बाँके(खजुरा): प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र संकटा स्पोर्ट्स क्लब काठमाडौंबीच हुने भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा यही चैत ३० गतेदेखि गोल्डकप सञ्चालन हुँदैछ ।
उक्त प्रतियोगिताका लागि आयोजकले सार्वजनिक गरेको तालिका अनुसार सोही दिन अपरान्ह उद्घाटन खेल हुनेछ । यस्तै प्रतियोगितामा बैशाख १ गते (नयाँ वर्षका दिन) कर्णाली प्रदेशको कांक्रेबिहार स्पोर्ट्स क्लब र नवलपरासीको फोर ब्रर्दश एफसी, बैशाख २ गतेका दिन आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लब र भारत लखनउको जेविएम फुटबल एकेडेमी तथा बैशाख ३ गतेका दिन सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब र नाईजेरियन जोन क्लब नाइजेरियाबीच प्रतिस्पर्धा हुने प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
प्रतियोगिताको लागि मुख्य प्रायोजन एमटी एरिना ले गरेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन हुने खजुराको ‘डिगाउँ स्थित मिनी रंगशालालाई रंगरोगन गरिएको र हजारौंको उपस्थितीमा प्रतियोगिता भब्य रुपले उद्घाटन गर्ने तयारी भईरहेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप—विजेता टिमले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ । गोल्डकप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताका लागि खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा ‘डीगाउँ निवासी लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, मुख्य प्रायोजक, बाँकेका विभिन्न स्थानीय तहबाट सहयोग सुनिश्चित भईसकेको आयोजकले जनाएको छ । पहिलो पटक आफ्नो ठाउँमा हुन लागेको गोल्ड कपका लागि खजुरा क्षेत्रबासीले पनि स्वतःस्फुर्त रुपमा सहयोग गरिरहेको प्रचार संयोजक दाहालले सुनाए ।
खजुराबासीहरुले न्युनतम पाँच हजारदेखी माथीको रकम सहयोग गरिरहनु भएको छ, विदेशमा रहनु भएका खजरेलीहरुको पनि हामीलाई सहयोग र हौसला मिलेको छ, उनले भने । खजुरा गोल्डकपलाई स्थापित गर्ने अभियानमा स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा जोडिएको आयोजकले जनाएको छ । गोल्डकप प्रतियोगितालाई ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।