बाँके (बैजनाथ) : बैजनाथका मुख्य सडक कालोपत्रे भईसकेका छन् भने भित्र सडक तथा बाटो पनि स्तरउन्नती भएका छन् । गाउँपालिकाले पुर्वाधार विकास कार्यक्रम, पालिका स्तरिय मर्मत कोष, समपूरक कोषको शिर्षकबाट पुर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले निर्माण गरेका भौतिक पुर्वाधारको काम टोल–टोलमा पुगेको छ । गाउँपालिकाले हरेक वर्ष पुर्वाधार विकासलाई उच्च प्राथमिकता राखेर काम गर्दै आएको छ ।
अघिल्लो आर्थिक वर्षजस्तै आ.व. २०८२/०८३ मा पनि गाउँपालिकाले पुर्वाधार विकासमा उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको थियो । पुर्वाधार विकास शिर्षकमा मात्रै कुल ४ करोड ८४ लाख १४ हजार ४ सय ७० रुपैयाँ विनियोजन गरेको थियो । यस्तै पालिका स्तरिय मर्मत कोष, समपूरक कोष लगायत शिर्षकमा पनि उल्लेख्य मात्रामा बजेट विनियोजन गरेर काम गरिएको छ ।
प्राविधिक शाखाका अनुसार समग्र रुपमा गाउँपालिकाको भौतिक पुर्वाधार निर्माणको काम गुणस्तरिय रुपमा सम्पन्न भएका छन् । प्राविधिक शाखा प्रमुख इन्जिनियर टंकर रोकायाले पुर्वाधार निर्माणको काम गुणस्तरिय रुपले सम्पन्न भएको बताए । प्राविधिकहरुको नियमित अनुगमन तथा सुपरिवेक्षणबाट अधिकांस कामहरु भएको उनको भनाई छ ।
आवास, भवन तथा नक्सापास शाखा प्रमुख इन्जिनियर धर्मेन्द्र आचार्यका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सडक स्तरउन्नत, कालोपत्रे, भवन निर्माण, कृषी संरचना, खानेपानी लगायतका पुर्वाधार बनेका छन् । उनका अनुसार गाउँपालिकामा ३ किलोमिटर भन्दा बढी कालोपत्रे, ४ कि.मी. भन्दा बढी ग्राभेल, २ कि.मी. भन्दा बढी नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यस्तै बिद्यालय तथा स्वास्थ्य संस्थाका आधा दर्जन भन्दा बढी भवन निर्माण भएका छन् । गतवर्ष सम्पन्न हुन नसकेका आधा दर्जन जति भवन यसपटक निर्माण भएका छन् । यस्तै पुल, कल्भर्ट, सिंचाई संरचना, कटान नियन्त्रण सम्बन्धी तटबन्ध निर्माण पनि भएको आचार्यले बताए । ‘गाउँपालिकाको पुर्वाधार निर्माणका कामहरु धेरै भएका छन्,’ आचार्यले भने ।
गाउँपालिकाको योजना शाखाका अनुसार अनुसार उक्त आर्थिक वर्षमा गाउँपालिकाले ७० लाख रुपैयाँ वडा नम्बर ६ को प्रशासनिक भवन निर्माणमा खर्च गरेको छ । बहुवर्षिय योजना रहेको वडा कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले उक्त बजेट विनियोजन गरेको हो । गाउँपालिकाले ७० लाख रुपैयाँको लागतमा वडा नम्बर १ स्थित महादेव मन्दिरदेखी उत्तर पोल्ट्री फर्म जोड्ने सडक स्तर उन्नती गरेको छ ।
