बाँके (टिकुलीपुर) : तीन दिने डिग्रे मेला सोमबार (आज)देखी राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरमा संचालनमा आएको छ । सिद्धसाईकुमारी मन्दिर सन्चालन समितिको आयोजनामा मेला संचालनमा आएको हो ।
मेलाको प्रमुख अतिथी एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले औपचारिक रुपमा उद्घाटन गरे । मेला उद्घाटन गर्दै अध्यक्ष पौडेलले डिग्रे मेला राप्ती सोनारीको गौरव र पहिचानसँग जोडिएको बताए ।
यस्ता मेलाले एक-अर्कामा जमघट गराउनुका साथै कला र संस्कृती जोगाउन मद्धत गर्ने उनले विश्वास व्यक्त गरे । स्थानीय सरकारको तर्फबाट कला, सँस्कृती संरक्षणमा आवश्यक सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
श्री सिद्धसाईकुमारी मन्दिर सन्चालन समितिका अध्यक्ष कमारो केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा समितिका सचिव बहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । मेला उद्घाटनका क्रममा रुकुम, सल्यान लगायत जिल्लाका लोक सँस्कृती झल्किने नृत्य प्रस्तुत गरिएको थियो, भने विभिन्न बिद्यालयका विद्यार्थीहरुद्वारा मार्चपास प्रस्तुत गरिएको थियो ।
मेला उद्घाटन समारोहमा विशिष्ट अतिथी एवम राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंंह थारु, राप्ती सोनारी-८ का वडाअध्यक्ष शालिकराम डाँगी, नेकपा एमालेका नेता रामदास थारु, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती सोनारी सभापति भुपेन्द्र ओली, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गौतम, राप्रपा राप्ती सोनारी गाउँपालिका अध्यक्ष हिरालाल केसी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि हरिभक्त पौडेल लगायत अतिथीहरुको उपस्थिती रहेको थियो । मेला उद्घाटन कार्यक्रम सन्चालन हिम केसीले गरेका थिए ।