बाँकेको पुर्वी-दक्षिण क्षेत्रमा अवस्थित छ, नरैनापुर गाउँपालिका । तत्कालिन ६ वटा गाविसहरु (गंगापुर, मटेहिया, कालाफाँटा, नरैनापुर, लक्ष्मणपुर र कटकुइँया) मिलेर गाउँपालिका बनेको हो । यस गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ । चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन् । यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ । यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।
नरैनापुरमा पर्यटन सम्भावना
(क) धार्मिक पर्यटन
नरैनापुरमा रहेको सन्तानेश्वर महादेव मन्दिर यहाँको चर्चित धार्मिक पर्यटकीय स्थल हो । पदयात्रासँगै मन्दिर दर्शन गर्न जाने स्वदेशी र विदेशी पर्यटकको यहाँ प्रायः भिड नै लाग्छ । यसका साथै नरैनापुरमै रहेको गोर्वधनधाम, मुस्लिम समुदायको आस्थाको केन्द्र शैयद नूर खलिफा सहित विभिन्न मन्दिर तथा मजारहरु यहाँका धार्मिक पर्यटकीय स्थल हुन् । यि धार्मिक पर्यटकीय स्थलले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न मद्दत गरेका छन् ।
(ख) प्राकृतिक पर्यटन
नरैनापुरको उत्तर क्षेत्रमा वनजंगल र चुरे पहाड पुर्व–पश्चिममा फैलिएको छ । उत्तरमा चुरे पहाड र वन जंगलको मनोरम दृश्य, दक्षिण–पश्चिममा राप्ती नदीको किनार, बीचमा रहेका हरियाली फाँटहरु र जैविक विविधता नरैनापुरका प्राकृतिक पर्यटकीय स्थल हुन् । यहाँ पुगेर प्राकृतिक सम्पदासँग रमाउँदै पदयात्रा, वनभोज, प्रकृतिको अवलोकन, फोटोग्राफी, अध्ययन भ्रमण गर्न सकिन्छ । शहर, बजारको कोलाहल वातावरणबाट टाढा रहनका लागि नरैनापुरको यो शान्त वातावरण उपयुक्त गन्तब्य बन्ने देखिन्छ ।
(ग) साँस्कृतिक पर्यटन
नरैनापुरमा मधेसी, मुस्लिम तथा अन्य समुदायको बसोबास रहेको छ । सबै समुदायका लोक सँस्कृति, भाषा, भेषभूषा, रहनसहन, खानपान र परम्परा साँस्कृतिक पर्यटनका आकर्षण हुन् । यस्ता गतिविधि संरक्षण गर्दै प्रस्तुत गर्न सके साँस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको छ ।
(घ) ग्रामिण तथा कृषि पर्यटन
पछिल्लो समयमा ग्रामिण तथा कृषि पर्यटन पनि आर्कषक गन्तब्य बन्न थालेको छ । शहरबाट गाउँमा आएर बस्न रुचाउने, ग्रामिण क्षेत्रमा उत्पादन भएका अग्र्यानिक बस्तुहरु खान मन पराउने पारखीहरु छन् । ग्रामिण जीवनशैली, खेतीपाती, पशुपालन, स्थानीय उत्पादन र परम्परागत खानामा धेरैको रुची बढ्दो छ । यसका लागि नरैनापुरमा सामुदायिक होमस्टेहरु सञ्चालन गरेर ग्रामिण तथा कृषि पर्यटनलाई प्रर्बद्धन गर्न सकिने सम्भावना छ । यसले स्थानीय बासिन्दालाई रोजगारी सिर्जना गर्नमा सहयोग पुर्याउने देखिन्छ ।
मिडियाको भूमिका :
