बाँकेको बैजनाथ गाउँपालिकाले विकास र समृद्धिका निम्ति आफ्ना नीति तथा कार्यक्रम र बजेटलाई हरेक वर्ष प्राथमिकताका साथ कार्यान्वयनमा लगिरहेको छ । विगतका वर्षझै आर्थिक वर्ष २०८१/०८२ मा पनि यस गाउँपालिकाले आफ्ना योजना तथा कार्यक्रमलाई सफल रुपमा कार्यान्वयन गरेको दाबी गरेको छ । गाउँपालिकाले यसै आर्थिक वर्षमा कार्यसम्पादन मुल्यांकनमा जिल्लाका ८ वटा स्थानीय तहमध्ये आफुलाई दोस्रो स्थानमा उभ्याउन सफल पनि भयो । गाउँपालिकाले उक्त आर्थिक वर्षमा समग्र रुपमा कस्ता योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्यो ? काम गर्दा के कस्ता चुनौती छन् ? यि लगायत विविध विषयमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीसँग अर्जुन ओलीले गरेको विशेष संवाद :-
जनताको काम गरिरहँदा कस्तो अनुभुति भइरहेको छ ?
जनताको काम गरिरहँदा म खुसी छु । सेवा गर्नु नै धर्म हो, भने जस्तै जनताले जुन हिसाबले मलाई पाँच वर्षको लागि २०७९ बैशाख ३० गते दोस्रो कार्यकालको लागि म्याण्डेट दिएर पठाउनु भएको छ । उहाँको सुख, दुःख र हरेक क्षेत्रमा चाही काम गर्नुपर्छ, भनेर लागिरहेका छौं ।
गाउँपालिकालाई समृद्धिसँग जोड्न मुख्य रुपमा के, कस्ता कामहरु भएका छन् ?
गाउँपालिकालाई विशेषगरी समृद्धिसँग जोड्नको लागि सामाजिक विकास, आर्थिक विकास र पुर्वाधार विकासमा जोड दिएका छौं । विशेष गरेर गाउँपालिकाको चौतर्फी विकासको लागि हामीले पुर्वाधारतिर विभिन्न किसिमका भौतिक संरचनाहरु सडक, पर्यटन सडकलाई जोडिरहेका छौं । त्यसपछि प्रशासकीय भवनलाई जोड्नको लागि रिङरोडको अवधारणा ल्याएर काम गरिरहेका छौं । आर्थिक विकासमा सहज पहुँच गराउनको लागि हामीले कृषिमा विभिन्न किसिमका कार्यक्रम, आय-आर्जनका कार्यक्रमहरु, कृषि सम्बन्धी यान्त्रीकरण, डिजिटल पालिका, समग्र रुपमा पुर्वाधार, सामाजिक विकास, शिक्षामा हामीले विभिन्न किसिमका भवनका कुरा, छात्रवृत्तिका कुरा, लक्षित समुदायलाई विभिन्न किसिमका आय, आर्जनका कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यापर्यटन जेष्ठ नागरिकलाई विभिन्न किसिमले जोडिरहेका छौं ।
गाउँपालिकालाई समृद्ध बनाउनको लागि समग्र रुपमा औद्योगिक क्षेत्रको कामलाई पनि सँग–सँगै अगाडी बढाउन पहल गरेका छौं । विगत १० वर्षदेखी सञ्चालनमा आउन नसकेर जुन विवाद थियो, त्यो विवादलाई समाधान गरेर औद्योगिक क्षेत्रलाई हामीले सञ्चालनमा ल्याईरहेका छौं । यसले गर्दाखेरी पक्कैपनि भोलीका दिनमा २० औं हजार युवाले रोजगारी पाउने र त्यहाँको राजश्वले विभिन्न विकास निर्माणका काम पनि गर्न सकिने हुनाले नै त्यो पनि ठुलो समृद्धिको आधार हुनेछ ।
आर्थिक वर्ष २०८१/०८२ मा कस्ता कामहरुलाई विशेषगरी प्राथमिकतामा राख्नुभयो ?
