नेपालगन्ज : स्थानीय विकासको अनुगमनको लागि वाचडकको रूपमा सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, संगठन, मिडिया र सरोकारवालाहरुका लागि प्रशिक्षण दिइएको छ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सुशासन केन्द्रको आयोजनामा सोमबारबाट नेपालगन्जमा सुरु गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरूलाई वाचडगको भूमिकामा रही विकास गतिविधिको निगरानी कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश सुशासन केन्द्रका निर्देशक उजिर प्रसाद न्यौपानेले गरेका थिए ।
सहायक प्रजिअ खत्रीले सुशासनको लागि जवाफदेहितालाई आधार मान्नुपर्ने बताए । 'जवाफदेहिता महत्वपूर्ण कुरा हो, हरेक नागरिकले जवाफदेहिता खोज्नुपर्छ,' उनले भने ।
सुुुशासन केन्द्रका निर्देशक न्यौपानेले लुम्बिनी प्रदेशमा नागरिक समाज, पत्रकार र सरोकारवालाहरुको लागि दिइएको यस्तो खालको प्रशिक्षण पहिलो भएको बताए । चालु वर्षमा बाँँके र बर्दियाको लागि तालिम गरिएको जानकारी गराए । उद्घाटन कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव तथा तालिमका प्रशिक्षक नमस्कार शाहले स्वागत गरेका थिए ।
दुई दिन सम्म चल्ने उक्त प्रशिक्षणमा बाँके र बर्दियाका नागरिक समाजका प्रतिनिधि, पत्रकार र सरोकारवाला लगायत दुई दर्जन बढीको उपस्थिती रहेको छ ।