पुर्वाधार विकास गर्ने क्रममा ४५ लाख रुपैयाँको लागतमा गाउँपालिका कार्यालय परिसरभित्र आरसिसी सहितको सडक निर्माण गरिएको छ । गाउँपालिका परिसरभित्र १२ लाख ४९ हजार रुपैयाँको लागतमा पर्खाल लगायतका संरचना निर्माण गरिएको छ । यस्तै ३९ लाख ५० हजार रुपैयाँमा बनखेत मनसाखु थारुको घर हुदै क्षेत्रीय कारागार जोड्ने सडक कालोपत्रे गरिएको छ । गाउँपालिकाले सिँचाई कार्यक्रम अन्तर्गत वडा नम्बर ७ बाहेक सबै वडामा यस आ.व.मा स्यालो ट्युवेल जडान गरेको छ ।
प्रत्येक वडामा ३ लाख ७५ हजार रुपैयाँका दरले ७० प्रतिशत अनुदानमा जडान गरिएको हो । स्यालो ट्युवेल जडान गरेपछि किसानले राहत महसुस गरेका छन् । सिँचाई कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको लागतमा अति विपन्न किसानलाई निःशुल्क रुपमा स्यालो ट्युबेल जडान गरिएको छ ।
गाउँपालिकाले १८ लाख ३० हजार रुपैयाँको लागतमा बैरहवा देखी नौवस्ता पोखरी सडक र गुरुवा गाउँदेखी मंगता टोल जाने बाटोमा सडक कालोपत्रे गरेको छ । यस्तै १७ लाख रुपैयाँको लागतमा गाभरस्थित रत्न राजमार्गदेखी रारा आधारभुत बिद्यालय जाने बाटो कालोपत्रे गरिएको छ । १५ लाख रुपैयाँको लागतमा साझेदारी रकमबाट बिद्यालय भवन निर्माण गरिएको छ ।
बैजनाथ–५ र ८ मा १०/१० लाख गरी कुल २० लाख रुपैयाँको लागतमा खुल्ला ब्यायामशालाका लागि सामाग्री ब्यवस्थापन गरिएको छ । बैजनाथ–७ स्थित पेडारी गाउँमाा १४ लाख रुपैयाँको लागतमा सडक कालोपत्रे गरिएको छ । बैजनाथ–८ मा १० लाख रुपैयाँको लागतमा बेलडाँडी रिगरोड अधुरो बाटो निर्माण गरिएको छ । गाउँपालिकाले १० लाख रुपैयाँको लागतमा बैजनाथ–८ स्थित भगवती मन्दिरमा पर्खाल निर्माण तथा अन्य संरचना मर्मत सम्भार गरेको छ । सोही मन्दिरमा ६ लाख रुपैयाँको लागतमा योगघर निर्माण गरिएको छ ।
गाउँपालिकाका कार्यपालिका सदस्य एवम् पुर्वाधार विकास समितिका संयोजक कमानसिंह सुनार आर्थिक वर्ष २०८२/०८३ मा पनि विगतका वर्षझै धेरै महत्वपूर्ण कामहरु सम्पन्न भएको बताउँछन् । ‘गाउँपालिकाको पुर्वाधार विकासमा यसपटक पनि धेरै कामहरु सम्पन्न भएका छन्, गाउँपालिकालाई समृद्ध बनाउनमा पुर्वाधार विकास पनि महत्वपूर्ण आधार हो,’ उनले भने ।
गाउँपालिकाले पुर्वाधार विकासतर्फ ठुलादेखी साना योजनालाई प्राथमिकता दिएको देखिन्छ । जसले गर्दा विकासमा समानता भएको छ । सम्बन्ध र पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा गाउँपालिकाले हरेक वडाहरुमा पुर्वाधारको बजेट परिचालन गर्ने गरेको छ । यसबाट गाउँपालिकाका समग्र नागरिकलाई विकासको अनुभुति मिलेको छ ।
गाउँपालिकाले ९ लाख रुपैयाँको लागतमा बैजनाथ–८ मा खुल्ला ब्यायामशाला स्थल निर्माण गरेको छ । यस्तै ८ लाख रुपैयाँको लागतमा विपी मावि देखी एकासीनगर हुदै एल.बि. चोक जोड्ने बाटोमा ग्राभेल गरिएको छ । त्यसैगरी ६ लाख रुपैयाँको लागतमा बैजनाथ–२ मा कुसेडाँडा हुदै गुनापुर–डिगिया जोड्ने बाटो स्तर उन्नति, बैजनाथ–४ मा होमकुण्ड निर्माण, गाउँपालिकाको पशु शाखा परिसरमा माटो पटान र ग्राभेल गरिएको छ ।
