बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का भूमिहिन दलित र भूमीहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा भूमी समस्या समाधान समिति बाँकेले आज १० जना भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सांसद सुरेशकुमार चौधरी, विशिष्ट अतिथी एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी तथा भूमी समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङ, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता एवम राप्ती सोनारी ४ का वडाध्यक्ष मिनराज खड्का लगायतले जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौधरीले वर्तमान सरकारले भूमी सम्बन्धी समस्यालाई समाधान गर्नका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडी बढाएको बताए । वर्तमान सरकारले आफ्नो कार्यकालभरी सबै भूमिहिन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन आफ्नै कर्मचारीहरू नियुक्त गरेर स्थानीय सरकारले संघिय सरकारलाई सहयोग गर्दै आएको बताए । भूमी सम्बन्धी काम गर्नमा गाउँपालिकाले अहिलेसम्म कुनै कसर बाँकी नराखेको ठोकुवा गरे ।
समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तामाङले बाँकेका ८ वटै स्थानीय तहमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई प्राथमिकतामा सुरुमा लालपुर्जा वितरण गरिसकेपछि अब्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष खड्काले एक वर्षअघि लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भइरहेको अवस्थामा प्रतिनिधि सभाको निर्वाचनको आचार संहिताका कारण बीचमै रोकिन पुगेको बताए । आफ्नो वडाका पहिलो चरणमा ३३ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको लिष्ट तयार भएकोमा ४ जनाको तीन पुस्ते अभिलेखमा जग्गा देखिएपछि उनीहरुको नाम समितिले रद्ध गरेको बताए । उनका अनुसार कुल ३३ जना मध्ये बाँकी २९ जनाले पाउनुपर्नेमा बुधबार १० जनालाई वितरण गरिएको र अन्य १९ जनालाई पनि प्राविधिक समस्या समाधान गरेर चाडैं वितरण गरिने जानकारी दिए ।
जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा राप्ती सोनारीका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारी, रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठसहित नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।