काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ‘जेन-जी समूह’ अन्तर्गत केन्द्रीय सदस्यमा कमला हमालले उम्मेदवारी दिने तयारी गरेकी छन् ।
पत्रकारिता क्षेत्रमा स्थापित रहेर नेपाली प्रेस युनियनको केन्द्रिय सदस्य तथा पार्टीको १४ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी उनले यसपटक पार्टीको संशोधिन विधान अनुसार ३५ वर्ष मुनिको युवा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।
यसपटक पनि बाँकेको बैजनाथ–४ को वडा तह हुदै क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि केन्द्रिय सदस्य लड्ने तयारी गरेकी छन् । केन्द्रिय सदस्यको तयारी स्वरुप युवा नेतृ हमालले भेटघाट अभियानलाई तीब्र पारेकी छन् ।
काठमाडौंको ठाउँ–ठाउँमा पुगेर देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्तालाई उनले तीब्र रुपले भेटघाट थालिरहेकी छन् । भेटघाटका क्रममा आफुलाई सहयोग गर्ने वचन पाइरहेको उनले बताइन् ।
नेपाली कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिमा ‘जेन–जी उमेर समूह’ का २१ जनाको प्रतिनिधित्व गराउँदैछ । विधान अनुसार ‘जेन–जी उमेर समूह’ को उमेरहद भने ३५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको छ । सोही ब्यवस्था अन्तर्गत उक्त उमेर समूहका प्रत्येक प्रदेशबाट एक महिला र एक पुरुष गरी २ जना निर्वाचित हुने व्यवस्था छ ।
यस्तै खुलातर्फ ६ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । कमलाले सोही क्लष्टर अन्तर्गत लुम्बिनी प्रदेशबाट प्रतिस्पर्धा गर्ने भएकी हुन् । आफु केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पार्टीमा पूर्णकालीन भएर काम गर्ने उनले सुनाइन् । ‘म अब पार्टीमै पूर्णकालिन भएर काम गर्ने सोच बनाएकी छु, यसका लागि हामी जस्ता युवालाई महाधिवेशन प्रतिनिधिले जिताउनु हुनेछ,’ कमलाले दूरसञ्चारसँग भनिन् ।