हामीले पुर्वाधारतिर कृषि सडकदेखी जुन किसिमले सडक बिस्तार भएको थिएन, त्यो क्षेत्र बिस्तार गरायौं । त्यो सँग–सँगै भूमिहिन, सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई पहिलो नम्बरमा राखेर उहाँहरुलाई निस्सा वितरण गरिसक्यौं । निस्सा वितरण गरिसकेपछि उहाँहरुलाई लालपुर्जा दिनुपर्छ भनेर लागेका छौं । तीन ठाउँबाट नापजाँच प्रक्रिया पनि अगाडी बढिसकेको अवस्था छ । हाम्रै कार्यकालमा १० हजार ३ सय १५ जनालाई लालपुर्जा दिन हामी प्रयासरत छौं । एउटा हामीले प्रयास गरेका छौं । त्यो सुरुवात पनि गरिसकेका छौं । औद्योगिक क्षेत्रको काम पनि हामीले २०८१/०८२ सञ्चालनमा ल्याउनुपर्छ भनेर विभिन्न किसिमका बैठक, राजनीतिक दलसँगका बैठकहरु, विभिन्न मन्त्रालयमा डेलिगेशन गरेर हामीले औद्योगिक ब्यवस्थापन लिमिटेड जुन छ, त्यससँग समन्वय गर्यौं ।
२०२८ सालदेखी भोग चलन गर्दै आएको जनताको लागि ५५ दशमलभ ६ विघा जमिन उपलब्ध गराउने सहमती सहित एउटा ठुलो निकास निकालेका छौं । त्यो पनि हाम्रो एउटा लक्ष्य थियो । अर्को कुरा शिक्षामा सुधार ल्याउनको लागि धेरै काम गर्नुपर्छ भनेर लागेका थियौं । सोही अनुसार पहिलो चरणमा हामीले शिक्षकलाई विभिन्न किसिमका तालिम, बिद्यार्थीसँग छलफल भएका छन् । आधारभुत तह र एसइई परिक्षालाई मर्यादित बनाउनको लागि सिसी क्यामेरा जडान गरेका छौं । क्यामेरा जोड्नुभन्दा पहिले शिक्षक, बिद्यार्थी, अभिभावक सबैलाई जानकारी दियौं । हामीले सबै परिक्षा केन्द्रमा सिसी क्यामेरा जडान गर्यौं । परिक्षा मर्यादित पनि भयो । यो पनि राम्रै काम भएको छ । कृषि एम्बुलेन्स सञ्चालन गरेर किसानलाई सहज गराएका छौं ।
किसानले गरेका मेहेनतहरु, किसानका उत्पादन गर्दा पनि मेहनत अनुसारको मुल्य पाएको देखिएन । त्यसैले हामीले कृषि एम्बुलेन्स चलाएर अन्नबाली, फलफुल बाली, तरकारी बालीको हकमा पनि किसानलाई वडाको सिफारिसमा ५० प्रतिशत अनुदानमा दिने भनेका थियौ, त्यो लक्ष्य पनि हामीले पुरा गरेका छौं । शिक्षा, स्वास्थ्य, कृषि, प्रशासकीय भवनका कुरा पनि पुरा गरेका छौं । एकिकृत सेवा केन्द्र पनि हामीले सञ्चालनमा ल्याएका छौं । बैजनाथलाई प्रविधीमैत्री बनाउनुपर्छ, डिजिटलमा जोड्नुपर्छ, अनलाईन सिस्टमबाट जनताले हरेक सेवा लिन सकुन भन्ने खालको जुन योजना बनाएका थियौं, सोही योजना अनुसार अहिले कार्यान्वयनमा आईसकेको अवस्था छ । प्रशासकीय सुधारका कुरादेखी लिएर धेरै काम गरेका छौं ।
पुर्वाधार निर्माण अन्तर्गतका कस्ता–कस्ता काम यहाँहरुले गर्नुभयो ?
पुर्वाधार निर्माण अन्तर्गत हामीले यो वर्ष शंकर माध्यामिक बिद्यालय थपुवामा ४ कोठे प्रशासकीय भवन बनाएका छौं । बिद्यालयमा घेराबार गरेका छौं । बैजनाथ-२ को सरस्वती आधारभुत बिद्यालयमा ४ कोठे भवन सम्पन्न गरेका छौं । जनजागरण आधारभुत बिद्यालय बैजनाथ-१ मा चार कोठे भवन सम्पन्न गरेका छौं । त्यस्तै बैजनाथ-८ को नेरा आधारभुत बिद्यालय बरगदीमा ४ कोठे भवन सम्पन्न गरेका छौं । यस्तै प्रशासकीय भवनमा बैजनाथ-७ मा पनि प्रशासकीय भवन सम्पन्न भएर प्रशासकीय कामहरु त्यहाँबाट सुरु भईसकेको छ ।
त्यसैगरी हामीले सिंचाई कुलोहरु बनायौं । सिंचाईका ड्याम पनि बनायौं । नदी कटान क्षेत्रमा तटबन्धन गर्ने वाचा गरेका थियौं, त्यो पनि गरेका छौं । रोडको कुरा गर्ने हो भने बैजनाथ-८ मा स्तर उन्नती र नालीसहितको पिच बाटो बनाएका छौं । जिगाउँदेखी मनकामना जोड्ने रोडको पनि ठेक्का खोलेर काम सम्पन्न हुदैछ । त्यस्तै क्षेत्रीय कारागारदेखी सडक अन्तिम अवस्थामा पुगेको छ । रारा आधारभुत बिद्यालयमा बिद्यार्थीलाई सहज रुपले आवत-जावतमा सुविधा होस् भनेर त्यहाँ पनि पिचले छोएका छौं । धेरै ठाउँमा हामीले कालोपत्रे, तटबन्धन गरेका छौं, बाँधहरु बनाएका छौं । संचित पोखरी बनाएका छौं । बिद्यालय भवन, प्रशासकीय भवन, एकिकृत सेवाग्राही कक्ष लगायत धेरै कामहरु गरेका छौं ।
गाउँपालिकाको समृद्धिका निम्ति शिक्षा, स्वास्थ्य, कृषि लगायत महत्वपूर्ण आधार मानिन्छन् । यि कुरामा कत्तिको लगानी गर्नु भएको छ ?
