नेपालगन्ज : कमला चौधरीको मुखमा न अन्न छिरेको छ, न त रातमा राम्ररी निन्द्रा नै परेको छ । भोटेकोसीमा आएको बाढी पश्चात श्रीमान श्याम बहादुर थारु एक्कासी सम्पर्क बनेपछि श्रीमती कमला विक्षिप्त अवस्थामा छिन् ।
बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित खोकरी निवासी श्यामबहादुर गत बुधबार भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका हुन् । उनी रसुवामा रहेको एक जलविद्युत आयोजनाको काममा मजदुरी गर्दै आएका थिए ।
विनाशकारी बाढीले बगाएर ल्याएका शवहरु ठाउँ-ठाउँमा भेटिएपछि श्रीमानको खोजीका लागि जेठाजु र भाईलाई कमलाले चितवनसम्म पठाईन् । तर, त्यहाँ पुग्दा श्यामको न शास, न त लास भेटियो ।
अवस्था कतै पत्ता नलागेपछि त्यहाँबाट पविारका सदस्य तथा आफन्तहरु निराश भएर घर फर्किए । अहिले घरमा रहँदा पनि परिवारका सदस्यले श्यामको मोबाईलमा दिनहुँ फोन गरिरहेका छन्, तर उनको मोबाईल निरन्तर बन्द अवस्थामा छ ।
परिवारका कुनै सदस्यको मोबाईलमा घण्टी बज्दा पनि श्यामबहादुरकै सम्झनाले सताउँछ । अहिलेसम्म श्रीमानको श्वास वा लास हामीले केही पाएनौं,’ कमलाले भनिन्, दैनिक रुपमा फोन हानिराछौँ, सधैं स्वीच अफ मात्रै भन्छ।’ परिवारका अनुसार श्यामबहादुरका दुई श्रीमतीबाट ४ सन्तान छन् ।
कमला श्यामबहादुरकी जेठी श्रीमती हुन् । उनीबाट दुई छोरा छन् । कान्छीबाट एक छोरा र एक छोरी छन्, तर उनीहरु आमासँगै बाहिर बस्छन् । कमलालाई घरको खर्चसँगै छोराहरुको पठन-पाठन खर्च कसरी धान्ने भन्ने चिन्ताले सताएको छ ।
श्रीमानले कान्छी श्रीमती ल्याउँदा पनि आफुले श्रीमानका लागि कहिल्यै नराम्रो नसोचेको भन्दै उनले अहिले आफ्नो जीवनसाथी सम्पर्क बिहिन हुँदा अत्यन्तै पीडा भइरहेको बताइन् । रसुवामा मजदुरी काम गर्ने श्रीमानको खोजीका लागि आफुले चारैतिर सम्पर्क गरिरहेको र राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ ।
'सरकारलाई म विनम्र अनुरोध गर्दछु, मेरो श्रीमानको कि श्वास, कि त लाशको एकिन गरिदेओस्,’ कमलाले थपिन् । परिवारका चार दाजुभाई मध्ये श्यामबहादुर साईला हुन् । बेपत्ता श्यामबहादुरका भाई हेमन्तले बाढी प्रभावित क्षेत्र रसुवादेखी चितवनसम्म दाईको अवस्था बुझ्ने काम गर्दा पनि अहिलेसम्म कतै पत्ता नलागेको बताए ।
बाढीले बगाएर ल्याएका शवहरु चितवनमा धेरै संख्यामा भेटिएको थाहा पाएपछि त्यहाँ पुगेर हेर्दा पत्ता नलागेको र सुरक्षाकर्मीले जिवित उद्धार गरेको ब्यक्तीको लिष्टमा पनि दाईको नाम नभेटिएको उनले सुनाए । 'हामीले सबै ठाउँमा बुझ्ने काम गरिसकेका छौं, तर कतैपनि दाईको अवस्था पत्ता लागेन, अझैपनि दाई जिवितै फर्केर आउने आशा गरेका छौँ,’ उनले भने ।
परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले दाईको अनुपस्थितीमा घरको खर्च चलाउन गाह्रो हुने निश्चित रहेको हेमन्तले बताए । सरकारले आफ्नो तर्फबाट उद्धारको प्रयास जारी राखेको र अझैपनि उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने पीडित परिवारको सुझाव छ ।
सरकारमाथी नै आमनागरिकहरुको भरोसा रहेकाले यसलाई टुट्न दिन नहुने उनीहरुको आग्रह छ। सरकारले बाढी पीडितका लागि भन्दै सहयोग संकलन गरिरहेकाले वास्तविक पीडितसम्म राहत पुग्नुपर्ने उनीहरुको सुझाव छ ।