नयाँ दिल्ली : विचार, सिद्धान्त र नीतिप्रति कटिबद्ध हामी जस्ता भुइँ तहका लाखौं लाख निष्ठावान कांग्रेसजनले युग अनुसारको कांग्रेस बनाउन आ-आफ्नो स्थानबाट खबरदारी गर्दै आए, तर नेतृत्वमा बस्ने कसैले पनि सकारात्मक खबरदारीलाई सुन्नै चाहेनन् ।
बरु यस्ता खबरदारीलाई चाकरी चाप्लुसी अनि गुलामी गरेर निहित स्वार्थ प्राप्त गर्नेहरुले नेतृत्व सक्षम अपब्याख्या गर्दै बिरोधको रुपमा लिए, जो अत्यन्त घातक हो । म जस्तो १३/१४ बर्षको अबोध अवस्थाको बालापनबाटै कांग्रेसको बिचार अंगाल्ने भुइँ मान्छेले निस्वार्थ भावले पटक-पटक विभिन्न तहका जिम्मेवार नेतृत्वहरुलाई विशेषगरी केन्द्रिय तहका नेतृत्वलाई सच्चिन खबरदारी गर्दै बोल्ने अनि लेख्ने काम गरिरहे, ‘सच्चिने या सक्किने’ आखिर कांग्रेसलाई सक्काउने वैदेशिक हस्तक्षेपको स्वार्थले सक्काएरै छोड्यो ।
म यो या त्यो लाई दोष थुपार्ने जस्तो चरम गुटबन्दीवाद र स्वार्थवादमा अल्झिन सक्दिन किन भने म कांग्रेस हो । १४ औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व तहमा रहेका केन्द्रिय नेता जिहरुले लाखौं कांग्रेसजनको एकतावद्ध कांग्रेस देख्ने चाहनालाई कुठाराघात गर्दै अहंकार अनि घमण्डको आगो दन्काएर सच्चिने भन्दा सक्किने बाटो तय गर्नु बिडम्वना हो ।
यो अवस्था निम्त्याउने हिस्सेदार जिम्मेवारीका हिसाबले सबैको छ, कोही पनि पानी माथीको ओभानो छैन्न भन्ने निस्वार्थ कांग्रेसजनको बुझाई हो । आ-आफ्नो दम्भ, हठ, पद लोलुप्ता, रिस, डाहा, अति अति महत्वाकांक्षा, आबेग, अहंकार अनि घमण्डले कांग्रेसलाई खरानी बनाउने आजको यो दिन सच्चा कांग्रेसीका निम्ति निष्पट्ट उजाड अनि कालो नै कालोदिन बनेको छ ।
यद्यपी बादलको कालो घेराभित्र पनि उज्यालो किरणको अपेक्षा गरिन्छ । आशा गरौं विचार र सिद्धान्तले होईन अहंकार, घमण्ड र शक्तिको लोलुप्ताले विभाजित मनहरु ढिलो चाडो मिल्नेछन्, जो कांग्रेसको इतिहासले पनि देखाएको छ । त्यसैले अभद्र अनि अमर्यादित टिका टिप्पणी नगरौ । संयमित भएर राजनीतिक रुपमा सभ्य अनि मर्यादित रूपमा प्रस्तुत हौं । जय नेपाल !
लेखकका थप लेखहरु :
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन