काठमाडौं : बलरहरूको चामत्कारिक प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध २७ रनको सनसनीपूर्ण जित दर्ता गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि तीव्र गतिका बलर स्कट कुगेलेइनले घातक बलिङ गर्दै जितको आधार तय गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए ।
उनलाई अन्य बलरहरूले कसिलो साथ दिए। स्पिनर थारिन्दु रत्नायकेले ४ ओभरमा १२ रन, दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १५ रन, हेमन्त धामीले ३ ओभरमा १६ रन, इशान पाण्डेले ३ ओभरमा १९ रन र अनिल खरेलले १.५ ओभरमा १४ रन खर्चेर समान १-१ विकेट हात पारे ।
दुई ब्याटर रनआउटको सिकार बने । सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरको ब्याटिङ सुरुदेखि नै दबाबमा पर्यो । जनकपुरका लागि ओपनर त्रित राज दासले २९ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए भने जेम्स निसमले २५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे ।यस्तै पुछारका ब्याटर राहुल यादवले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन र ओपनर आदित्य महताले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
रायन बर्ल ८ रन, कप्तान हरमित सिंह ४ रन, ओपनर अनिल साह २ रन, विशाल सुस्लिङ २ रन, अभिषेक तिवारी २ रन र विदेशी ब्याटर ह्यारी टेक्टर १ रनमै पेभेलियन फर्किए । ललित राजवंशी ५ रनमा अविजित रहे। जनकपुरले अतिरिक्त ७ रन पाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सकेको थियो । सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनको इनिङ्स खेले ।
यस्तै आठौं नम्बरका ब्याटर थारिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडेका थिए ।यसबाहेक आरिफ शेखले ११, ओपनरद्वय विनोद भण्डारी र सेफ जेबले समान १०-१० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए ।
जनकपुरका लागि कप्तान हरमित सिंहले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए भने ह्यारी टेक्टरले ४ ओभरमा ९ रन दिएर १ विकेट हात पारेका थिए । राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिएका थिए ।