नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता–२०८३ मा बिमला चौधरीले लेखेको स्टोरी प्रथम भएको छ । प्रेस युनियन बाँकेले विगत ३ वर्षदेखि गर्दै आएको छ ।
यस पटकको कार्यक्रममा चौधरीको 'थारु लेहंगाको बढ्दो मागसँगै चम्किँदै गिताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी' शीर्षकको स्टोरी उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा ममता थापाले लेखेको स्टोरी द्वितीय भएको छ । 'थापाको घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि' शीर्षकको स्टारी दोस्रो उत्कृष्ट हुन सफल भएको हो ।
यस्तै सुमित्रा पण्डितले लेखेको स्टोरी तृतीय भएको छ । पण्डितको 'मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा' शीर्षकको स्टोरी उत्कृष्ट तेस्रोमा परेको छ । यस वर्षको प्रतियोगितामा छ जना पत्रकार महिलाले सहभागिता जनाएका थिए । जसमध्ये साहिदा साहले लेखेको आशाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी शीर्षकको स्टोरीले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय शुधान्सु कोइराला, सीता काफ्ले, लुम्बिनी प्रदेश सभा सदस्य, पुर्व मन्त्री बादशाह कुर्मी र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । बिजेताहरुलाई क्रमश नगद आठ, पाँच, तीन र एक हजारका दरले पुरस्कृत गरिएको छ ।
तीन सदस्य निर्णायक समितिले छ वटै स्टोरीको अध्ययन पश्चात निर्णय गरिएको युनियनका सचिव भिष्म लोधले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कोइरालाले लोकतन्त्रको रक्षा केवल पत्रकारले गर्न सक्ने भएकाले पत्रकारिता जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकारिता समाचार सम्प्रेष्ण मात्रै नभएर समाजमा चेतना फैलाउने कार्य पत्रकारिता भएको र यसले समाजको समस्या समाधानमा उल्लेखनीय भूमिका हुने बताए ।
यसैगरी केन्द्रीय सदस्य काफ्लेले पत्रकार महिला लक्षित गरिएको यो कार्यक्रम एकदमै राम्रो रहेको बताइन । उनले प्रेस युनियनले गर्दै आएको यो कार्यक्रमले पत्रकार महिलाको क्षमता विकासमा सहयोग पुर्याउने बताइन । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता बादशाह कुर्मीले पत्रकारिताकै कारण समाजको कुरा उठान हुने भएकाले यसलाई जिम्मेवार बनाउनुपर्ने बताए । ‘बोल्न नसक्नेहरुको आवाज पत्रकार हुन्, उनले भने, प्रेस स्वतन्त्रताका लागि नेपाली काँग्रेस हमेश पत्रकारको साथमा छ ।’
नेपाली कांग्रेसका नेता एवम नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय महासचिव पोषण केसीले पत्रकारलाई आवश्यक परेको बेला राजनीतिक दलहरुले प्रयोग गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने बताए । 'नेपालमा लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसको योगदान छ, तर नेपाली प्रेस जहिले पनि दलिय नजरमा उपेक्षामा परेको छ,' उनलेे भने ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले सरकार, राज्य थाहा नपाउने बिषय पत्रकारले थाहा पाउने भएकाले देश निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन । राज्यको आँखा खोल्ने कामसमेत पत्रकारले गर्ने भएको हुँदा पछिल्लो समय पछिल्लो समयको पत्रकारिता कतै आचारसंहिता भन्दा बाहिर गइरहेको त छैन, भन्ने कुरामा पनि ध्यान केन्द्रीत हुनुपर्ने उनको धारणा छ ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ बाँकेका पुर्बअध्यक्ष निरज कुमार गौतम, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले बोलेका थिए ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि रेनु सिंह ठाकुर, प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य एव नेपालगन्ज उपमहानरपालिकाकी पुर्बउपमेयर उमा थापामगर, प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, संचारिका समूहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, दलित पत्रकार संघ लुम्बिनीका अध्यक्ष टेकेन्द्र बस्याल, क्रियाशिल महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरी लगायत अतिथी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
काँग्रेसका केन्द्रीय सदस्यद्वय कोइराला र काफ्लेलाई सम्मान
यसैबीच नेपाल प्रेस युनियन बाँकेले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुधान्शु कोइराला र सीता काफ्लेलाई सम्मान गरेको छ । हालै सम्पन्न काँग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको सदस्यमा दुबै जना निर्वाचित भएका थिए ।
युनियन बाँकेले शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय सदस्यमा निर्वाचित कोइराला र काफ्लेलाई सम्मान पत्र तथा खादा लगाएर सम्मान गरेको छ । युनियन बाँकेका जिल्ला अध्यक्ष कमल खत्रीले निर्वाचित केन्द्रीय सदस्यद्वयलाई सम्मान गरेका थिए । उक्त कार्यक्रम संचालन सचिव भिष्म लोधले गरेका थिए ।