नेपालगन्ज : नेपाली कांग्रेसले नेपालगन्जमा बिहीबार डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला गरेको छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा पार्टी कार्यालयमा उक्त भेला गरिएको हो ।
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर समितिका सभापति धनराज बर्माको सभापतित्व एवम् पार्टीका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा अधिकांस नेता तथा कार्यकर्ताले डिजिटल युगमा कांग्रेसलाई पनि बदल्न जरुरी रहेको बताए । भेलालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रतिनिधि तिमिल्सिनाले पार्टीले सही सोच लिएर डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श कार्यक्रम राखेको बताए । ‘पार्टीको केन्द्रिय समितिले सही सोचका साथ सही निर्णय गरेको छ,’ उनले भने, ‘पहिलो चरणको कार्यक्रमपछि दोस्रो चरणका कार्यक्रम हुनेछन् ।’
यस्तै पार्टीका अर्का केन्द्रिय सदस्य सुधान्शु कोइरालाले अहिले सामाजिक सञ्जालको प्रयोग गरेर युवाहरुलाई भ्रमित गर्ने काम भईरहेको बताए । ‘एल्गोरिदमबाट युवालाई भ्रमित गर्ने काम भईरहेको छ, जनताको विश्वास जितेर अहिले जो निर्वाचित हुनु भएको छ, राष्ट्रका लागि उहाँहरुको एक थोपा पसिना पनि बगेको छैन,’ उनले भने, ‘मेरो उहाँहरुलाई शुभकामना छ, देशको हितमा, नागरिकको हितमा काम गर्नुहोला ।’ नेपाली कांग्रेसले जनताको विश्वास जित्न जरुरी रहेको केन्द्रिय सदस्य कोइरालाले बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले क्षेत्रीय प्रतिनिधि भएर पनि पार्टीको हित विपरितका गतिविधिमा सहभागी भएको भन्दै चेतावनी दिए । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई चुनाव चिन्ह र झण्डा दिएकाले आधिकारिक कांग्रेस सानेपामा रहेको बताए ।
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका कार्यसमितिका उपसभापति शरदराज अधिकारीले स्वागत गरेको उक्त भेलामा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, महाधिवेशन प्रतिनिधि नारायणी रुपाखेती, प्रदेश सभा–२ ‘ख’ का सभापति प्रदिप साहु लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


