राप्ती सोनारी गाउँपालिकाले विगतका वर्षझै आर्थिक वर्ष २०८१/०८२ मा पनि उल्लेख्य मात्रामा योजना तथा कार्यक्रम गरेको छ । गाउँपालिकाले विकास र समृद्धिका निम्ति गरेका कामको हालै वार्षिक समिक्षा समेत गरिसकेको छ । समग्र रुपमा आर्थिक वर्ष २०८१/०८२ को अनुभव कस्तो रह्यो त ? यसै विषयमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलसँग अर्जुन ओलीले गरेको विशेष संवाद :-
जनताको काम गरिरहँदा यहाँलाई कस्तो अनुभुति भइरहेको छ ?
जनताको काम गरिरहँदा खुसी लागिरहेको छ । आनन्द लागिरहेको छ । अधिकतम समय सार्वजनिक जीवन जिउनको निम्ति, सार्वजनिक काम गर्नको निम्ति छ । जनताले जुन विश्वास गरेर २०७९ बैशाखको निर्वाचन जिताउनु भयो । त्यसमा खरो उत्रिने प्रयत्न गरिरहेको छु । राप्ती सोनारी गाउँपालिकाका नागरिकको विश्वास जित्नको निम्ति कोशिस गरिरहेको छु । जनताको बीचमा आफुलाई पाउँदा आनन्दित महसुस हुन्छ ।
गाउँपालिकालाई समृद्धिसँग जोड्न के, कस्ता कामहरु भएका छन् ?
राप्ती सोनारी गाउँपालिकाको समृद्धिका निम्ति, जनतालाई आर्थिक विकासको समृद्धिमा जोड्नका निम्ति हामीले उद्यम, कृषि, पर्यटन, क्षमता अभिवृद्धि देखी लिएर थुप्रै कार्यक्रम गरेका छौं । उद्यम, पर्यटन, रोजगारका कार्यक्रमहरु हामीले समन्वय र सहकार्यमा गरिरहेका छौं । समृद्धिका निम्ति कृषिमा, आर्थिक विकासका क्षेत्रहरुमा हामीले काम गरिरहेको अवस्था छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कस्ता कामलाई प्राथमिकतामा राख्नुभयो ?
हामीले शिक्षा क्षेत्रको पुर्वाधार विकास गर्नेदेखी लिएर स्वास्थ्यको पुर्वाधार, सडक सञ्जाललाई विस्तार गर्ने कामहरु गरेका छौं । सँग–सँगै हाम्रो दक्ष जनशक्तिको क्षमता अभिवृद्धि गर्ने काम गरेका छौं । सडक सञ्जाल बिस्तार गरेका छौं । हामीले स्वास्थ्यमा पनि काम गरेका छौं । शिक्षामा पनि हामीले काम गरेको अवस्था छ । उत्पादन गर्नका निम्ति कृषि रणनीति देखी लिएर खाद्य सुरक्षा रणनीतिलाई योजनावद्ध ढंगले हामीले कृषिमा काम गरेको अवस्था छ ।
पुर्वाधार निर्माणका कामहरु के-कस्ता भएका छन् ?
पुर्वाधार निर्माणका कामहरुमा सडक बिस्तार हामीले गरेका छौं । राप्ती सोनारी अस्पतालको १५ शैयाको अस्पताललाई पूर्णता दिइएको छ । राप्ती सोनारी गाउँपालिकाको कोल्ड स्टोरमा ठेक्का लागिसकेको अवस्था छ । यसअघि कामले तीब्रता पाएको थिएन । हामीले चिस्यानलाई पूर्णता दिएर यही आर्थिक वर्षमा सञ्चालन गर्ने हाम्रो कार्यक्रम छ । सँग–सँगै पुर्वाधारतर्फ हामीले जोड गरेका छौं भने भूमितर्फ पनि हामीले यो आर्थिक वर्षमा लालपुर्जा बाँड्छौं ।
राप्ती सोनारीको शिक्षा, स्वास्थ्य र कृषिमा कत्तिको सुधार आएको पाउनु भएको छ ?
