नेपालगन्ज : ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करणको तयारी तीब्र पारिएको छ । यही भदौ २१ गते नेपालगन्जमा उक्त कार्यक्रम गर्ने तयारी गरिएको हो । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रा.लि.को आयोजना र नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा कार्यक्रम हुदैछ ।
जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने उद्देश्यले गतवर्षबाट कार्यक्रमको पहिलो संस्करण सुरु गरिएको थियो । कार्यक्रमका लागि आइतबारबाट सहभागिता दर्ता खुल्ला गरिएको छ । कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने बताइएको छ ।
कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगन्ज म्याराथनले सम्पूर्ण प्राविधिक जिम्मेवारी सम्हाल्नेछ । आयोजकले ‘दौडिन्छिन् हजुरआमा’ लाई केवल दौड प्रतियोगिताका रूपमा नभई जेष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवद्र्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
उक्त कार्यक्रम अन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाहरूबीच दौड प्रतियोगिता हुनेछ । सहभागीहरूले नेपालगन्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको १ हजार १ मिटर दूरी पार गर्नेछन् । प्रतियोगितामा जित–हार भन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएकोछ । दौडअघि स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ । शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको व्यवस्था गरिनेछ ।
यसअघि आयोजित पहिलो संस्करणमा ५० वर्ष भन्दा माथिका १५० भन्दा बढी हजुरआमा सहभागी भएका थिए । पहिलो संस्करणको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा पहिलो, नन्दमाया वली दोस्रो र नेपालगन्जकी रेवती सिंह तेस्रो भएकी थिइन् । पहिलो संस्करणमा हजुरआमाहरूको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ ।
यही अनुभवलाई फराकिलो बनाउँदै यस वर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी ‘भन्छिन् हजुरआमा’ अन्तरपुस्ता संवाद समेत आयोजना गरिने भएको छ । संवाद कार्यक्रममा ५० वर्ष पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीहरूबीच प्रत्यक्ष संवाद हुनेछ । हजुरआमाहरूले आफ्ना जीवनका संघर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउनेछन् भने नयाँ पुस्ताले ती अनुभव सुन्ने, बुझ्ने र संवादमार्फत सम्बन्धलाई नयाँ अर्थ दिने अवसर पाउनेछन् ।
आयोजकका अनुसार पुस्तान्तरण सम्पत्ति वा ज्ञानको हस्तान्तरणमा मात्र सीमित नभई जीवन भोगाइ र भावनाको हस्तान्तरण समेत हो । हजुरआमाका अनुभव र कथालाई नयाँ पुस्तासम्म पुर्याउँदै परिवार, समाज र इतिहाससँग जोड्ने तथा पुस्ताबीचको भावनात्मक दूरी घटाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
'द गोल्डेन ग्रान्डमा' की संयोजक सजल गैरेका अनुसार, आगामी दिनमा अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सामाजिक सहभागिता, आत्मविश्वास तथा अन्तरपुस्ता सम्बन्धसँग जोडिएको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा सहभागी हजुरआमा, नयाँ पुस्ताका छोरीहरू, परिवार, विद्यालय, सामाजिक संघसंस्था, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।