गाउँपालिकाको समृद्धिको लागि शिक्षा, स्वास्थ्य, कृषिमा किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याएर लगभग ६ करोड रुपैयाँ विनियोजन गरेका छौं । यो कार्यक्रम चाही ७ सय ५३ स्थानीय तह मध्ये सबैभन्दा बढी कृषिमा लगानी गर्ने भनेको नै बैजनाथ गाउँपालिका हो । त्यस्तै स्वास्थ्यमा पनि हामीले लगानी गरेका छौं । विभिन्न शिविर सञ्चालन गरेका छौं । १५ शैयाको अस्पताल निर्माण हुने क्रममा छ । आर्थिक रुपले विपन्न परिवार पनि यहाँ छन् । विशेषज्ञ सेवा पनि हाम्रो नजिकैबाट लिन पाउन भन्ने उद्देश्यले सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण प्रक्रियामा छ ।
अबको एक/दुई वर्षमा ठेकेदारले नियमित गरेपछि त्यो पनि सुरु हुन्छ । स्वास्थ्यमा हामीले एम्बुलेन्स सञ्चालन गरेका छौं । गर्भवती महिलालाई अकालमै ज्यान जान नपरोस् । गर्भवती महिलाको नाजुक अवस्थामा सम्बन्धित स्वास्थ्य निकायमा लैजान निःशुल्क रुपमा हामीले एम्बुलेन्स सञ्चालन गरेका छौं । जेष्ठ नागरिक, अपांगता, विपन्न नागरिकलाई पनि हामीले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौं । धेरै कामहरु चाही हामीले स्वास्थ्यमा गरेका छौं । शिक्षामा पनि हामीले प्रशासकीय भवनहरु, त्यसैगरी बिद्यालयका भवनहरु, पुर्वाधार हामीले निर्माण गरेपछि बिद्यार्थीहरुलाई चाही पठन पाठनमा सहजता गराउने हिसाबले चाही पुर्वाधारका क्रममा बिद्यालय भवन बनाएका छौं । शिक्षामा सुधार ल्याउनको लागि प्रअ, अध्यक्षहरुसँग नियमित बैठक, तालिम, अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेका छौं । शिक्षामा अझै अनुगमन, नियमन हुनुपर्छ भनेर अनुगमन गरिरहेका छौं । शिक्षामा अझै सुधार गर्न बाँकी छ र अहिलेसम्म धेरै सुधार गरेका छौं ।
आर्थिक वर्ष २०८१/०८२ सम्म बैजनाथमा जग्गा नापजाँचको काम कति हुन्छ ?
हामी कहाँ अब्यवस्थित बसोबासी, भूमीहिन दलित र भूमीहिन सुकुम्बासी गरेर कुल १० हजार ३ सय १५ जनाले फाराम भरेका छन् । उहाँहरु सबैको निस्सा आईसक्यो र सबैलाई निस्सा वितरण गरिसकेको अवस्था पनि छ । यसमा अलि प्राविधिक जटिलता हो, हामीले प्राविधिकलाई थप गरेर संघिय सरकारले उपलब्ध गराएको ४ जना प्राविधिकले हामीलाई पुगेन । जग्गा नाप्न दसौं वर्ष लाग्ने भएको हुँदा अहिलेको आयोगले ३ वर्षमा भूमी समस्या समाधन गर्ने, फेरी अर्को आयोग नबन्ने भन्ने खालको केन्द्रिय परिपत्र र केन्द्रमा एउटा कानुन बनेको छ ।
सोही अनुसार हामी पनि आत्तिनुपर्ने, हामीले विकासले बजेटलाई पनि काटेर जनतालाई एकै चोटी, सबै ठाउँबाट जग्गा नापेर लालपुर्जा उपलब्ध गराउनुपर्छ भनेर लागिरहेका छौं । अहिले हामीले ६ नम्बर, ४ नम्बर र ७ नम्बर वडाबाट एकैचोटी तीन वटा स्टेशन मेसिनसहित जनशक्ती ल्याएर हामीले काम गरिरहेका छौं । पहिला प्वाइन्ट र कित्ता छुट्याएपछि हामीलाई नापजाँच गर्न सजिलो हुन्छ । हामीले संकलनकर्ता देखी लिएर सहयोगी सबैलाई ब्यवस्थापन खर्च, सबै गरेर लालपुर्जा बाँड्नुपर्छ भनेर लागेका छौं ।
गाउँपालिकाले ठाउँ–ठाउँमा खुल्ला ब्यायामशाला बनाएको छ । यसको खास उद्देश्य के हो ?
