नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९८ औं जन्मजयन्तीको अवसरमा सेन्ट्रल सिटी अस्पताल नेपालगन्जमा पत्रकारको निःशुल्क मृगौला जाँच गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वयमा शनिबार पत्रकारको मृगौला जाँच गरिएको हो ।
पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष एवम् प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय गुप्ताको जन्मजयन्तीको अवसरमा हरेक वर्ष स्वास्थ्य परिक्षण लगायत विभिन्न कार्यक्रम गरिदै आएको छ । नेपालगन्जको सुर्खेतरोड स्थित अस्पताल परिसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा प्रमुख अतिथी एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले स्वर्गिय पत्रकार गुप्ताले पत्रकारितासँगै लोकतन्त्र, प्रजातन्त्र, सामाजिक न्यायका निम्ति योगदान पुर्याएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष, पुर्वमेयर विजय गुप्ताले आफ्ना पिता स्वर्गिय पन्नालालले जीवनभर पत्रकारितालाई नै आफ्नो मुख्य पेशा बनाएको स्मरण गरे । कार्यक्रममा वरिष्ठ युरो सर्जन एवम् स्वर्गिय गुप्ताका नाति डा. दिपेश गुप्ताले मृगौलाको सुरक्षा र अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले दिनरात पत्रकारिता कर्ममा खटिने पत्रकारको स्वास्थ्य अवस्था अत्यन्त संवेदनशिल हुने भएकाले निःशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्यक्रम विगतदेखी नै गर्दै आएको बताए । ‘गतवर्ष पनि हामीले स्वर्गिय पन्नालाल गुप्ताको जन्मजयन्तीको अवसरमा पत्रकारहरुको निःशुल्क मुटु जाँच गरेका थियौं, यसवर्ष मृगौला परिक्षण कार्यक्रम राख्यौं,’ उनले भने ।
कार्यक्रममा स्वागत गर्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले स्वर्गिय पत्रकार गुप्ता पत्रकारिता क्षेत्रका अथक योद्धा भएको बताए । नेपाली पत्रकारितामा स्वर्गिय गुप्ताको योगदान अतुलनीय रहेको उनको भनाई छ । पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारुले सञ्चालन गरेको कार्यक्रम उद्घाटनका क्रममा प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष अर्जुन ओली, वरिष्ठ पत्रकार विजय बर्मा, पत्रकार महासंघ बाँकेका सल्लाहकार प्रदिप वाग्ले, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, प्रतिष्ठानका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच स्वर्गिय गुप्ताको जन्मजयन्तीका अवसरमा पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानले मानव सेवा आश्रममा रहेका असहायहरुलाई भोजन गराएको छ । प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताका अनुसार हरेक वर्ष जन्मजयन्तीका अवसरमा आश्रममा भोजन गराउने गरिएको छ ।