बाँके (खजुरा) : खजुरा गाउँपालिकाका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने योग साधना प्रशिक्षण सम्पन्न भएको छ। खजुरा गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समितिको प्राविधिक सहयोगमा असोज २६ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको प्रशिक्षणमा २२ जना शिक्षक सहभागी भएका थिए।
शिक्षकहरूलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ राख्दै विद्यालयमा योग, अनुशासन, सदाचार र असल संस्कारको अभ्यास विस्तार गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको प्रशिक्षणमा मन्त्रयोग, सङ्गीतको तालमा गरिने सूक्ष्म व्यायाम, सर्वाङ्गसुन्दर व्यायाम, सूर्य नमस्कार, भूमि नमस्कार, प्राणायाम तथा ध्यानलगायतका विभिन्न विधिबाट योग साधनाको अभ्यास गराइएको थियो। प्रशिक्षणपछि सहभागी शिक्षकहरूलाई कर्मयोग अर्थात् सिकेका ज्ञान, सीप र असल संस्कारलाई व्यवहारमा उतार्दै कर्तव्यनिष्ठ जीवन जिउन अभिप्रेरित गरिएको थियो।
प्रशिक्षणको समापनका अवसरमा सहभागी शिक्षकहरूले योग साधना प्रशिक्षण फलदायी र जीवनोपयोगी रहेको अनुभव सुनाए। सहभागी शिक्षकहरू लक्ष्मी महतरा, हिमानी मगर, विजया ठकुरी, निर्मला रोका मगर, निरमाया सिंह, धनबहादुर सिंह, बसिर खाँ, सुशीला गिरी, दिनेश सुनार र भोजराज पौडेललगायतले योग अभ्यासले शारीरिक तथा मानसिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको बताए।
प्रशिक्षणमा सहभागी हुनुअघि योगका विषयमा पर्याप्त ज्ञान र अभ्यास नभएको उल्लेख गर्दै उनीहरूले योग साधनाबाट खानपान, आनीबानी र दैनिक जीवनशैलीमा सुधार गर्नुपर्ने महत्त्वपूर्ण ज्ञान प्राप्त भएको बताए। योगले जीवनलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरित गरेको, जीवनोपयोगी संस्कार, संस्कृति र रहनसहनबारे बुझ्न सहयोग पुर्याएको तथा स्वस्थ र अनुशासित जीवन जिउने कला सिकाएको उनीहरूको अनुभव थियो।
सहभागी शिक्षकहरूले आफूले सिकेका योग अभ्यास र सकारात्मक जीवनशैलीका ज्ञानलाई घरपरिवार, समाज तथा विद्यालयमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै असल संस्कार, अनुशासन, आत्मसंयम, सकारात्मक सोच र स्वस्थ जीवनशैली सिकाउनसमेत प्रशिक्षण उपयोगी भएको उनीहरूको भनाइ थियो।
प्रशिक्षणमा पतञ्जली योग समितिअन्तर्गत युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रमुख साहवीदेव विजया, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा चौधरी तथा युवा नेपाल समितिका नगर प्रमुख लक्ष्मी खनालले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए। उनीहरूले सहभागी शिक्षकहरूलाई विभिन्न योगासन, प्राणायाम, ध्यान तथा दैनिक जीवनमा योगलाई समाहित गर्ने व्यावहारिक विधिबारे प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश सहप्रभारी धर्मराज पोख्रेल, बाँके जिल्ला अध्यक्ष पुष्कर आचार्य, समितिका बोधराज प्याकुर्याल, समितिका कानुनी सल्लाहकार तथा योग प्रशिक्षक अधिवक्ता वसन्त गौतम, युवा नेपाल समिति बाँकेका उपाध्यक्ष हिरा रावत, जिल्ला कोषाध्यक्ष तारा खनाल, नगर प्रभारी बलबहादुर केसी तथा पतञ्जली योग समिति खजुराका अध्यक्ष जीवनाथ सापकोटालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विक ‘तुफान’, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, आयुर्वेद शाखा प्रमुख किरण खनाल तथा वरिष्ठ लेखा अधिकृत प्रदीप खनाललगायतको उपस्थिति रहेको थियो। समापनका अवसरमा गाउँपालिका अध्यक्ष डम्मर विक ‘तुफान’ले नसर्ने रोगको नियन्त्रण तथा नागरिकलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्ने सरकारी लक्ष्य हासिल गर्न योग साधनाको महत्त्वपूर्ण भूमिका रहने बताए। नागरिकको स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विद्यालयका शिक्षकहरूलाई योग साधना प्रशिक्षण प्रदान गरेको उनको भनाइ थियो।
