नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले डिजिटल माध्यमको सही सदुपयोग गर्नु नै आजको आवश्यकता भएको बताएका छन् । पार्टीका नीति, विचार र कार्यक्रमलाई आम नागरिकमाझ छिटो र प्रभावकारी रूपमा पुर्याउन डिजिटल माध्यम आवश्यक रहेको उनले प्रष्ट्याए ।
नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाले सम्शेरगन्जमा सोमबार आयोजना गरेको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’ लाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका कांग्रेस केन्द्रीय सदस्य तिमिल्सिनाले वर्तमान युग सूचना र प्रविधिको युग भएकाले राजनीतिक संगठनहरू पनि समय सापेक्ष रूपान्तरण हुनुपर्ने बताए ।
लुम्बिनी प्रदेशका पुर्वमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनालाई चिर्दै पार्टीका आधिकारिक धारणा र निर्देशनलाई तल्लो तहसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । भेलामा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीका हरेक गतिविधिलाई अभिलेखीकरण गर्न र कार्यकर्ताबीचको समन्वयलाई थप बलियो बनाउन प्रविधिमैत्री अभियानले टेवा पुर्याउने विश्वास गरे । कांग्रेस बाँकेले पनि यस्ता रचनात्मक र प्रविधिमैत्री कार्यक्रमलाई जिल्लाभर विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले वडा तहका कार्यकर्तालाई प्रविधिमा दक्ष बनाउँदै पार्टीको प्रचार-प्रसार शैलीलाई आधुनिक बनाउनुपर्ने बताए । युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्न डिजिटल प्लेटफर्महरू अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने बताए ।
राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्रीले वडा तहदेखि केन्द्रसम्म एउटै डिजिटल सञ्जालमा जोड्ने ठोस आधार तयार पारिएको बताए । गाउँपालिकाका प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ गठन तथा परिचालन गर्ने कार्ययोजना अघि बढाइएको उनले सुनाए । गाउँपालिका र वडा स्तरमा व्यवस्थित डिजिटल सञ्चार सञ्जाल निर्माण गरी पार्टीका गतिविधिलाई पारदर्शी र गतिशील बनाइने सभापति रानाक्षेत्रीले बताए ।
उक्त भेलामा क्षेत्र नम्ब्र क्षेत्रीय सभापति पूर्णप्रसाद आचार्य, निवर्तमान क्षेत्रीय सभापति पोषणराज केसी, जिल्ला प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि लाहुराम थारु, मनिषासिंह थारु, प्रदेश सभा-१ ‘क’ का सभापति देवबहादुर खाँण लगायतले बोलेका थिए । सो क्रममा पार्टीका विभिन्न तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधिहरू, राप्ती सोनारीका विभिन्न वडाका सभापतिहरू, राप्ती सोनारीका ९ वटै वडाका क्षेत्रीय प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
भेलामा सहभागी भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रको सांगठनिक अवस्था र प्रविधि प्रयोगका चुनौतीबारे सुझाव राखेका थिए । उनीहरूले तल्लो तहका कार्यकर्तालाई सामाजिक सञ्जालको सकारात्मक र सिर्जनात्मक प्रयोगबारे अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिएका थिए ।