बाँके(खजुरा) : खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लब, ब्रदर्स एफसी, अप्सरा एफसी र जय किसान स्पोर्ट्स क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा मिनी रंगशाला, डी गाउँमा सञ्चालन भइरहेको प्रतियोगितामा बिहीबार र शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा जित निकाल्दै चार टोली सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगितामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा न्यू डाँफे स्पोर्ट्स क्लब र ब्रदर्स एफसी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।
शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा अप्सरा एफसी कोहलपुर र जय किसान स्पोर्ट्स क्लबले जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । शुक्रबारको पहिलो क्वार्टरफाइनलमा अप्सरा एफसी कोहलपुरले भद्रकाली स्पोर्ट्स क्लब, जानकीलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अप्सराले ५–४ गोल अन्तरले जित निकालेको हो ।
शुक्रबार नै सम्पन्न दोस्रो क्वार्टरफाइनलमा जय किसान स्पोर्ट्स क्लब र न्यू दर्पण युवा स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा जय किसानले ७–६ गोल अन्तरले जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो सेमिफाइनलमा ब्रदर्स एफसी र जय किसान स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, आइतबार हुने दोस्रो सेमिफाइनलमा न्यू डाँफे स्पोर्ट्स क्लब र अप्सरा एफसी भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा नेपालगञ्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिएका छन् । क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशी सौजन्य गरेका हुन् ।
प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए । दसैं र तिहारको अवसर पारेर सुरु गरिएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले बताए ।