काठमाडौं : चीन भ्रमणमा रहेका सत्तारूढ रास्वपा सांसदहरुको अडियो बाहिरिएको छ । चीनको एउटा प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेका बेला खिचिएको भिडियोमा उनीहरूको कुराकानी पनि रेकर्ड भएको छ। उक्त भिडियोमा सुनिएको संवाद अहिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
संयोगवश रास्वपा सांसद श्रीराम न्यौपानेको फेसबुकमा पोष्ट भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको २० सदस्यीय टोली बेइजिङ लगायत ठाउँको भ्रमणमा छ। टोलीको नेतृत्व पार्टी महामन्त्री विपिनकुमार आचार्यले गरिरहेका छन्। भ्रमणमा सांसद श्रीराम न्यौपाने र कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटासहित पार्टीका नेता तथा सांसद सहभागी छन्।
टोलीको भ्रमण कार्यक्रम प्रविधि, औद्योगिक विकास, आर्थिक सहकार्य, सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा केन्द्रित छ। तर, भ्रमणका क्रममा खिचिएको भिडियोमा सुनिएको संवादले भ्रमणको उद्देश्यभन्दा फरक राजनीतिक बहस जन्माएको छ। विशेषगरी नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अदालतले कस्तो निर्णय गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति र त्यसबाट रास्वपाले राजनीतिक लाभ लिन सक्ने भनाइले प्रश्न उठाएको छ।
भिडियोमा सुनिएको संवादको केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आधिकारिकताको विवाद छ। कांग्रेसभित्रको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्ष र अर्को पक्षबीचको राजनीतिक तथा कानुनी संघर्ष जारी रहेको सन्दर्भमा सांसदहरूको कुराकानी सार्वजनिक भएको हो। संवादमा न्यौपानेले कांग्रेस देउवाकै हातमा जानुपर्ने धारणा राखेको सुनिन्छ।
त्यसपछि बाँस्कोटाले अदालतले पनि स्थानीय चुनावसम्म देउवा पक्षलाई मान्यता दिने गरी फैसला गर्नुपर्ने आशय व्यक्त गर्छिन्।उनले त्यसपछि केपी शर्मा ओली र महेश बस्नेतको नाम लिँदै उनीहरू रोक्न नहुने र त्यसो हुँदा दुवै पक्ष अझ चर्को रूपमा प्रस्तुत हुने आशयको अभिव्यक्ति दिन्छिन्। अर्का सांसदले पनि उनीहरूको स्वभाव नै त्यस्तै भएको भन्दै प्रतिक्रिया दिएको सुनिन्छ। यसले कांग्रेसभित्रको विवादलाई रास्वपाले आफ्नो राजनीतिक अवसरका रूपमा हेरेको हो कि भन्ने प्रश्न उठाएको छ।
जोडिएको विवादमा उनले व्यक्त गरेको भनाइले थप चासो सिर्जना गरेको छ।