नेपालगन्ज : नेपाली कांग्रेसको आगामी असोज ३ गतेबाट सुरु हुन लागेको १५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनदेखी केन्द्रिय महाधिवेशन सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने नेता तथा कार्यकर्ताले सुझाव दिएका छन् ।
नेपाली कांग्रेस बाँकेले शनिबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको जानकारी तथा छलफल कार्यक्रममा वडा, पालिका, क्षेत्र र जिल्ला स्तरका नेता तथा कार्यकर्ता, विभिन्न तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायतले यस्तो सुझाव दिएका हुन् । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिको संशोधित तालिका अनुसार असोज ३ र ४ गते गाउँ-नगर वडा अधिवेशन हुनेछ ।
यसअन्तर्गत ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ । यस्तै असोज ७ गते गाउँ–नगर अधिवेशन, असोज १० गते १ सय ६५ वटै क्षेत्रमा प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ । यसैगरी केन्द्रिय महाधिवेशन असोज १६, १७, १८ र १९ गते सम्पन्न हुनेछ ।
कांग्रेसको १५ औं महाधिवेशनका सन्दर्भमा पार्टी कार्यालयमा आयोजित उक्त छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, निर्वतमान जिल्ला सभापति किरण कोइराला, नेपाली कांग्रेस बाँके १५ औं अधिवेशनका मुख्य निर्वाचन अधिकृत बीरबहादुर रोकाय, डिएलए बाँकेका अध्यक्ष कपिलदेव शर्मा लगायतले निर्वाचनमा कार्यकर्ताको उत्साहजनक रुपले सहभागिता हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रम सञ्चालन जिल्ला सचिव सुधान्सु कोइरालाले गरेको कांग्रेस बाँके पार्टी कार्यालयका सचिव अमृत कँडेलले जानकारी दिएका छन् ।