यसको उद्देश्य भनेको स्वास्थ्यमा बालबालिका, जेष्ठ नागरिक, किशोर किशोरी लगायत सम्पूर्ण युवाले पनि यसको फाईदा लिन पाउन भन्नका लागि गरिएको हो । यो खुल्ला ब्यायामशाला भनेको सबैले सहज रुपमा गर्न सक्ने, स्वास्थ्यमा लगानी गरिएको हो । स्वास्थ्यमा लगानी गर्दाखेरी आर्थिक ब्ययभार पनि घट्छ । नसर्ने रोगहरु सुगर, प्रेसर, विभिन्न किसिमका नसर्ने रोगहरु पनि ब्यायाम गरियो भने कमी हुने । त्यहाँ गएर दैनिक १५ देखी २० मिनेट, आधा घण्टा, पौने घण्टा, एक घण्टा पनि उहाँले ब्यायाम गर्नु भयो भने धेरै नसर्ने रोग कमी गर्न सक्ने । युवाहरुलाई पनि कुलतबाट बचाउन सक्ने । स्वस्थ रहनको लागि ब्यायाम गरियो भने कुलतबाट पनि नफस्ने । धेरै कुराहरुलाई मध्येनजर गरेर समग्र रुपमा खुल्ला ब्यायामशालाको अवधारणा ल्यायौं । आर्थिक वर्ष २०८०/०८१ मा बैजनाथ–१ र ६ मा सञ्चालन गर्यौं । आर्थिक वर्ष २०८१/०८२ मा बाँकी सबै वडामा सञ्चालन भएको छ ।
नौवस्ता औद्योगिक क्षेत्र बन्न नसक्नुका पछाडी स्थानीय सरकार प्रमुखको हैसियतले के देख्नुहुन्छ र अहिलेसम्म स्थानीय सरकारले यो विषयमा कत्तिको अग्रसरता देखाएको छ ?
औद्योगिक क्षेत्र २०७२ सालमा नै स्थापना भएर एक प्रदेश, एक औद्योगिक क्षेत्र भन्ने खालको अवधारणा आएको हो । अहिलेसम्म शिलान्यास भयो । शिलान्यास भईसकेपछि जनताले पनि स्वागत गरेका हुन् । यहाँ वास्तविक समस्या के पर्यो भने जुन २०२८ सालदेखी जग्गा उपयोग गर्दै आएका जनताहरु थिए, उहाँहरुको जग्गा पनि गुगल नक्साबाट औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको नाममा लालपुर्जा ल्याइयो । मुख्य बाधक भनेको त्यही हो । पहिलेको सरकारले धेरै पहल गर्दा गर्दै पनि यसको समस्या समाधान हुन सकेन । जनता र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका कर्मचारीको द्धन्द्धले गर्दा यो अवस्था आएको हो । उहाँहरु जनता, राजनीतिक दललसँग समन्वय गरेर जानुहुन्थ्यो भने यो अवस्था आउने थिएन ।
औद्योगिक क्षेत्र सञ्चालन भएको १० वर्ष भईसकेको हुन्थ्यो र यहाँँ २० औं हजार युवाले रोजगारी पाईसकेको अवस्था हुन्थ्यो । बैजनाथको मुहार नै फेरिसकेको हुन्थ्यो । विशेष गरेर यो समस्यालाई समाधान गर्न के गर्नुपर्छ भनेर राजनीतिक दलको सहमति सहित हामीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष लगायत पदाधिकारी र हामीहरु बस्यौं, पटक–पटक घरदैलोको लागि जनता कहाँ जानुपर्छ भनेर जनतासँग पनि बस्यौं । जनतालाई पनि सम्झायौं । औद्योगिक क्षेत्र बन्नुपर्छ र तपाईको पनि ब्यवस्थापन हुनुपर्छ । भूमी आयोगको नीति अनुसार तपाईले जग्गा पाउनुहुन्छ । अब यसरी द्धन्द्ध नगरौं र औद्यागिक क्षेत्र पनि सञ्चालन गर्नुपर्छ भनेर हाम्रो सहमति भईसकेपछि पटक–पटक डेलिगेशन गयौं र डेलिगेशन गईसकेपछि औद्योगिक क्षेत्र विकास लिमिटेड पनि सहमत हुनुभयो । त्यसपछि पुनः सर्वे गर्यौं ।
