नेपालगन्ज : कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा तराई क्षेत्रका गाउँबस्ती र बजारमा चहल-पहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा नेपालगन्जका स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप तराई क्षेत्रका घर-घरमा छठका गीत गुञ्जिन थालेका छन् ।
सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले नेपालगन्जको वातावरण छठमय बनेको छ । पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा नेपालगन्जबासी सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् ।
धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै नेपालगन्जका स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको छ । बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ ।
स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ ।
छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ ।