नेपालगन्ज : आगामी कात्तिक १४ र १५ गते दोस्रो ‘नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५’ आयोजना गर्ने तयारी भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले स्वीमिङ खेलको विकास र प्रर्वद्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको बिहीबार पत्रकार भेटघाट गरेर जानकारी दिएको हो । उक्त प्रतियोगितामा देशैभरका अण्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका करिब २ सय खेलाडीबीच प्रतिस्पर्धा गराइने क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए ।
प्रतियोगितामा अण्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् भने अण्डर १० उमेर समूहका खेलाडी र अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै अण्डर १२ र १४ उमेर समूहका खेलाडी बीच ५० र १ सय मिटर दुरीका विभिन्न इमेन्टमा प्रतिस्पर्धा हुनेछ । खुल्ला उमेर समूहमा २ सय र ४ सय मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्ट हुनेछन् ।
क्लबले प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीहरुले १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था आयोजक क्लबले मिलाउने क्लबका उपाध्यक्ष सुर्यमणि अधिकारीले बताएका छन् । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ र प्रदेश खेलकुद परिषद लुम्बिनीका पदाधिकारीहरु लगायतका अतिथीहरु सहभागी हुनेछन् ।
प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद लगायत विभिन्न ब्यापारिक प्रतिष्ठान, बैंक, अस्पतालका अतिरिक्त खेलप्रेमी, उद्यमी ब्यवसायीहरुले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिता आयोजना गर्न करिव १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।