बाँके (खजुरा) : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टी सभापति गगन थापा विरुद्ध भएको षडयन्त्रको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित बाँके क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यसमिति, प्रदेश सभा 'क' र 'ख' कार्यसमिति र लुम्बिनी प्रदेश प्रतिनिधिको सपथ ग्रहण समारोह तथा शुभकामना-आदान प्रदान कार्यक्रमलाई बिहीबार खजुरामा सम्बोधन गर्दै उनले पार्टीका केन्द्रिय सभापतिमाथी भईरहेको षडयन्त्रको प्रतिवाद गर्नुपर्ने बेला आईसकेको प्रष्ट्याए ।
‘अरु पार्टीको भन्दा गगन थापा राजनीतिको मियो हुनुहुन्छ, अहिले गगन थापामाथी जुन आरोप लगाइएको छ, यो षडयन्त्र हो,’ उनले भने, ‘हामी जे कुरा हामी गर्नुपर्छ, त्यो गर्दैनौं । प्रतिवाद गर्ने हाम्रो चलन छैन, पार्टी सभापति गगन थापामाथी भएको षडयन्त्रविरुद्ध आफ्नो ठाउँबाट तपाईहरु प्रतिवाद गर्नुस् ।’ कांग्रेसले विशेष महाधिवेशन गर्दा कतैपनि सेटिङ नगरेको प्रदेश सभापति पुनले दाबी गरे ।

‘के कारणले १८ करोडको कुरा अहिले आईरहेको छ ?’ उनले प्रश्न गरे, ‘त्यही मान्छेले कहिले गगन थापासँग, कहिले शेरबहादुर देउवासँग गरेको भनेर आईरहेको छ, विशेष महाधिवेशनमा कांग्रेसले कतैपनि सेटिङ गरेको छैन, नीतिगत रुपमा आफ्नो कुरा राख्ने काम भएको होला, तर सेटिङ भएको छैन ।’ निर्वाचन आयोगको परिधि अनुसार आफुहरुले पार्टीको विशेष महाअधिवेशन गरेको उनले जिकिर गरे ।
विगतमा प्रधानमन्त्रीले सेनापतिलाई चलाउँदा के परिणाम आएको थियो, अहिले त्यही परिस्थिती निम्तिएको बताए । ‘प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, साना साना कुरामा तपाईले जुन काम गरिरहनु भएको छ, त्यसले तपाईलाई फाईदा गर्दैन, तपाईले सबै पार्टीलाई संरक्षण गर्नुपर्छ, जनताको संरक्षण गर्नुपर्छ, नेपालको संविधान अनुसार तपाई चल्नुपर्छ ।’
उक्त कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाँकेका सभापति केशवबहादुर शाहको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पार्टीका नवनिर्वाचित केन्द्रिय सदस्यहरु दिपनकुमार श्रेष्ठ, सुधान्शु कोइराला र सिता काफ्ले, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेस नेता बादशाह कुर्मी, मोहम्मद नक्की खाँ लगायतले बोलेका थिए ।
