नेपालगन्ज : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ टेसनपुर गाउँमा रहेको सुकुम्वासी तथा मुक्त कमैया बस्तीलाई नमुना गाउँ बनाइँदैछ । यहाँका विपन्न समुदायको जीवनस्तरमा सुधार ल्याउन ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरु गरिएको हो । कृषि उत्पादन, पोषण, वातावरण संरक्षण र जीवनस्तर सुधारलाई मुख्य आधार बनाएर दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) को समन्वयमा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुम्वासी परिवारको बसोबास रहेको ३० घरधुरीको टेसनपुरलाई नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । नेपालगन्जमा बिहीबार औपचारिक समारोहका बीच कार्यक्रम शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, परियोजनाका अधिकारी लगायतले सुरु गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्थीले प्रदेशमा यस्ता कार्यक्रम सुरु हुनु सकारात्मक पहल भएको बताए । कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोड्ने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै नेपाल–भुटान समन्वय अधिकारी केन सिन्जुले वातावरणीय चुनौतीसँग जुध्दै गाउँलाई अग्र्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनतर्फ उन्मुख गराउने लक्ष्य रहेको बताए । उनले पराल जलाउने परम्परालाई निरुत्साहित गर्दै त्यही परालबाट च्याउ उत्पादन गर्ने सीप स्थानीयलाई सिकाइएको जानकारी दिए । च्याउ उत्पादनपछि बाँकी रहने परालबाट कम्पोष्ट मल बनाउने, पातबाट दुना–टपरी तयार गर्ने जस्ता वातावरणमैत्री गतिविधि पनि सञ्चालन भइरहेको उनले बताए ।
यसैगरी बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण गाउँपालिकाले आफ्नो छुट्टै पहिचान बनाएको भन्दै नयाँ परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गरे । तालिमपछि स्थानीय महिलाहरूले एक लाख १० हजार रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएको टेसनपुर नमुना कृषक समूहकी अध्यक्ष देवी घर्तीमगरले बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमले आम्दानी मात्र होइन, वातावरण जोगाउने सोच पनि विकास गरेको छ ।’
कार्यक्रमका अवसरमा कालिका साना सिकसान सहकारी संस्थालाई आधुनिक कृषि सामग्रीसहितको ‘कस्टम हाइरिङ सेन्टर’ स्थापना प्रमाणपत्र समेत प्रदान गरियो । नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले बर्दियाका पाँच सहकारी संस्था एफ.ए.ओ. नेपालसँग साझेदारीमा जोडिएको जानकारी दिए ।