बाँके(डुडुवा) : डुडुवा गाउँपालिका कार्यालयमाथी उठाइएको प्रश्नप्रति जनता समाजवादी पार्टी(जसपा) सम्वद्ध वडाअध्यक्षहरुले आपत्ती जनाएका छन् । ‘जेन-जी’ आन्दोलनको आडमा एक अज्ञात समुहले गाउँपालिका कार्यालयको कागजातमा आगजनी गरेको थियो, भने अर्को समुहले कर्मचारीमाथी कुटपिट तथा दुब्र्यवहार गरेको घटना बाहिर आएको थियो ।
उक्त घटनापछि जसपाका नेता एवम् लुम्बिनी प्रदेश सांसद भण्डारीलाल अहिर, डुडुवा निवावसी प्रदेशका पुर्वमन्त्री विजयबहादुर यादव लगायतको समुहले गाउँपालिकाभित्र 'भ्रष्टाचार' भएको र 'रक्सीका बोतल' फेला परेको भन्दै बिरोध जनाइरहेको छ । तर, जसपा बाँकेका अध्यक्ष एवम् डुडुवा गाउँपालिकावडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसाद बर्मा, सोही पार्टीका तर्फबाट वडा नम्बर ३ का वडाअध्यक्ष आमोद कुमार तिवारी र वडा नम्बर ४ का वडाअध्यक्ष सगिर खाँले उक्त आरोप गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीमाथी 'प्रतिशोध' साँधेर आरोप लगाइएको जिकिर गरेका छन् ।
प्रदेश सांसद अहिर र वडाअध्यक्षहरु अशोक राई तथा ईस्तियाक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता हुन । पुर्बमन्त्री मोहम्मद ईस्तियाक राई उक्त पार्टीको महासचिव छन । *
गाउँपालिकाले दुई दिनअघि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा समेत हस्ताक्षर गरेका जसपाका वडाअध्यक्षहरुले गाउँपालिकालाई बद्नाम गरेर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने उद्देश्यले भण्डारीलाल अहिर र विजय बहादुर यादवको समुहले कपोकल्पित आरोप लगाएको बताए ।

जबरजस्ती गाउँपालिका कार्यालयको भान्सा कोठामा प्रवेश गरी बोरीभित्र मदिराका खाली बोतल बाहिरबाट ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडियोहरु भाईरल बनाएर पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको जसपा बाँकेका अध्यक्ष समेत रहेका वडा नम्बर २ का वडाअध्यक्ष बर्माले बताए ।
‘आन्दोलनको नाममा घुसपैठ गरी हाम्रो गाउँपालिकालाई बदनाम गर्ने निराधार आरोप लगाइयो,’ वडाअध्यक्ष बर्माले भने, ‘जहिलेदेखी नरेन्द्र चौधरीसँग दुबै जना (भण्डारीलाल र विजयबहादुर) चुनाव लड्नुभयो, त्यो दिनदेखी उहाँहरु नरेन्द्र चौधरीलाई पिछा गर्नु भएको छ र बेला-बेलामा भ्रमपूर्ण कुराहरु जनतामाझ फैलाउनुहुन्छ ।’ गाउँपालिकामा भ्रष्टाचार भएको कुरा बाहिर गरेर भन्दापनि पुष्टी हुनुपर्ने जसपाका उनीहरु बताउँछन् ।
यता पुर्वमन्त्री समेत रहेका जसपाका नेता अहिरले जेन-जी आन्दोलन चलिरहेका बेला गाउँपालिकामा आगजनी गरिएको र जनताले बोलाएपछि आफु घटनास्थलमा पुगेको दाबी गरेका छन् । ‘मैले कसैमाथी आरोप लगाएको छैन, जनताले बोलाएपछि म गाउँपालिकामा गएको हुँ,’ अहिरले दूरसञ्चारसँग भने, ‘बरु म माथी नै उहाँहरुले प्रतिसोध लिइरहनु भएको छ ।’
आफु वडाअध्यक्ष हुँदादेखी नै गाउँपालिका अध्यक्ष चौधरीसँग आफ्नो कुरा नमिलेको उनले स्वीकार गरे । जसपा पार्टीकै जिल्ला अध्यक्षसहित तीनै जना वडाअध्यक्षहरु तपाईले गाउँपालिका अध्यक्षमाथी लगाइरहेको आरोप झुट्टा हो, भनिरहेका छन् नि ? भन्ने प्रश्नमा सांसद अहिरले भने, ‘उनीहरु नरेन्द्र चौधरीको ईसारामा चलिरहेका छन्, यसमा मैले केही भन्नु छैन ।’

गत भदौं २५ गते राती करिव ८ः३० बजेतिर ८/१० जनाको समुहले कार्यालयमा तोडफोड गरी कागजात जलाएको र भदौं २६ गते फेरी अर्को उच्छृंगल समुह जेन–जीको आडमा गाउँपालिकाभित्र प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथी कुटपिट र उपस्थित भएका अन्य कर्मचारीमाथी दुब्र्यबहार गरेको जनप्रतिनिधिले संयुक्त विज्ञप्तीमा उल्लेख गरिसकेका छन् ।
यो पनि पढ्नुस् :
डुडुवा गाउँपालिकाले भन्यो, 'आन्दोलनको नाममा विपक्षीद्धारा भ्रामक प्रचार, कार्यालयको काममा असहज'