काठमाडौं : प्रहरीले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सबैलाई आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो।
चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो। गण्डकी प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन सार्वजनिक अपिल जारी गर्दै घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ।
प्रहरीले मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भन्दै आफ्ना सामानको सुरक्षा गर्न र पाकेटमारीबाट जोगिन आग्रह गरेको छ। रातको समयमा घरबाहिरको बत्ती बाल्ने तथा झ्यालढोका राम्ररी बन्द गरेर मात्र सुत्न पनि अनुरोध गरिएको छ। दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत बालेर छाड्दा आगलागी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ।
त्यस्तै, बैंकको चेक, एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न तथा उनीहरूले दिएको खानेकुरा नखान पनि प्रहरीले आग्रह गरेको छ। सुन तथा डलर साट्ने नाममा हुन सक्ने ठगीबाट जोगिन र चाडपर्वको नाममा जुवा, तास खेल्ने तथा खेलाउने गतिविधिबाट टाढा रहन पनि अपिलमा उल्लेख छ।