शिक्षा, स्वास्थ्य र कृषिमा धेरै कार्यक्रम छन् । स्वास्थ्यमा लाभाम्वित हुनु भएको छ । जेष्ठ नागरिकदेखी लिएर अशक्त, अपांगताहरुको शारिरीक लेखाजोखा कार्यक्रम देखी हाम्रा आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुबाट, खोप सेवा बिस्तार कार्यक्रमहरुबाट, सर्ने/नसर्ने रोगहरुमा अन्य रोगहरुका बारेमा हामीले विशेषज्ञ सेवा पनि दिइरहेको अवस्था पनि छ भने सँग–सँगै सुत्केरीहरुलाई सेवा प्रदान गरिरहेको अवस्था छ ।
स्वास्थ्यका थुप्रै क्षेत्रहरुमा पुर्वाधारका पनि काम गरेका छौं । बर्थिङ सेन्टरबाट पनि हामीले सेवा प्रदान गरिरहेका छौं । ल्याब सेवा पनि बिस्तार गरिरहेको अवस्था छ । यस्तै शिक्षामा गुणस्तरीय शिक्षादेखी लिएर शिक्षा भित्रको तराईको बिद्यालयमा टिनलाई परिवर्तन गरेर जिप्सन लगाउने, बिद्यालयमा पिउने पानी र शौचालयको ब्यवस्थापन गर्ने, शिक्षक दरबन्दी नभएको बिद्यालयमा करार शिक्षकहरुको ब्यवस्थापन गरिरहेको अवस्था छ । यसैगरी कृषिमा अहिले माटो परीक्षणदेखी प्राविधिक क्षमताको तालिम र कृषिलाई अहिले ब्लक जोन पकेटको कार्यक्रम । किसानहरुलाई प्रविधिमैत्री बनाउने । किसानहरुलाई अनुदानका कार्यक्रमहरुमार्फत हामीले कृषिमा परिवर्तन गरिरहेको अवस्था छ ।
गाउँपालिकामा सुशासन कायम गर्नका निम्ति के–कस्ता प्रयास भएका छन् ?
गाउँपालिकामा सुशासन कायम गर्नका निम्ति सेवाको गुणस्तर र प्रभावकारिता देखी लिएर हामीले गाउँपालिकाको मात्रै होईन, वडा कार्यालयदेखी गाउँपालिकाले सेवा प्रदान गर्ने कुराहरुको सार्वजनिक सुनुवाई, सार्वजनिक जवाफदेहिता, संस्थागत पारदर्शितामा हामीले काम गरिरहेका छौं । सुशासनमा हामीले नीति, नियम, कानुन र संस्थागत अभ्यास गरिरहेको अवस्था छ ।
राप्ती सोनारी गाउँपालिका यो वर्ष वित्तिय सुशसनमा नेपालकै पहिलो भयो । कार्य सम्पादन मुल्यांकनमा बाँके जिल्लाकै पहिलो भएको छ । यो कसरी सम्भव भयो ?
हामीले नीतिगत सुधार गरेका छौं । आवश्यक कानुन, मापदण्ड, निर्देशिका तयार गरेर हामीले काम गरेका छौं । हाम्रा आवधिक विकास योजनाहरु मार्फत योजनावद्ध तरिकाले काम गरिरहेका छौं । वित्तिय सुशासन सबैभन्दा ठुलो कुरा हो । यसको आर्थिक पारदर्शितासँग जोडिएर हामीले काम गरिरहेको अवस्था हो । सँँग–सँगै कुरा के रहन्छ भने खोजेका सूचकहरु, हामीले के गर्र्यौ, कसो गरर्यौ भन्दापनि संघिय सरकारको कुनै निकायले यसको मापदण्ड निर्धारण गर्छ, मुल्यांकन निर्धारण गर्दछ । उसले खोजेको सूचकका आधारमा मुल्यांकन गर्र्यौ ।
मुल्यांकनमा कुन स्थान हासिल गर्र्यौ, त्यो अलग कुरा हो । तर, हामीले हाम्रो काम गरेका छौं । अर्को कार्यसम्पादनको कुरा, नागरिकको काम समयमै सम्पन्न गर्ने, योजनाहरुलाई समयमै सम्पन्न गर्ने हाम्रो जिम्मेवारी हो । वित्तिय सुशासनको कुरा गर्दाखेरी यसको आर्थिक पारदर्शिता, जवाफदेहितासँग पनि जोडियो । थोरै रकममा हामीले धेरै गुणस्तरको काम पनि गरेका हौंला । त्यो सूचकमा गाउँपालिकाले स्थान हासिल गरेको होला ।
राप्ती सोनारी आन्तरिक स्रोतमा धनी गाउँपालिका मानिन्छ । स्रोतको संरक्षण र सम्वद्र्धन कसरी भईरहेको छ ?
राप्ती सोनारी गाउँपालिकाको प्राकृतिक स्रोत नदीजन्य र काठको कुरा हो । हामीलाई काठबाट त्यति आम्दानी आईरहेको अवस्था छैन । किनभने यसको कानुन नै झण्झट भएको अवस्था छ । नदीजन्यको ब्यवस्थापन गर्नु नै राप्ती सोनारी गाउँपालिकाको चुनौती हो । नदीजन्य स्रोत बाहेक यहाँ न मालपोतको कर त्यति धेरै उठ्छ, न उद्योग, कलकारखाना, ब्यवसायिक करहरु, अन्य कुराहरु यहाँ छैन । त्यसकारण यसको चुनौती छ । यो पटक हामीले सम्वेदनशिल तरिकाले हामीले ब्यवस्थापन गरेर, त्यसको अध्ययन गरेर राजश्व सुधर कार्ययोजना मार्फत हामीले काम गरेको अवस्था छ ।
आन्तरिक स्रोतको वातावरणीय प्रभाव मुल्यांकन परिक्षण गरेर काम गरिरहेको अवस्था पनि छ, भने यसको ब्यवस्थापन नीतिगत कामहरुमा कानुनी झण्झटिलोमा यसका चुनौतीलाई हामीले चिर्दै हामी अगाडी बढेका छौं । यो सँग समन्वय, सहकार्य, गृह प्रशासनदेखी लिएर गरिरहेका छौं । यसमा सबैको सहयोग हुन्छ । यो नदीजन्य पदार्थ राप्ती सोनारी गाउँपालिकाको ठुलो चुनौतीको ब्यवस्थापन हो र आम्दानी पनि हो । कुँबेरको भण्डार त रितिन्छ भने राप्ती सोनारी गाउँपालिकाको भण्डार नरितेला भन्ने कुरा छैन । सबै नागरिक, राजनीति दल, प्रशासनका मान्छेहरु सबैसँग मेरो आग्रह के छ भने हामीले हरेक गलत कुराको बिरोध गरौं ।
सजिलो पैसा कमाउने माध्यम नदीजन्य बनेको छ । यसले गर्दा यसको ब्यवस्थापन गर्न एक्लै सकिदैन । यो साझा सूचीको अधिकार पनि भएका कारणले अनुगमन गर्ने, पत्राचार गर्ने, जिल्ला समन्वय समिति, प्रदेश सरकार अथवा गृह प्रशासन, तर यसको नियमन गर्ने कुराहरुमा, यसको निरीक्षणा गर्ने कुराहरुमा समन्वय र सहयोग नभईदिएको कारण हामीलाई अलिकति आन्तरिक चुनौती भएको छ । यसका बाबजुद पनि हामीले काम गरिरहेका छौं ।
सबैभन्दा नजिकको सरकार । जनताले छाम्दा भेटाउन, बोल्दा सुनिने ठाउँ पनि हो । स्थानीय सरकारप्रति जनताको आशा र अपेक्षा कस्तो पााउनु भयो ?