ड्रोन नक्साबाट फेरी कति घरहरु छन् र यसलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने खालको कुरा फेरी चार किल्ला छुट्याईसकेपछि त्यसपछि सिमांकन गर्यौं । ५५ दशमलभ ६ विघा जमिन हामीले औद्योगिक लिमिटेडको नामबाट कटाएर जनतालाई दिन सक्यौं भने औद्योगिक क्षेत्र सञ्चालन हुनसक्छ भन्ने खालको कुरा भएर डेलिगेशन, सर्बदलिय छलफल गर्यौं । सरकारका जिम्मेवार मन्त्रालयका साथीहरु बसेर एक किसिमको वातावरण भएर अहिले ५५ दशमलभ ६ विघा जमिन हामीले छोडेर, बीचमा सिमांकन गरेर बाटोको ट्रयाक निकालिसकेका छौं । यो एउटा महत्वपूर्ण उपलब्धी नै हो । हामीले यसलाई अझै छिटो काम गर्नुपर्छ भनेर भनेका छौं । गुगल नक्सामा देखिएका अहिले ८ वटा घर समस्यामा छन् । ति घरलाई ब्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा त्यो घरहरुलाई अन्यत्र सार्ने भनेर जग्गा हामीले छुट्याएर राखेका छौं । घर बनाउने ब्यवस्था पनि स्थानीय सरकारले गर्नुपर्छ भनेर त्यो अनुसार पैसा छुट्याएर अगाडी बढेका छौं ।
स्थानीय सरकारप्रति जनताको कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ ?
हाम्रो पाँच वर्ष कार्यकाल पुरा भएपछि जनताको प्रतिक्रिया आउँला । अहिलेसम्म दोष लगाउने खालको प्रतिक्रिया आएको छैन । हामीले सबै जनतालाई समेटेर कृषि, पुर्वाधार, महिला तथा बालबालिका सम्बन्धी लक्षित वर्गका कार्यक्रम, सेवा प्रवाह गर्ने कामहरु, चुस्त दुरुस्त तरिकाले हामीले दिनुपर्छ भनेर प्रशासनलाई भनिरहेका छौं । सोही अनुसार प्रशासन पनि चलिरहेको अवस्था छ । जनताको आवश्यकता र चाहना धेरै हुन्छ । बजेटले कति भ्याउने भन्ने कुरा हो । सोही अनुसार हामीले पहिलो प्राथमिकतामा यो काम गर्नुपर्छ भन्ने कुराहरु गरेको हुनाले जनताबाट विश्वास पाएका छौं ।
वर्षेनी संघ र प्रदेश सरकारबाट आउने अनुदानको अवस्था के छ ?
वर्षेनी संघ र प्रदेशबाट आउने अनुदान त्यति घटेको अवस्था छैन । जे जस्तो आउँछ, त्यो आईरहेको अवस्था छ । नियमित रुपमा आउने समानिकरण बजेट, प्रदेश सरकारबाट आउने राजश्व बाँडफाँड, यि नियमित रुपमा आईरहेका छन् । सोही अनुसार हामीले आन्तरिक राजश्वलाई पनि जोडेर समपूरक र विशेष अनुदान पनि प्रदेश र संघबाट नियमित आईरहेको अवस्था छ । सोही अनुसार काम अगाडी बढिरहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा संघ र प्रदेशबाट बजेट कटौती भएकै कारण कुनै योजना अपुरो हुने अवस्था आयो ?
हाम्रो बजेट जुन सिलिङ हुन्छ, त्यो बजेट अनुसार कतिपय कामहरु चाही सर्शत अनुदान, समपूरक र विशेष अनुदान फिर्ता भएर जाने अनुदान हो । हामीले जति काम गर्न सक्यौं, बाँकी नगर्न सकेको फिर्ता जाने र राजश्व बाँडफाँड, समानिकरण र आन्तरिक जुन आम्दानीबाट बनाएको कार्यक्रम हुन्छ, त्यो कार्यत्रम हुन्छ, त्यो फिर्ता जादैन ।
यो बजेट यही डल्लो भएर बस्छ, त्यसपछि हामीले चाही उताबाट नआएको कुरा पनि काम गर्न नसकेका कुनै योजनाबाट त्यसलाई भुक्तानी दिने प्रक्रिया हुन सक्छ । त्यसलाई पनि हिउँदे गाउँसभामा गएर हामीले त्यो किसिमको सिधैं छुट्याएको बजेट कार्यपालिकाले निर्णय गर्ने हो । २५ प्रतिशतमा धेरै गर्न सक्दैन । त्यो योजनाको पैसा अर्को योजनामा हाल्नको लागि सभामै जानुपर्छ । सभाले ल्याएको काम सभामै जानुपर्ने भएको हुनाले त्यति समस्या देखिएन । हामीले त्यस्ता अधुरा योजनाहरु सबै सम्पन्न भए । त्यसपछि हामीले डेलिगेशन गएर गाउँपालिका राष्ट्रिय महासंघ, लुम्बिनी प्रदेश, नगरपालिका महासंघ, जिल्ला समन्वयको टोली गएर हामीले चाही अर्थ मन्त्रीसँग काठमाडौंमा छलफल, अन्तरक्रिया भयो ।
स्थानीय स्रोतको बृद्धि कसरी गरिरहनु भएको छ ?
