मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटना परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन ।
सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार उक्त दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार थिए । काठमाडौंबाट बिहीबार बिहान करिब ६ः१० बजे सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनाका मृतकहरुको शव हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । थप तीन जनाको शव दुर्घटनास्थलबाट पछि फेला परेको डीएसपी थापाले बताए । थप फेला परेका तीन जनाको पहिचान भने खुल्न बाँकी रहेको बताइएको छ ।
मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अन्दाजी २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव,४ वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डल (चालक) को पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् । त्यसैगरी, चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन् ।
घाइते मध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ, भने अन्य २ जनाको अवस्था सामान्य रहेको छ ।