नरैनापुरमा पर्यटकीय सम्भावना धेरै छ । पछिल्लो समयमा नरैनापुरको पर्यटनले मिडियामा स्थान पाउन थालेको छ । तरपनि, अझै राष्ट्रिय तथा स्थानीय मिडियामा नरैनापुरको पर्यटनबारे प्रचार–प्रसार गर्न आवश्यक छ । स्थानीय स्तरमा रहेका एफ.एम. रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत नरैनापुरको पर्यटन विकासको प्रचार–प्रसार गर्नुपर्छ ।
(क) पर्यटन स्थलको परिचय
मिडियाले नरैनापुरमा रहेका धार्मिक, प्राकृतिक र साँस्कृतिक स्थलहरूको पहिचान र परिचय दिनुपर्छ । मिडियामार्फत नै नरैनापुरको पर्यटन गतिविधि देश–विदेशसम्म पुग्नेछ । स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन पोर्टलमार्फत प्रचार गर्दा पर्यटकको चासो बढ्नेछ ।
(ख) सकारात्मक छवि निर्माण
नरैनापुरको पर्यटनको विषयमा सकारात्मक रुपमा समाचार, फोटो, भिडियो र बृत्तचित्र सामाग्रीहरु प्रस्तुत गर्दा त्यस क्षेत्रको छवि राम्रो बन्नेछ । यसले नरैनापुरलाई बाँके जिल्लाको ‘घुम्न योग्य ठाउँ’ भन्ने सन्देश देश तथा विदेशसम्म फैलाउँनेछ ।
(ग) स्थानीय सँस्कृति र पहिचान संरक्षण
मिडियाले स्थानीय भाषा, भेषभूषा, खानपान, लोक सँस्कृति, नाचगान र परम्परालाई उजागर गरी साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सक्छ । यसले सँस्कृति संरक्षणमा समेत सहयोग पुर्याउँछ ।
(घ) डिजिटल माध्यमको प्रयोग
सामाजिक सञ्जाल (फेसबुक, युटुब, टिकटक, इन्ष्ट्राग्राम) प्रयोग गरेर कम खर्चमा धेरै मानिससम्म नरैनापुरको पर्यटन सम्बन्धी सूचना पुर्याउन सकिन्छ । यसले युवा पुस्तालाई पर्यटनमा आकर्षित गर्दछ ।
(ङ) लगानी आकर्षण
नरैनापुरको पर्यटन सम्बन्धी सामाग्रीहरु मिडियामा आएपछि निजीक्षेत्र, गैरसरकारी संस्था र सरकारी निकायको ध्यान जानेछ । यसले स्थानीय स्तरमा पर्यटन लक्षित होटल, रिसोर्ट, होमस्टे लगायत क्षेत्रमा लगानी भित्र्याउन मद्दत गर्दछ ।
(च) स्थानीय सरकारको दायित्व
नरैनापुरको पर्यटकीय क्षेत्रको विकास गर्नमा स्थानीय सरकारको दायित्व र भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । कतिपय पर्यटकीय स्थलको विकास गर्नमा नरैनापुरको स्थानीय सरकारले गरेको योगदान सह्रानिय छ । तर, अझैपनि पर्याप्त मात्रामा पुर्वाधारहरु बन्न सकेका छैनन् । निर्माण भएका पुर्वाधारलाई दिगो रुपले संरक्षण गर्नुपर्ने चुनौती छ । बाटोको असुविधाका कारण कतिपय धार्मिक पर्यटकहरु चाहेर पनि पुग्न नसक्ने स्थिती रहेको छ । नरैनापुरका पर्यटकीय स्थलसम्म पुग्नका लागि भरपर्दो बाटोको सुविधा, धार्मिक पर्यटकीय स्थलहरुमा पर्याप्त मात्रामा धर्मशाला, खानेपानी, बिद्युत लगायतका पुर्वाधारहरु निर्माण गर्नु पर्दछ । यसका लागि स्थानीय सरकारको पहल कदमी आवश्यक छ । धन्यवाद !
(रिपोर्ट (आधारपत्र) प्रस्तुतकर्ता नागरिक दैनिकका पत्रकार हुन् । नेपाल पत्रकार महासंघ बाँकेले नरैनापुर गाउँपालिकाको सहकार्यमा २०८२ पुस ९ मा आयोजना गरेको कार्यक्रममा यो रिपोर्ट प्रस्तुत गरिएको हो ।)