स्थानीय स्रोत बृद्धिका लागि विभिन्न प्रयास गरेका छौं । पसल अनुगमन गरेका छौं । उद्योग, ब्यवसाय सबैको अनुगमन गरेर करको दायरा कसरी बढाउनुपर्छ, जग्गा रजिष्ट्रेशनका कुरा । धेरै सिफारिस दस्तुतरबाट पनि राजश्व संकलन हुन्छ । २०८०/०८१ मा हामीले खोला खोलेका थियौं । आर्थिक समृद्धिका निम्ति एउटा चाही कर उठाएर, अर्को कुरा कसैलाई कार्यक्रममा दिएर त्यसबाट कर संकलन गर्ने गरेका छौं । किसानलाई विभिन्न सामानमा अनुदान दिएका छौं । अनुदान पाएका किसानले फर्म दर्ता गर्नु भएको छ । व्यवसाय फर्म दर्ता, नविकरणबाट पनि राजश्व संकलन हुन्छ । जनताको पनि आर्थिक बृद्धि गरिरहेका छौं ।
गाउँपालिकाको नेतृत्व गरिरहँदा तीन वर्ष कार्यकाल पुरा भईसकेको छ । अबको दिर्घकालिन योजना के छ ?
हाम्रो दिर्घकालिन योजना भनेको औद्योगिक क्षेत्रलाई सञ्चालन गरेर २० औं हजार युवालाई विदेश जानबाट रोक्नको लागि र यहाँको अर्थतन्त्र बलियो र समृद्ध बैजनाथ बनाउनको लागि औद्योगिक क्षेत्रलाई जसरी पनि सञ्चालनमा ल्याउनुपर्छ भनेर सोचिरहेका छौं । त्यही अनुसार रोडम्याप बनाएर अगाडी पनि बढिरहेका छौं । अर्को कुरा दिर्घकालिन योजना जनताले २०२८ सालदेखी बसोबास गरिरहनु भएको छ । पटक–पटक आयोग बन्ने र ढल्ने ।
जनतालाई राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने काम गरेका छन् । जनताहरुले कहिले कसैलाई भोट दिने, कहिले कसैलाई भोट दिने, यो अवस्थामा बैजनाथ स्थानीय सरकारले उहाँहरुलाई अर्जुन दृष्टि बनाएर हाम्रो कार्यकालमा लालपुर्जा उपलब्ध गराउनुपर्छ । भू–स्वामित्वको अधिकार जनतालाई दिनुपर्छ भनेर लागेका छौं । हामीले जसरी भएपनि सुविधा सम्पन्न विशेषज्ञ डाक्टर सहितको १५ शैयाको अस्पताल पनि जसरी पनि सञ्चालनमा ल्याउनुपर्छ भनेर लागेका छौं । अर्कोकुरा हाम्रो रिङरोडको अवधारणा आएको छ । प्रशासकीय भवन र प्रत्येक बिद्यालयलाई कालोपत्रे गर्ने, बिद्यार्थीहरु चाही जुन शिक्षा भनेको विकासको मेरुदण्ड हो । बिद्यार्थीहरु सहज रुपमा बिद्यालयमा आउने र जानको लागि ।
अर्को कुरा कृषि रोडको अवधारणा ल्याएका छौं । बाटो र पुल छैन भने जनताले उत्पादन गरेका चिजहरु सहज रुपमा अन्यत्र लैजाने, बिक्री गर्दा हुने कठिनाईलाई मध्यनजर गरेर कृषि सडक पनि बनायौं भने पककैपनि कृषि क्रान्ति हुने र जनता पनि धेरैभन्दा धेरै आर्कषित भएर खेती गर्छन् । बाटो राम्रो भयो भने आफ्नो उत्पादन भएको चिज सहज रुपमा बिक्री वितरण गर्न सक्नुहुन्छ भन्ने उद्धेश्यले कृषि सडकको अवधारणा ल्याएका छौं । प्रशासकीय कुरामा सुधार ल्याउनको लागि डिजिटल पालिका नै बनाउने उन्मुखमा बैजनाथ गाउँपालिका छ । हामीले एकिकृत सूचना केन्द्र, सेवाग्राही कक्ष सञ्चालनमा ल्याएका छौं । बिद्यालयलाई डिजिटल माध्यमबाट जोड्न खोजेका छौं । बिद्यार्थीले अब स्मार्ट बोर्डबाट पढ्नुपर्छ ।
