबार गर्दै आएको छ । यि सेवा बाहेक विभागले शाहकै नेतृत्वमा दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँत भर्ने, आरसिटी, सिंगल सिटिङ आरसिटी, कृत्रिम दाँत राख्ने जस्ता सेवा पनि दिइरहेको छ । पछिल्लो समयमा भेरी अस्पतालको डेन्टल सेवाप्रति बिरामीको विश्वास र चाप धेरै रहेको डा. शाह बताउँछन् । विगत २५ वर्षको अन्तरालमा डेन्टल सर्जरीले धेरै फड्को मारेको उनको बुझाई छ ।
डेन्टल सम्बन्धी उपकरण र सामाग्री नयाँ–नयाँ भित्रिएका छन् । यसले काममा छिटो छरितो, सहजता र गुणस्तर बढाएको छ । डा. शाहको सेवा कार्य भेरी अस्पतालमा मात्रै सिमित छैन । उनले पश्चिम नेपालका प्रायः जिल्लामा पुगेर सेवा दिईसकेका छन् । विकट पहाडी तथा हिमाली जिल्लामा पुगेर दुर-दराजका नागरिकलाई निःशुल्क रुपमा डेन्टल सम्बन्धी सेवा दिएका छन् । अस्पतालमा होस् या दुर–दराजका स्वास्थ्य शिविरमा पुगेर बिरामीको उपचार गर्न पाउँदा उनी रमाईलो अनुभुति गर्छन् । डा. शाहले चिकित्सा क्षेत्रमा समाजकासामु जसरी आफुलाई चिनाउन सफल भएका छन् । त्यसलाई जीवन्त बनाउने उनको चाहना रहेको छ ।
‘साविक मध्य र सुदुरपश्चिमका प्रायःजसो जिल्लामा पुगेर विभिन्न स्वास्थ्य शिविरका माध्यमबाट मैले बिरामी हेरेको छु, बाँकेका साविकका गाविसहरु(हाल स्थानीय तह)मा पनि शिविर गरेको छु,’ शाहले भने, ‘शहिद दिवसको अवसरमा धेरै वर्षसम्म बर्दियाको बारबर्दिया–३ बेलवाबज्जा गाउँमा शिविर सञ्चालन गरेको थिए ।’ कोरोनाकालपछि उक्त शिविर रोकिएको छ । डा. शाह डेन्टल सम्बन्धी राष्ट्रिय स्तरका नीति, नियम, मापदण्ड निर्माण कार्यमा पनि सहभागी हुने गर्छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट थुप्रै सम्मान प्राप्त गरिसकेका छन् ।
डा. शाहको अनुभवमा भेरी अस्पतालमा डेन्टल बाहेक अन्य सेवाहरु पनि बिस्तार भएका छन् । ‘संघिय सरकारले सञ्चालन गरिरहेको यस अस्पताल पश्चिम नेपालकै रेफरल सेन्टरका रुपमा स्थापित भएको छ, दिन–प्रतिदिन गुणस्तर र स्किल डेभलपमेन्टमा सुधार हुदै गएको छ, भारतको बहराईच सम्मका बिरामी आएर पनि भेरीबाट सेवा लिईरहनु भएको छ, अस्पतालका हरेक विभागले बिरामीको विश्वास जितेका छन्,’ शाह भन्छन्, ‘डेन्टल विभागमा बसेर बिरामीको सेवा गर्दै गर्दा अहिलेसम्म कुनै जटिल समस्याको सामना गर्नुपरेको छैन, बिरामीलाई सन्तुष्ट पार्ने मेरो प्रयास नै रहन्छ ।’
जनशक्ती र पुर्वाधार बढाएमा अस्पतालले अझ गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्ने उनको बुझाई छ । डा. शाहले चिकित्सा क्षेत्रमा समाजकासामु जसरी आफुलाई चिनाउन सफल भएका छन् । त्यसलाई जीवन्त बनाउने उनको चाहना रहेको छ । चिकित्सा पेशाबाट संगालेको माया र सद्भावलाई आफुपछि पनि उनी पुस्तान्तरण गर्न चाहन्छन् । (भेरी अस्पतालले हालै प्रकाशित गरेको वार्षिक स्मारिका 'अक्सिजन'बाट साभार गरिएको ।)