नागरिकका सिमित आवश्यकता छन् । नजिकको सरकार, भेटाउने सरकार, देखिने, बुझिने, अनुभुति गर्ने सरकार चाही स्थानीय सरकार हो । अरु त टिकटकमा रमाउने प्रतिनिधी मात्र हुन् । जो हुन्, उहाँहरुको विकास भनेको सामाजिक सञ्जालमा, फेसबुकमा मैले यति बजेट हाले, भनेर भन्ने हो । नभए कार्यकर्तामार्फत हालेको अवस्था छ । तर, त्यो हालेको कुराले के विकास भएको छ त ? प्रदेश सरकार र संघ सरकारको समन्वय र सहकार्य, गाउँपालिकाको प्राथमिकताको योजनामा बजेटिकरण नगरिदिने, पछाडी लागेका कार्यकर्ताहरुलाई सन्तुष्ट बनाउने तरिकामा अथवा प्रदेशमा अथवा संघमा मेरो मन्त्री छ, मेरो पार्टीको सरकार छ भनेर अमुख कुनै नेताले म बजेट हालिदिन्छु अथवा कुनै कार्यालयको प्रमुखले बजेट हालिदिएको भरमा यसरी विकास चाही हुदैन ।
यो च्यालेन्ज अहिले लुम्बिनी प्रदेश सरकारले जसरी बजेट विनियोजन गरेको छ, कार्यक्रम बनाएको छ, यसले राप्ती सोनारी गाउँपालिकालाई कुनै उपलब्धी गरेको छैन । संघ सरकारले कुनै प्राथमिकतामा राखेको अवस्था पनि मैले देखेन । पालिकाको आवधिक विकास योजना छ । पालिकाको ‘पि–वान’, पि–टु’ को कार्यक्रमहरु छ । तर, पालिकाको कार्यपालिका बैठकले आवधिकत विकास योजनाको आधारमा सिफारिस गरेको छ । सम्पूरक कार्यक्रमहरु । अन्य कार्यक्रमहरु माग गरेको छ । त्यो भन्दा पृथक कुनै पार्टीको कार्यकर्ताको पहुँच बढी भएका भरमा लुम्बिनी प्रदेश सरकार र संघिय सरकारले कार्यक्रम हालेका छन् ।
यसरी हामीले कार्यपालिकाको बैठकमा हामी झगडा गरेर बस्नुपर्ने, हामीले स्थानीय स्तरमा नागरिकको तारो बन्नुपर्ने, अरुले गफ लगाएर फुर्ति लगाएर, मैले यति हाले भनेर खादा, माला अथवा फेसबुकमा नाच्नुपर्ने अवस्था मैले चाही देखिरहेको मैले देख्छु । यो मेरो आरोप होईन । प्रमाणित कुरा हो । बस्ती स्तरका योजनाहरु वडास्तरबाट, टोल विकासबाट आउँछन् । मान्छेहरु सरकारी पैसाको काम गरेर खर्च टार्ने कुराहरुको धन्दाको कारणले अलि बढी हामी चाही आक्रोशको तारो भएका छौं । यसका बाबजुद पनि राप्ती सोनारी गाउँपालिकाको जनप्रतिनिधी, कर्मचारी साथीहरु थोरै पैसामा सिंचाईदेखी लिएर कृषि देखी लिएर शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटनमा हामी काम गरिरहेका छौं र हामी काम गर्न चाहन्छौं ।
त्यसकारण कहिले काही अलिकति बढी हामीले माया पनि पाईरहेका छौं र मायाभन्दा बढ्ता आक्रोश, पीडा, कुण्ठाको कारणले गर्दा कहिले काही अति शक्ति भएर गाली खानु स्वभाविक कुरा पनि हो । तर, पद्धतिमा विकास गर्नका निम्ति, पद्धति बमोजिम भिड्नका निम्ति एउटा संस्थागत पद्धति, संस्थागत विकास गरेर सिस्टमले हिड्दाखेरी कतिपयलाई अपच होला । तर, सबैले सरल तरिकाले खोज्नुहुन्छ, त्यसले हुदैन । किनभने प्रक्रिया पुग्नुपर्छ, कानुन पुग्नुपर्छ । योजना माग गरेको अवस्था हुन्छ । लाभाम्वित वर्ग खोज्छ, लाभाम्वित जनसंख्या खोज्छ, यि सवालहरुमा काम गर्नलाई अलिकति गाह्रो भएको हुनाले नागरिकहरुको माया पाउनुको साथ साथै नागरिकहरुको त्यति धेरै आलोचना त होईन, तर कहिलेकाही देखिन्छ । त्यो आलोचना आक्रोश, पीडा र कुण्ठाको आलोचना हो ।
संघ र प्रदेश सरकारबाट बार्षिक रुपमा आउने अनुदानको अवस्था कस्तो छ ?