नयाँ-नयाँ सोच ल्याएर प्रविधी अनुसार बिद्यालयलाई जोड्दैछौं । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलाई विशेष जोड दिएका छौं । किनभने ७० प्रतिशत बैजनाथका नागरिकहरु कृषि र पशुपालन पेशामा आवद्ध हुनुहुन्छ । विशेषगरी बैजनाथको आर्थिक समृद्धि ल्याउनु छ भने कृषिलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हिसाबले पनि किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको अवस्था छ । यस्तै धेरै कामहरु छन् । पर्यापर्यटनलाई जोड्न बैजनाथको कन्वा तालको विकासका लागि हामीले डिपिआर गरिसकेको अवस्था छ । यसलाई पर्यटकीय गन्तब्य बनाउने हो । यसलाई चराचुरुंगीको बासस्थान बनाएर सयौं किसिमका जलचर चराहरु आयो भने त्यो हेर्नको लागि पनि एउटा माध्यम त्यसलाई बनाएर अन्यत्र होटल ब्यवसाय, होमस्टे, रिसोर्ट सञ्चालन गर्न सकियो भने त्यहाँका युवाहरुले पनि रोजागरी पाउने र आर्थिक आम्दानी पनि हुन सक्छ । गाभर होमस्टेलाई अझै ब्यवस्थित गर्ने । बैजनाथ–६ को बोटानिकल पार्कलाई पनि ब्यवस्थित गर्ने भन्ने हाम्रो दिर्घकालिन योजना छ । अर्को कुरा खेलकुद र युवालाई जोड्नुपर्छ भनेर लालपुर खेल मैदानलाई थप ब्यवस्थित गर्दै बहुआयामिक कबर्डहल बनाएर बैजनाथ गाउँपालिकाको खेलकुद हवको रुपमा विकास गर्ने योजना छ ।
कार्यक्षमता मुल्यांकनमा बैजनाथ बाँकेको दोस्रो पालिका भयो । के के कुरामा सुधार ल्याएपछि दोस्रो हुन सम्भव भएको हो ?
हामीले सेवा कसरी दियौं भन्ने यसको मापदण्ड हुन्छ । दिगो विकास लक्ष्य अनुसार जुन सूचकहरु हुन्छ, यो सूचकलाई पनि आधार मानिन्छ । महिला, बालबालिका, जेष्ठ नागरिकको सवालमा हामीले के गर्यौं ? लक्षित समुदायलाई हामीले के काम गर्न सक्यौं ? बालबालिका, खेलकुदमा के काम गर्यौं ? किशोर किशोरीलाई के गर्यौ ? शिक्षामा भने अनुसारको खर्च गर्न सक्यौ कि नाई ? राज्यको कानुनले दिए अनुसार हामीले काम गर्यौं कि नाई ? स्वास्थ्य, शिक्षा, कृषिमा, प्रशासकीय सुधारमा के के गर्यौं ? भौतिक पुर्वाधारका काम समयमै सम्पन्न गर्यौं कि नाई ? सरकारले दिएको बजेट हामीले खर्च गर्न सक्यौं कि नाई ? भन्ने खालका धेरै आधारहरु हुन्छन् । यि आधार पुरा गर्नमा जनप्रतिनिधीको पनि ठुलो भूमिका हुन्छ । प्रशासनको पनि ठुलो भूमिका हुन्छ । समयमै ठेक्का खुल्नुपर्यो, समयमै कामको फाईल अगाडी बढाईदिनुपर्यो । विषयगत शाखाका जुन योजना छुट्याइएको हुन्छ, ति योजनाहरुको हामीले मासिक समिक्षा, छलफल, अन्तरक्रियाबाट भएको हुनाले हामी सफल भएका हौं ।
जनताका काम गरिरहँदा समस्या र चुनौती कस्ता आउँछन् ?
