नेपालगन्ज : भोटेकोसीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि प्याब्सन बाँकेले ६५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको छ । प्याब्सनमा आवद्ध विभिन्न निजी तथा आवासिय बिद्यालयले संकलन गरेको राहत रकम बाढी पीडितलाई सहयोग गरिएको हो ।
नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरेर प्याब्सन बाँकेले यसबारेमा औपचारिक रुपमा जानकारी गराएको छ । विभिन्न बिद्यालयले प्याब्सन बाँकेलाई ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ र केही बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधैं रकम जम्मा गरेको जिल्ला अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार जिल्लाका विभिन्न ७७ वटा बिद्यालयले प्याब्सन बाँकेलाई उक्त रकम हस्तान्तरण गरेका छन्, भने केही बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेका छन् । ‘हामीलाई प्याब्सन केन्द्रबाट परिपत्र नआउँदै केही बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतःस्फुर्त रुपमा रकम जम्मा गरिसक्नु भएको छ, केन्द्रबाट परिपत्र आईसकेपछि हामीले बिद्यालयहरुलाई जानकारी गराएपछि संस्थागत रुपमा बाढी पीडितका लागि सहयोग रकम प्राप्त भएको हो,’ अध्यक्ष बज्राचार्यले भने । बाढी पीडितका लागि प्याब्सन बाँकेमा आवद्ध सबै बिद्यालयहरुबाट उठेको कुल रकम ६५ लाख बराबर रहेको उनले प्रष्ट्याए ।
पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद ब्यवस्थापन संयोजक महेन्द्र शर्माले संकलित रकमको चेक जिल्ला अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरेका थिए, भने अध्यक्ष बज्राचार्यले सोही चेकलाई प्याब्सन केन्द्रिय प्राज्ञिक परिषद सदस्य डा. राजेश केशर खनाललाई हस्तान्तरण गरेका थिए । उक्त रकम प्याब्सन केन्द्रिय समितिको खातामा जम्मा गरेर केन्द्रिय समितिले देशभरबाट संकलित रकमलाई एकमुष्ट रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी रहेको प्राज्ञिक परिषद सदस्य डा. खनालले जानकारी दिए । देशमा परेको महाविपदको समयमा प्याब्सन पनि सरकारको साथमा रहेको उनले बताए ।
प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले भोटेकोसी बाढीले निम्त्याएको विपदमा सबै संवेदनशिल रहेको बताए । बिद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेको उनले बताए । प्याब्सन केन्द्रिय समितिले देशभरबाट संकलन गरेर १० करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने वाचा गरेको प्याब्सन पदाधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद ब्यवस्थापन संयोजक शर्माले विभिन्न बिद्यालयबाट संकलित रकम सार्वजनिक गरेका थिए, भने प्याब्सन बाँकेका उपाध्यक्ष शरदचन्द्र रावलले स्वागत गरेका थिए ।

