कोहलपुर : कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे ।
उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले सम्मान गरेका थिए । बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन बिहान निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ ।
बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा सहभागि सम्पुर्णलाई धन्यवाद दिदैं फुटबलको माध्यमबाट बालबालिकालाई खेलमा अभिरुची जगाउने प्रयास गरिएको बताए । प्रमुख अतिथी गौतमले बिरबल फुटबल एकेडेमीले सुरुआत गरेको ग्रासरुट प्रशिक्षण कार्यक्रम निकै फलदायी हुने बताए ।
‘फुटबलमा बालबालिको रुची जगाउनु पर्छ, उहाँहरुले फुटबल खेल्न आनन्द मान्नु भयो भने यस प्रति आर्कषण बढदै जान्छ, यसले नेपाली फुटबललाई विकासको जग बसाल्न सहयोग गर्छ,’ उनले भने । वर्तमान नेपाली फुटबलको अवस्थाको बारेमा बताउँदैं गौतमले भने, ‘एन्फा अहिले प्रतिबन्धमा छ, तर नेपाली फुटबल एन्फा भन्दा धेरै माथी छ, नेपाली फुटबलको नेतृत्वमा बसेका व्यक्तिहरु भन्दा हजारौ जनाले यसरी गाउँघरमा, जिल्ला जिल्लामा फुटबलको विकासको लागि काम गरिरहनु भएको छ, उहाँहरुको समर्पण महत्वपुर्ण छ नेपाली फुटबलका लागि ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले गौतमले बाँकेको फुटबल विकासमा धेरै सहयोग गर्नु भएको बताए । ‘गौतम जी हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं, यहाँको साथ र सहयोगले हामीलाई सधै फुटबलमा सक्रिय रहन उर्जा मिल्ने गरेको छ, उहाँले कोहलपुर आएर ग्रासरुट फुटबल प्रशिक्षणको उद्घाटन गर्नु हाम्रो लागि खुसी कुरा हो,’ उनले भने ।
उद्घाटन कार्यक्रममा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, कोषाध्यक्ष सानु तामाङ, राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठ, एन्फा फुटबल प्रशिक्षक भोज बहादुर शाही, गुरुकुल सकर स्कुलको प्रिन्सिपल सन्ध्या चौधरी लगायतको सहभागिता रहेको थियो ।