जनताका काम गर्दै गर्दा समस्या आउँछन् । समस्या र चुनौती आयो भन्दैमा पछि हट्नु पर्दैन । कति गर्न सक्ने भन्ने कुरा हामीले दिने हो । जनताका आवश्यकता असिमित हुन्छन् । त्यो आवश्यकता हामीले पुरा गर्न सक्ने कि नसक्ने भन्ने खालको बजेटले निर्देशन गर्ने हो । बजेट अनुसार हामीले जति सक्दो पुरा गर्ने हो । जनतालाई चाहिने रोजगारी, विकास, शिक्षा सम्बन्धी छात्रवृत्तिका छन्, स्वास्थ्यमा निःशुल्क उपचारका कुरा छन् । विशेषगरी िजोडिएको त्यही हुन्छन् । हामीले कति पुरा गर्न सक्ने भन्ने कुरा हामीले भ्याउने कुरा हामीले गरिरहेका छौं । नभ्याउने कुरा संघ र प्रदेशमा गएर पनि माग पुरा गर्ने प्रयास गरेका छौं । धेरै काम हामीले गरेको हुनाले हामी सफल भएका छौं । तर, समस्या र चुनौती आउँछन् । हामीले समस्या मान्ने हो भने केही गर्न सकिदैन । समस्या र चुनौतीको सामना गरेर अगाडी बढ्नुपर्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीका लागि एसी सहितको सेवाग्राही भवन निर्माण गर्नु भएको छ । यो कस्तो खालको संरचना हो ?
हामीले यसलाई सेवाग्राही कक्ष र प्रतिक्षालय भनेर दुबै जोडेका छौं । सेवाग्राही आउनु हुन्छ, प्रशासकीय भवनमा बस्ने ठाउँ हुदैन । सेवाग्राही पनि ब्यवस्थित रुपले बस्नुपर्यो । कामका लागि आउनु हुन्छ भने उहाँहरु पनि पालैपालो आईदिनुपर्यो भन्ने खालको कुरा ब्यवस्थापन गर्न खोजेको हो । अर्को कुरा एकिकृत सेवा केन्द्र भनेको जुन किसिमका कामहरु भईरहेका छन् । हामीले समय दिन सक्यौं कि नाई ? जनताको फाईल कहाँ छ भन्ने कुराहरु ।
जनतालाई सचेत गराउने । जनताहरु आउनु हुन्छ । अनलाईन सिस्टमबाटै उहाँहरुको फाईल दर्ता हुन्छ । भुक्तानीका लागि आउनु हुन्छ भने अनलाईन सिस्टमबाट नै दर्ता हुन्छ । यहाँ एक जना प्रशासनको र अर्को दर्ता फाँटको कर्मचारी बस्नुहुन्छ । अरु दुई जना कार्यालय सहयोगी बस्नुहुन्छ । जति सार्वजनिक खरिदका कुरा देखी लिएर ठेक्काको कुरादेखी लिएर भुक्तानी सम्बन्धी कुरा जतिपनि भईसकेका कुरा छन् । सेवाग्राही कक्षबाट फाईल प्रशासनले रुजु गर्छ, रुजु गरेर केही मिलेको छ कि छैन भनेर हेरिन्छ । केही नमिलेको भए फाईल सच्याएर ल्याउनु हुन्छ ।
टोकन सिस्टम हुन्छ । जनताले स्मार्ट बोर्डमा हेर्नुहुन्छ । विभिन्न शाखालाई इन्टरनेटबाट जोडेका छौं । जनताको फाईल कहाँ पुग्यो भनेर त्यहाँ सिस्टमले देखाउँछ । हामीले टोकन राखेका छौं, त्यही टोकनलाई ल्याएर उत्तम, राम्रो, ठिकै र नराम्रो भनेर मुल्यांकन गर्न सुझाव पेटिका राखेका छौं । सेवाको मुल्यांकनका आधारमा हामीले कर्मचारीलाई सुधार गर्न लगाउँछौं । जनतालाई दुःख नदिऔं, समयमै जनताको काम होस् भनेर यो सिस्टम ल्याएका हौं । यसले धेरैलाई नियन्त्रण गर्छ । जनताले सहज रुपमा आफ्नो काम गराएर घर जानुहुन्छ ।
अब अन्त्यमा, बैजनाथको समृद्धिका निम्ति गाउँपालिका बाहेक अरु क कसको भूमिका देख्नुहुन्छ ?
यहाँ सबैको भूमिका चाहिन्छ । सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक छ । सबैका सुझाव लिएर अगाडी बढ्नुपर्छ । राजनीतिक दल, नागरिक समाज, पत्रकार, शिक्षक, ब्यापारी, किसान सबैको सुझाव चाहिन्छ । विभिन्न समुदायको संस्था र समिति छन् । सबैको भूमिका आवश्यक छ । बुझेको कुरा हामीले गर्ने हो, नबुझेका कुरा उहाँहरुले सुझावका रुपमा दिनु भयो भने त्यो अनुसार हामी जान सक्यौं भने अझै राम्रो गर्न सकिन्छ । त्यसैले सबैको भूमिका समान हुन्छ । सबैले सहयोग गर्नु भयो भने बैजनाथलाई समृद्ध बनाउन सकिन्छ ।