बाँके (राप्तीसोनारी) : राप्ती सोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राप्ती सोनारी गाउँपालिका–५ स्थित राप्तीसोनारी रंगशालामा आगामी मंसिर ४ देखि ६ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
आदर्श तेक्वान्दो डोजाङ नेपालगञ्ज र भृकुटी तेक्वान्दो डोजाङ नेपालगञ्जको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताबारे शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, अनुशासनका लागि तेक्वान्दो’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट १२ जना खेलाडीका दरले कुल १४४ जना खेलाडी सहभागी हुने तेक्वान्दो प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । प्रत्येक जिल्लाबाट एक जना प्रशिक्षक (कोच) का दरले १२ जना प्रशिक्षक समेत प्रतियोगितामा सहभागी हुने उनले सुनाए ।
तेक्वान्दो खेलको विकास र विस्तार गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगिताले तेक्वान्दो खेलप्रति युवाको आकर्षण बढाउनुका साथै खेलाडीको प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई सफल बनाउन राप्तीसोनारी गाउँपालिकासहित बाँकेका आठ वटै स्थानीय तह, विभिन्न वडा तथा संघ, संस्थाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष लामिछानेले जानकारी दिए ।
प्रतियोगितामा पुम्से र क्युरुगी गरी दुई विधामा प्रतिस्पर्धा गराइने प्रशिक्षक श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालनका लागि २१ जना रेफ्री, चार जना ज्यूरी तथा १० जना प्राविधिक परिचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले लुम्बिनी प्रदेशमा तेक्वान्दो खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।