नेपालगन्ज : लोकतान्त्रिक आन्दोलनको अगुवा दल नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा गम्भिर मोडमा उभिएको छ । नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षका आ-आफ्नै दम्भ र अहंकारी अडानका कारण पार्टी कमजोर मात्र होईन, मृत्यु शैयामा छ्ट्पटाउने स्थितीमा पुग्दैछ ।
परिवर्तित समकालिन राजनीतिक घटनाक्रमले नेपाली जनताको मनोविज्ञानबाटै कमजोर हुदै गएको कांग्रेसलाई पार्टीभित्रको पछिल्ला गतिविधीले सच्याउने होइन, सक्काउने निश्चित देखिन्छ । कांग्रेस नेतृत्वदेखि आम कांग्रेसजन सम्मले यदुवंशी लडाइको यो हटलाई संयमित हुँदै ‘सेफ ल्याण्डिङ’ गराउनेतर्फ गम्भिर नबन्ने हो भने सक्किनुको विकल्प रहदैन ।
हेक्का रहोस् यदुवंशी युद्धले न कोही हार्यो, न कसैले जित्यो । हार्यो त केबल सिंगो यदुवंशले नै हार्यो । अनि बाँच्यो त केवल इतिहास मात्र बाँच्यो । नेपालको लोकतान्त्रिक आन्दोलनको यात्रामा ऐतिहासिक विरासत बनाएको नेपाली कांग्रेस जस्तो पार्टीका नेतृत्वदेखि आम कांग्रेसजनले इतिहास मात्र बचाउने खेल खेल्ने होईन, पार्टी हितलाई हृदयमा राख्ने हो, भने यदुवंशीको युद्ध र त्यसको परिणामलाई स्मरण गर्न जरुरी छ ।
पार्टी भित्रको आन्तरिक द्वन्द्वरुपी युद्धको परिणाम निस्पट्ट उजाड नै उजाड हो भन्ने कुरा समय मै बुझ्न आवश्यक छ । वंश युद्धमा भगवान श्री कृष्ण अनि उनका छोरा प्रधुम्न सहित एक-एक गर्दै अनेकौं अनेक महारथीहरु सक्किएको इतिहास छ, भने हामी त केवल सामान्य वैचारिक धरातलको जगमा उभिएका सामान्य मनुष्य मात्र हौं । यस्ता प्रतियोगिता आन्तरिक रुपमा खेल्नका निम्ति परिवारको आन्तरिक रिति-थिती विधिले निश्चित समय दिएको अवश्य हुन्छ । त्यहाँ पाउ तहदेखि शिर तह सम्मका नेतृत्वले सहमती अथवा रिति-थिती अनि विधिमा रहेर खेल्दा महाउत्तम होला की भन्ने मेरो सानो मस्तिष्कको चिन्ता र चासो हो ।
त्यसैले भन्छु, यदुवंशको युद्ध जस्तो कसैले नजित्ने सिंगो कांग्रेसले हार्ने जस्तो द्वन्द्वात्मक अप्रिय प्रतियोगिता सार्बजनिक रुपमा नखेल्नु नै सिंगो कांग्रेसका लागि हितकर होला भन्ने हामी जस्ता भुइँ मान्छेको आग्रह पुर्वाग्रह विहिन निष्छल चिन्ता र चासो मात्र हो । हुन त निःस्वार्थ, सन्तुलित चिन्तनलाई ओझेलमा पारिएको समकालिन अवस्थामा यी कुराप्रति गाम्भिर्यता देखाउने फुर्सद त बिरलैलाई होला ।
छ त केवल आग्रह अनि पुर्वाग्रही चिन्तन मात्र सन्तुलन पुर्ण अभिव्यक्तिको डर यस्तो कित्ताकाटको अवस्थामा अलि बढी हावी हुन्छ होला । तर, सबैले सन्तुलन गुमायो भने वंशको यात्रा एक्लो हुन सक्छ एक्ला-एक्लै हिड्दा शक्तिशाली बन्न सकिदैन । जस्तोसुकै विमती भएपनि बैचारिक घर सिगार्ने यात्रा सँग सँगै भयो, भने त्यो घर र त्यस घरको परिवारलाई कसैले हल्लाउन सक्दैन ।
घरभित्र रहेको कलहका बिषयमा सार्बजनिक रुपमा अत्यन्तै तल्लो स्तरमा उत्रिएर गरिने वाद-विवादको द्वन्द्वले अझ भयानक युद्ध निम्त्याउँछ । जुन युद्धले यदुवंशीकै हाल बनाउँछ । यदुवंशी चिन्तनले खरानी बन्ने यात्रा मात्र तय गर्दछ, भन्ने कुरा सत्य हो । यो ऐतिहासिक संकटको बेला आम कांग्रेस नेतृत्व अनि कांग्रेसजनको सत्बुद्धी बेलैमा आओस् यहीँ कामना गर्दछु । जय नेपाल !