नेपालगन्ज : नेपाली कांग्रेस इतर पक्षका नेताहरुले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापतिको मान्यता दिने विश्वास गरेका छन् । कांग्रेस संस्थापन इतर(शेरबहादुर देउवा पक्ष) को बाँके क्षेत्र नम्बर २ र नगर अधिवेशनलाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै नेताहरुले अदालतले निस्सा दिईसकेकाले अन्तिम फैसला पनि सोही अनुसार आउने दाबी गरे ।
प्रमुख अतिथी एवम् पार्टीका नेता गेहेन्द्र गिरीले कुनैपनि पार्टी र संगठन चलाउनलाई इमान्दारिता र अनुशासन हुनुपर्ने बताए । निर्वतमान केन्द्रिय सदस्य गिरीले इमान्दारिता र अनुशासन नभए पार्टी चल्न नसक्ने उनले स्पष्ट पारे । ‘अंग्रेजीमा कंग्रेस भन्ने वित्तिकै सभा भन्ने बुझिन्छ, तर त्यो भिडले पार्टी चल्न सक्दैन, जुन दलमा इमान्दार साथीहरु हुनुहुन्छ, त्यो पार्टी सफल भएको इतिहास साक्षी छ,’ कांग्रेसको नियमित १५ औं महाधिवेशन तयारी समिति लुम्बिनी प्रदेशका संयोजक समेत रहेका नेता गिरीले भने ।
देश असाध्यै अप्ठ्यारो परिस्थितीमा गुज्रिरहेको भन्दै उनले संविधान रक्षा र देशलाई जोगाउने पार्टी भनेकै नेपाली कांग्रेस रहेको बताए । अर्को प्रसंगमा नेता गिरीले भने, ‘स्थानीय चुनाव आउँदैछ, कांग्रेसको आधिकारिकता मुद्दालाई सर्बोच्च अदालतले समयमा फैसला गरेन भने निर्वाचन आयोगले दल दर्ताको लागि आब्हान गर्छ, दल दर्ता गर्न गगन थापाहरु जानुहुन्छ, अनि हामीहरु पनि दल दर्ता गर्न जान्छौं, त्यहााँ दुई वटा निवेदन पर्यो भने निर्वाचन आयोगले रुखलाई बाकसमा बन्द गरेर राख्छ, त्यो बेलामा दुबै पक्षलाई छुट्टै चुनाव चिन्ह दिन सक्छ ।’
रुख चिन्ह पुर्खाहरुको आस्थासँग जोडिएको हुनाले यो सबैको रोजाईमा पर्ने गरेको बताउँदै भने, ‘यदी रुखले नै सबै हुने भए गत फागुन २१ मा चुनावमा लडेका साथीहरु रुख चिन्ह लिएर जानु भएको थियो, रुखले नै जिताउने भए गगन थापा सहित धेरै साथीहरुले किन चुनाव हार्नुभयो ?’
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्रबहादुर हमालले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापति मान्ने ठोकुवा गरे । ‘सर्वोच्च अदालतले निस्सा दिईसकेपछि अब शेरबहादुर देउवा दाईलाई नै आधिकारिकता दिन्छ, तपाईहरु ढुक्क हुनुस्, भोलिका दिनमा उनीहरु पनि यतै आउनेछन्,’ उनले भने ।
१५ औं नियमित महाधिवेशन तयारी समिति बाँकेका संयोजक कृष्णबहादुर कार्कीले शेरबहादुर देउवा राजनीति रुपमा सफल मात्र नभएर पटक–पटक मृत्युलाई समेत जित्ने नेता रहेको बताए । पञ्चायत र माओवादीले मार्न नसकेको शेरबहादुर देउवा २०८२ भदौं २४ गतेको घटनामा पनि बाँच्न सफल भएको बताए ।
कांग्रेसका युवा नेता यादवराज बस्यालले सञ्चालन गरेको अधिवेशन उद्घाटन शत्रमा नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशन तयारी समिति कर्णाली प्रदेशकी संयोजक रंगमति शाही, कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य रामबहादुर मल्ल, लुम्बिनी प्रदेशकी सांसद माया पुन, नेता निरन्जनसिंह सिजापति, नेपाली कांग्रेस दाङका महासमिति सदस्य युवराज खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशन उद्घाटन शत्रमा क्षेत्र नम्बर १ का पुर्वसभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने, पुर्वप्रदेश सांसद मोहम्मद याकुव अन्सारी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । अधिवेशनमा कांग्रेस नेतृ सुलोचना शर्मा रिजालले स्वागत गरेकी थिइन् ।

बाँके क्षेत्र नम्बर २, प्रदेश सभा र पालिकामा निर्विरोध निर्वाचित
अधिवेशनले बाँके क्षेत्र नम्बर २, प्रदेश सभा–२ क र ख तथा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन गरेको छ । निर्वाचन समिति बाँकेका संयोजक एवम् अधिवक्ता गणेशप्रसाद थारुका अनुसार क्षेत्रीय सभापतिमा राजकुमार पोखरेल(राजु हमाल), बाँके प्रदेश सभा २ क को सभापतिमा जोगिन्दर अहिर र प्रदेश सभा–२ ख को सभापतिमा धर्मेन्द्र कुमार बर्मा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका सभापतिमा नकुल खत्री र डुडुवा गाउँपालिका सभापतिमा शकील खान निर्बिरोध निर्वाचित भएको संयोजक थारुले जानकारी दिए । अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिका रुपमा ३५ जनालाई निर्विरोध निर्वाचित पनि गरेको छ ।
