सर्बप्रथम त भोटेकोसीमा आएको महाविनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख ब्यक्त गर्दै ज्यान गुमाउनुहुने सबै प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
यो मानवीय पीडामा मल्हम लगाउन सम्पूर्ण देश तथा विदेशमा भएका नेपालीहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्न आवश्यक छ । हाम्रो देश त्यसैपनि भू–परिवेष्टित देश हो । जहाँ भौगोलिक हिसाबले हिमाल, पहाड र तराई, नदी, नाला र खोलाले भरिएको छ ।
हाम्रा अधिकांस गाउँहरु हिमालको काखमा, पहिरो र खोलाको किनारमा बसेका छन् । यस्तै मध्येका गाउँहरु भोटेकोसी किनारमा पनि थिए । जहाँ नदी किनारमा दर्जनौं गाउँहरु बसेका थिए । आज ति गाउँ, बस्तीहरु बाढीका कारण उजाड भएका छन् ।
एकैछिनको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका गाउँहरु खण्डहरमा परिणत भएका छन् । अब यि गाउँहरुलाई पहिलेकै अवस्थामा फर्काउन ५० औं वर्ष लाग्न सक्छ । तर, त्यहाँ बाढीको जोखिम पहिलेको भन्दा अब झन् बढेर आएको छ । त्यसकारणले गर्दा सरकारले त्यहाँका बाढी पीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन ।
सरकारले त्यो ठाउँमा पुर्वाधार निर्माणमा लगानी गर्नुभन्दा त्यहाँबाट पीडितहरुलाई अन्यत्र स्थानान्तरण गर्नतर्फ ध्यान दिनु नै उत्तम हुन्छ । पहिलो कुरा त्यहाँ एकातिर बाढीको जोखिम छ, अर्कोतिर कसैको त परिवार नै नरहेको अवस्था छ । कसैको आधा परिवार गुमेको अवस्था छ । कसैको परिवार बचेको छ, तर सम्पत्ती पुरै गुमेको छ ।
बालबालिकहरु अभिभावकविहिन बनेका छन । परिवारको खुसी खोसिएको छ । त्यो दर्दनाक पीडाका बीच फेरीपनि त्यही ठाउँमा उनीहरुलाई राखेर जिन्दगीभर पीडित बनाईराख्नु हुँदैन । त्यसैले उनीहरुलाई सरकारले समयमै सुरक्षित ठाउँमा सारेर उनीहरुका लागि उचित पुर्वाधारको ब्यवस्थापन गर्न तर्फ ध्यान दिन आवश्यक छ । यसका लागि तराईका जिल्लामा पर्याप्त मात्रामा ठाउँहरु छन् ।

बाँके जिल्लामै त्यसको प्रसस्त सम्भावना छ । बाँकेको नेपाल–भारत सिमा क्षेत्र अन्तर्गत खयरभट्टी, गुर्दनगौडीका नाकामा उनीहरुको ब्यवस्थान गर्न सकियो भने एकातिर आफ्नो भूमिको रक्षा हुने, अर्कोतिर बाढी पीडितको ब्यवस्थापन पनि हुने देखिन्छ । यसतर्फ बालेन सरकारले आवश्यक पहल गरोस् भन्न चाहन्छु । यो ठाउँमा पानीको स्रोतहरु प्रसस्त छ ।
बिजुली, बाटो र टेलिफोन टावरको ब्यवस्थापन गरिदिए पुग्छ । अरु पुर्वाधार त आवश्यकता अनुसार बिस्तारै थपिदै जाने हो । केही पुर्वाधारहरु बनिसकेका पनि छन् । सुरक्षाका निम्ति सशस्त्र प्रहरीले ठाउँ–ठाउँमा बिओपी राखेको छ । यहाँ भोटेकोसी बाढी पीडितलाई ल्याएर सरकारले ब्यवस्थित रुपले राख्यो भने नेपाली भूमिको सुरक्षाका साथै बाढी पीडितलाई पनि ठुलो राहत मिल्ने देखिन्छ ।
अहिले सरकार दुई तिहाई बहुमतको नजिक छ । सरकारलाई यो निर्णय गर्नलाई खासै धेरै समस्या हुँदैन । सरकारले चाहे अनुसारको काम गर्ने अवस्था छ । त्यसमाथी झन् यस्तो विपदको समयमा गर्ने सरकारको निर्णयप्रति कुनैपनि दलले विरोध गर्नेछैनन् । किनकी, बाढीको प्रकोप मानवीय संवेदनासँग जोडिएको विषय पनि हो ।
कुनै समयमा राजा महेन्द्रले तमाम ठाउँमा बस्ती बसाएका उदाहरण हाम्रै आँखा अगाडी छन् । बाँकेकै राधापुर सैनिक क्षेत्रमा पनि कुनैबेला राजाले सिमा सुरक्षाका लागि बस्ती बसाएको अवस्था थियो ।
मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती स्थानान्तरण गराएर हजारौं घरहरुलाई बाँकेको चिसापानीमा ल्याइयो । हो, यसरी नै भोटेकोसी बाढीबाट प्रभावित भएका परिवारहरुलाई पनि बाँकेको सिमा क्षेत्रको नेपाली भूमीमा ल्याएर उनीहरुको उचित ब्यवस्थापन गर्न तर्फ सरकारले ध्यान देओस् । यो कार्यमा सबैले सरकारलाई साथ र सहयोग गरौं । (लेखक देशभक्त नेपाली नागरिक हुन्)