संघ र प्रदेश सरकारबाट वार्षिक रुपमा आउने कार्यक्रम खस्किदोँ छ । किनभने संघले समपूरक बजेट पठाएको छ, एक करोठ चार लाखमा त्यसले के बन्ने ? ७५ लाख टुक्र्याएर पठाउँछ, त्यसले के बन्ने ? समानिकरण अनुदान पूर्णता आउँदैन । प्रदेश राजश्व बाँडफाँड पूर्णता आउँदैन । यहाँ विकासका योजनाहरु तय गर्छौ, बजेट विनियोजन गर्छौ अनि पैसा नआईदिदाँखेरी हाम्रा कार्यक्रमहरु प्रभावित हुन्छन् । जसले गर्दा अझ बढी आक्रोश बढ्छ । संघको सुरक्षित नागरिक आवास कार्यक्रम, २०७१ सालमा आएको बाढीको पैसा अहिलेसम्म शहरी विकास मन्त्रालयले छुट्याईदिएन । सदनमा सबै असन्तुष्ट भएको अवस्थामा पालिकाको के कुरा गर्नु ? सत्तापक्षकै सांसद र मन्त्रीको आलोचना गरिरहेको अवस्थामा संघको कार्यक्रमले के विकास हुने, प्रदेशका कार्यक्रमले के विकास हुने ?
गाउँपालिकाको विकास र समृद्धिका लागि दिर्घकालिन योजना के छ ?
गाउँपालिकाको हामीले पञ्चवर्षिय योजना बनाएका छौं । गाउँपालिकाको दिर्घकालिन योजना तयार गरेका छौं । गाउँपालिकाको केन्द्रदेखी लिएर वडा केन्द्रहरुमा सडक सञ्जाल बिस्तार गर्ने, वडा केन्द्रदेखी लिएर टोलहरुसम्म हामीले सडक विस्तार गर्ने, आवश्यक परेका ठाउँहरुमा श्रोत साधनको क्षमतामा विस्तार गर्ने, दक्ष जनशक्ति तयार गर्ने, उद्यम, पर्यटन क्षेत्रको विकास गर्ने, धार्मिक होस् या सामुदायिक वनहरु छन्, निकुञ्जहरु छन्, यसमा आन्तरिक पर्यटनको विकास गर्ने । भाषा, कला, सँस्कृतिको हामीले विकास गर्ने, शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउने, कृषिलाई उत्पादनमा लैजाने र सहकारीमार्फत उत्पादन बढाउने हाम्रो कार्यक्रम छ । यिनै कुरा हाम्रो योजनामा छ । हामीले योजना बनाएका छौं ।
जनताको काम गर्दा समस्या र चुनौती कस्ता आउने गर्छन् ?
जनताको काम गर्दा समस्याहरु आएका छैनन् । समस्या अलि समन्वय र सहकार्यको हो । संघ र प्रदेश सरकारका श्रोत, साधन र क्षमताका अभावमा हामीले सेवा प्रदान गर्नुपर्नेछ । बिद्यालयहरु छन्, शिक्षक दरबन्दीको ब्यवस्था गर्न सकेका छैनौं । शिक्षा ऐन नआईदिदाँखेरी पढाईको गुणस्तरका कुराहरु छन्, पुर्वाधारका कुराहरु छन् । यिनै कुराहरुको समस्या छ । स्थानीय सरकारको केही जिम्मेवारी छन्, तर संघिय सरकारसँग पुर्वाधारको सहयोग पाइरहेको अवस्था छैन । कहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुन्छ कहिले बन्द हुन्छ ।
गतवर्ष हामीले करिव १२ वटा कक्षा कोठा निर्माण गरेका थियौं, भने अहिले ४/४ कोठाको दुई वटा बिद्यालयको लागि आएको छ । यसरी बजेट घट्दै आएको छ । बिद्यालयमा पिउने पानी, शौचालय, गुणस्तरका कुराहरु छन्, पर्याप्त शिक्षक दरबन्दीको ब्यवस्था छैन । बिद्यार्थी संख्या घटिरहेको छ । खाली बिद्यालय बनाईदेउ, कक्षा कोठा बनाईदेउ भन्ने माग छ । स्वास्थ्यमा सबैको पहुँच पुर्याउनको निम्ति आधारभुत स्वास्थ्य केन्द्रदेखी स्वास्थ्य चौकीको बिस्तार गरिरहेका छौं । हामीसँग १५ शैयाको अस्पताल छ । राप्ती सोनारी गाउँपालिकाले मेडिकल अफिसरदेखी कर्मचारी राख्नुपर्ने भएको छ ।
हामीलाई चुनौती छ, संघिय सरकारको कार्यक्रमलाई त संघिय सरकारले पूर्णता दिने हो नि । गाउँपालिकाले समन्वय गरिदिने हो, गाउँपालिकाले त्यो योजनाको संरक्षण, सम्वद्र्धन गर्ने हो । कार्यक्रम लाद्ने काम भएको छ । अहिले पनि संघियताको शक्ति विकेन्द्रीकरण नभएको अवस्थामा के को गाउँ–गाउँमा सिंहदरबारको कुरा गर्ने ? गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्ने हो, कर्मचारीको क्षमता अभिबृद्धि गर्ने हो । मन्त्रीहरु टोले नेता भईरहेको बेलामा, सांसदहरुले टोलमा मात्रै कार्यक्रम गरिरहेको बेलामा पालिकाका धेरै चुनौतीहरु छन् । स्थानीय जनताका अपेक्षाहरुमा खरो उत्रनुपर्ने हाम्रो यो नै चुनौती हो ।
अब अन्त्यमा, राप्ती सोनारीको समृद्धिको लागि यस क्षेत्रका क-कसको, के भूमिका देख्नुहुन्छ ?
राप्ती सोनारी गाउँपालिकाको समृद्धि र विकासमा सबै राजनीतिक दलहरुको सहयोगको आवश्यकता छ । नागरिक समाजको आवश्यकता छ । पत्रकार साथीहरुको पनि यहाँ सत्य, तथ्य के हो भन्ने कुरामा छ । भ्रमले पनि खेती गर्ने ठाउँ हो योा । अफवाहले पनि खेती ठाउँ हो । सत्य, तथ्य नबुझेर आलोचना मात्रै गर्ने प्रवृत्ती छ । राप्ती सोनारी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन प्राथमिकताका पुर्वाधारहरु हुन् । यि क्षेत्रहरुमा काम गर्नका निम्ति योजनावद्ध तरिकाले हिड्नुपर्छ । यसका निम्ति आवश्यक नीति, आवश्यक कानुन, आवश्यक योजना तर्जुमा गरेर अगाडी बढ्नुपर्ने अवस्था छ ।
यो सवालहरुमा जनप्रतिनिधीहरुलाई डोर्याउने, निर्देशन दिने राजनीतिक दलहरुको काम हो । राजनीतिक दलहरुको सकारात्मक सोच, नागरिक अभियानकर्मीको सोच नै स्थानीय सरकारले गरिदिनुपर्छ भन्ने छ । बाटोमा ग्राभेल, गिट्टी, बाटो खनिदिने, खानेपानीका निम्ति सडक नै काटिदिने कुराले हाम्रो विकास राम्रो देखिदैन । त्यसकारण, बाटो बन्दै गएको छ, पछाडीबाट बाटो बिग्रिदै गएको छ । बाटो बिग्रिनुमा नागरिकको जिम्मेवारी के त ? नागरिकको कर्तब्य के त ? गाउँपालिका अध्यक्षलाई गाली गरेर मुक्त हुने कुरा त होईन नि त । वडाअध्यक्षलाई भनेर हुने होईन नि । मेरो पनि जिम्मेवारी छ, मेरो पनि कर्तब्य छ भन्ने कुरामा पहिलो सकारात्मक सोचबाट गर्नुपर्छ र सकारात्मक ढंगबाट नै हामीले आलोचना गर्नुपर्छ । सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास र राप्ती सोनारी नमूना गाउँपालिका बन्छ ।