रुपन्देही : रुपन्देहीको भैरहवामा तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा २०० शैया क्षमताको लुम्बिनी क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।
कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो । लुम्बिनी क्यान्सर अस्पताल प्रालिमार्फत निर्माण हुन लागेको अस्पतालमा करिब तीन अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । प्रारम्भिक विवरणमा भने आयोजनाको लगानी साढे चार अर्ब रुपैयाँ हाराहारी हुने बताइएको छ ।
अस्पताल सञ्चालक एवम् लगानीकर्ता कमल भण्डारीले ईआईए प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए । भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनको भनाई छ ।
करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालको भवन १९ हजार ६ सय १६ दशमलभ ०४ वर्गमिटर क्षेत्रफलमा फैलिने प्रस्ताव गरिएको छ । अस्पताल भवनको क्षेत्रफल एक हजार ४ सय ५८ दशमलभ ८८ वर्गमिटर रहनेछ भने ९ सय वर्गमिटर क्षेत्रफलमा बंकर संरचनासमेत निर्माण गरिनेछ । करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना रहनेछ ।
अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापी लगायत सेवा सञ्चालन गर्ने योजना छ । बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसँग सम्बन्धित अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्यांकी, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन् । भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शैयाको व्यवस्था गरिनेछ । भण्डारीका अनुसार पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहनेछन् ।
दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन राखिनेछ । चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयू सहित ५० शय्याको व्यवस्था प्रस्ताव गरिएको छ । यसैगरी पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवा सहित २५ शैया रहनेछन् ।
अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग र ध्यान, उपचार तथा पुनःस्थापना सेवा र खुला छतको व्यवस्था गरिनेछ ।