नेपालगन्ज : नेपाली कांग्रेसका पुर्वउपसभापति बिमलेन्द्र निधीले पार्टीको आसन्न नियमित १५ औं महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस संस्थापन इतर(देउवा) पक्षले आगामी मंसिरमा आफ्नो नियमित १५ औं केन्द्रिय महाधिवेशन काठमाडौंमा गर्दैछ । देउवा पक्षले आसन्न मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुल्ला मञ्चमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
१५ औं नियमित महाधिवेशन अन्तर्गत बाँके जिल्ला अधिवेशनको नेपालगन्जमा बिहीबार उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका नेता निधिले सर्बोच्च अदालतबाट आफ्नो पक्षमा फैसला आउने र शेरबहादुर देउवाले नै पार्टीलाई एकतावद्ध गरेर अगाडी लैजाने बताए । उनले आसन्न स्थानीय र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई पनि आफ्नो पक्षले नै टिकट बाँड्ने दाबी गरे ।
नेता निधिले २०८२ फागुन २१ मा निर्वाचित प्रतिनिधि सभा सांसदको पदावधि सकिएपछि आगामी २०८७ मा हुने संसदिय निर्वाचनको पनि तयारीमा पनि लाग्न पनि आग्रह गरे । नेपाली जनताले आफैले बनाएको देशको संविधान अहिले अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताउँदै पुर्वउपसभापति निधिले संविधानको रक्षामा पनि लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

यस्तै विशिष्ट अतिथी एवम् कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनपछि नै नेपाली कांग्रेस क्षत्-विच्छेद अवस्थामा पुगेको बताए । ‘आज हामीलाई क्षत् विच्छेद बनाइएको छ, केही साथीहरुले विशेष महाअधिवेशन गर्नुभयो, कांग्रेस बदल्छौं भनेर लाग्नुभयो, अबकी बार गगन सरकार भनेर चुनावमा जानुभयो, तर परिणामले गगन थापाको नेतृत्व क्षमतालाई फेल गरायो,’ पुर्वमन्त्री साउदले भने । विशेष महाअधिवेशन भन्दा अगाडी जस्तोसुकै परिस्थितीमा पनि कांग्रेसको यस्तो दुर्दशा नभएको उनको बुझाई छ ।
अधिवेशनको उद्घाटन शत्र १५ औं नियमित महाधिवेशन तयारी समिति बाँकेका संयोजक कृष्णबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटन शत्रमा पार्टीका नेता एवम् लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरी, नेता गुरु बराल, कांग्रेस बाँकेका पुर्वसभापति एवम् पुर्वमन्त्री गजेन्द्रबहादुर हमाल, नेता हुर्मत न्यौपाने, निरन्जनसिंह सिजापति, लुम्बिनी प्रदेशकी सांसद माया पुनमगर, माधवराम खत्री, निरज चलाउने, कृष्ण बिके रसाईली लगायतले सम्बोधन गरेका थिए । अधिवेशन उद्घाटन शत्रमा युवा नेता रामबहादुर मल्लले स्वागत गरेका थिए ।