त्यस्तै ५ लाख ४५ हजार रुपैयाँको लागतमा गाउँपालिका परिसरभित्र ट्रस लगायतका संरचना निर्माण, ५ लाख रुपैयाँको लागतमा नेरा मावि ओरिलालपुरमा खानेपानी संरचना निर्माण लगायत अन्य ब्यवस्थापन, बैजनाथ–७ मा बचत घर निर्माण, वडा नम्बर ६ जेठीनाला पुल नजिक तटबन्ध/ग्याबिन जाली निर्माण, बैजनाथ–८ मा चौफेरी चर्च मर्मत सम्भार गरिएको छ ।
गाउँपालिकाले ४ लाख ४२ हजार रुपैयाँमा कुलदेव चोकदेखी रत्नराजमार्ग हुदै वडा कार्यालयसम्म पक्की नाली निर्माण, ४ लाख २५ हजार ४ सय ७० रुपैयाँको लागतमा बैजनाथ–६ अन्तर्गत हाईमास्ट जडान/निर्माण, ४ लाख १८ हजार रुपैयाँको लागतमा बैजनाथ–४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणमा (दायित्व रकम) बाट साझेदारी गरेको छ ।
यस्तै ४ लाख रुपैयाँको लागतमा ओम कारेश्वर मन्दिर लालपुरमा गेट तथा अन्य संरचना निर्माण, माछा पालन ब्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत जाल वितरण, बैजनाथ–७ अन्तर्गत कृषि हाटबजार पसिरमा माटो पटान गरेको छ । यसैगरी ३ लाख ३० हजार रुपैयाँमा प्रस्तावित प्राविधिक धारतर्फ कृषि क्याम्पस शंकर मावि थपवामा भवन निर्माण र २ लाख रुपैयाँको लागतमा डिगिया बजारमा नाली मर्मत गरिएको छ ।
योजना शाखा प्रमुख डोटी नेपालीले उक्त आर्थिक वर्षमा गाउँपालिकाका अधिकांस योजना कार्यान्वयनमा आएको बताए । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही भौतिक पुर्वाधार अन्तर्गत आफुहरुले सडक सञ्जाल, नयाँ बाटाहरु, कल्भर्टहरु, सिंचाई कुलाहरु, ढल निकासहरु, प्रशासकीय भवन लगायतका काम गरेको बताए ।
‘बैजनाथ–६ मा वडा कार्यालयको आफ्नै प्रशासकीय भवन सम्पन्न हुने प्रक्रियामा छ, धेरै ठाउँमा पुलहरु बनेका छन्, बिद्यालय भवन बनाएका छौं,’ शाहीले भने, ‘पुर्वाधारको कुरामा पनि ईतिहासमै बन्न नसक्ने पुलहरु निर्माण गरेका छौं, पुल नहुँदा आवत–जावत गर्न निकै गाह्रो थियो, पुल बनेपछि आवत–जावत गर्न सजिलो भएको छ, यसलाई पनि उपलब्धीको रुपमा लिएको छु, बिद्यालय भवनहरु बनाएका छौं, प्रशासनिक भवन बनाएका छौं, बाटोहरुमा अस्फाल्ट पिच गरिएको छ, बाटो निर्माण भएका छन्, ढल निकास गरिएको छ, पुर्वाधारमा पनि हामीले राम्रो काम गरेका छौं ।’
गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय कुनैपनि पुर्वाधार सम्बन्धी कामको निरन्तर रुपले अनुगमन गरेर मात्र भुक्तानी दिने गरिएको बताउँछिन् । ‘हामी हरेक पुर्वाधार योजनाको अनुगमन गर्छौ, उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति पनि छ,’ उनले भनिन्, ‘फिल्डमा अनुगमन गर्दा धेरै किसिमका अनुभुतिका बाबजुद पनि आफ्नो कार्यक्षेत्रमा टेकेर काम गरिरहेका छौं, चुनौती भन्दा पनि हामीले ब्यक्तिगत भन्दा विधिलाई टेकेर काम गर्ने हो, कानुन विपरित गएर काम गरेका छैनौं, आफुले पाएको अधिकार र कानुनलाई टेकेर काम गरेका छौं ।’