बाँके(राप्ती सोनारी) : समृद्धिका लागि सञ्चार नेपालको आठौँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष अर्जुन ओलीले संस्थाको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थागत विकाससँगै सामुदायिकर रेडियो भूवर भवानी ९८.८ मेगाहर्जको सञ्चालनलाई थप प्रभावकारी बनाउने योजना अगाडी सारेका छन् ।
राप्ती सोनारी गाउँपालिकामा स्थापना भएको समृद्धिका लागि सञ्चार नेपालले स्थानीय स्तरमै विगत ७ वर्षदेखि सामुदायिक रेडियो भूवर भवानी सञ्चालन गर्दै आएको छ । स्थानीय समुदायका आवाज, सरोकार र सवाललाई प्राथमिकता दिँदै सूचना, समाचार तथा जनचेतनामूलक कार्यक्रम प्रसारण गर्दै आएको रेडियोको संस्थागत सुदृढीकरण र आगामी योजनाका विषयमा साधारण सभामा ब्यापक रुपमा छलफल भएको छ ।
साधारण सभामा संस्थाका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले सञ्चालन गरेका गतिविधि, रेडियोमार्फत सम्प्रेषित सूचना तथा कार्यक्रम र संस्थाले हासिल गरेका उपलब्धिबारे प्रतिवेदनमार्फत जानकारी गराए ।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष बिमला कुमारी थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबार, आम्दानी तथा खर्चको विवरण सभामा पेश गरिन् । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको आर्थिक पारदर्शिता, मितव्ययिता र स्रोत व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने विषयमा जोड दिइएको थियो ।
साधारण सभामा अध्यक्ष ओलीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि समेत छलफल भएको थियो । संस्थाको उद्देश्यअनुरूप सामुदायिक सञ्चार माध्यमको रुपमा रहेको एफ.एम. रेडियोलाई समुदायसँग अझ नजिक बनाउने, स्थानीय नागरिकका समस्यालाई एफ.एम. रेडियोमार्फत उजागर गर्ने, स्थानीय सरकारसँगको सहकार्यलाई अझ बढी जोड दिने तथा रेडियोको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषय आगामी कार्यदिशाका रूपमा अघि सारिएको छ ।
साधारणसभाले संस्थाको वार्षिक गतिविधि र आर्थिक अवस्थाको समिक्षा गर्दै आगामी दिनमा संस्थालाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउँदै लैजाने विषयलाई प्राथमिकता दिएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई सूचना र सञ्चारको पहुँचमा जोड्ने उद्देश्यले स्थापना भएको रेडियो भूवर भवानीले राप्ती सोनारीसहित आसपासका क्षेत्रका स्थानीय सवाल, कृषि, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, सामाजिक विकास तथा समुदायका विविध विषयलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ ।
स्थानीय स्तरमा सञ्चारको पहुँच विस्तार र समुदायका आवाजलाई मूलधारमा ल्याउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले रेडियोलाई थप सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकता पनि साधारणसभामा औँल्याइएको छ । संस्थाको आठौँ वार्षिक साधारणसभाले विगतका उपलब्धिको समिक्षा गर्नुका साथै आगामी दिनमा संस्थागत सुशासन, आर्थिक पारदर्शिता र प्रभावकारी सञ्चार अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।