कार्यक्रमका वक्ताहरूले योगलाई व्यायाममा मात्र सीमित नराखी स्वस्थ जीवनशैली, असल संस्कार र अनुशासित व्यवहार विकास गर्ने माध्यमका रूपमा विद्यालय तहदेखि नै विस्तार गर्नुपर्नेमा जोड दिए। विद्यालयको पाठ्यक्रममा समेत योग साधनामार्फत स्वस्थ जीवन र संस्कार सिकाउने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको उनीहरूको भनाइ थियो। आगामी दिनमा आवश्यकताअनुसार योग प्रशिक्षणलाई विस्तार गर्दै खजुरा गाउँपालिकालाई योगमय पालिकाका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
कार्यक्रममा पतञ्जली योग समितिका कानुनी सल्लाहकार तथा योग प्रशिक्षक अधिवक्ता वसन्त गौतमले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि योग साधना आवश्यक रहेको बताए। योगलाई सार्थक र सन्तुलित जीवन जिउने आधारका रूपमा विकास गर्न दैनिक नित्यकर्मकै रूपमा नियमित अभ्यास गर्नुपर्नेमा उनले जोड दिए। सदाचार, उचित आहार–विहार, सत्कर्म र सकारात्मक सोचको विकासमा योग साधनाको महत्त्व रहेको उल्लेख गर्दै उनले योगले व्यक्तिको आचरण, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने बताए।
विद्यालयमा योग, विद्यार्थीमा असल संस्कार
शिक्षकहरू समाज र विद्यार्थीका लागि अनुकरणीय व्यक्तित्व हुन्। शिक्षक स्वयं स्वस्थ, अनुशासित र सकारात्मक सोचयुक्त भएमा त्यसको प्रभाव विद्यार्थीको सिकाइ, व्यवहार र जीवनशैलीमा समेत पर्न सक्छ। त्यसैले विद्यालयमा योग साधनाको अभ्यास विस्तार गर्नु शारीरिक व्यायाम सिकाउनु मात्र नभई विद्यार्थीलाई आत्मअनुशासन, धैर्य, सदाचार, स्वच्छता र स्वस्थ जीवनशैलीप्रति अभिप्रेरित गर्ने माध्यम पनि हो।
बालबालिकाको दैनिक जीवनमा बढ्दो निष्क्रियता, असन्तुलित खानपान र अव्यवस्थित आनीबानीलाई सुधार गर्न विद्यालय तहदेखि नै स्वास्थ्यप्रति सचेतना जगाउनु आवश्यक छ। नियमित योग अभ्यास, उचित आहार–विहार, पर्याप्त आराम र सकारात्मक व्यवहारको अभ्यासले स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुर्याउन सक्छ। यसका लागि शिक्षकलाई योग प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीलाई पनि उमेरअनुकूल योग अभ्यास र ध्यानको अवसर उपलब्ध गराउनु आवश्यक देखिन्छ।
खजुरा गाउँपालिकामा सञ्चालित पाँचदिने प्रशिक्षणले शिक्षकहरूलाई योगको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै विद्यालय, घरपरिवार र समुदायमा योग साधनाको सन्देश विस्तार गर्ने आधार तयार गरेको छ। अब प्रशिक्षणबाट प्राप्त ज्ञानलाई नियमित अभ्यासमा रूपान्तरण गर्दै विद्यालयमा शिक्षक र विद्यार्थी दुवैलाई योगमय वातावरणमा जोड्न सके स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच र असल संस्कारयुक्त पुस्ता निर्माणमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
कार्यक्रमको अन्तमा सिकेका कुरा ब्यवहारमा लागु गर्ने लिखित प्रतिवद्धता सहभागी शिक्षकहरुले गरेका थिए । समापन कार्यक्रममा बोल्ने वक्ताले योगलाई दैनिक जीवनको संस्कार बनाऔँ, विद्यालयलाई स्वस्थ जीवनशैलीको अभ्यासस्थल बनाऔँ र शिक्षक तथा विद्यार्थीबाटै स्वस्थ, अनुशासित एवं संस्कारयुक्त समाज निर्माणको अभियान अघि बढाउन आग्रह गेका थिए ।