काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित समूहको प्रयासले मात्र सम्भव नहुने बताएका छन्। देश बनाउन सबैको साथ, समन्वय र सहभागिता आवश्यक रहेको भन्दै त्यसको नेतृत्व रास्वपाले गरिरहेको उनले दाबी गरे ।
रुपन्देहीको भैरहवामा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले आफूहरू जिम्मेवारीमा आएको अझै छ महिना पनि पूरा नभएको उल्लेख गर्दै आगामी साढे चार वर्ष देश निर्माणका लागि सबैको साथ आवश्यक पर्ने बताए। उनले अब स्थानीय तह र प्रदेश निर्वाचन नजिकिँदै गएकाले रास्वपाले जनताको साथ खोजिरहेको बताए।
पार्टीको अभियानलाई प्रभावकारी बनाउन स्थानीय र जिल्ला तहबाटै काम अघि बढाउनुपर्ने उनको भनाइ थियो। आचार्यले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई पुराना राजनीतिक दल तथा तिनका नेताहरूलाई गाली गरेरभन्दा काममार्फत आफ्नो फरकपन देखाउन आग्रह गरे।
नयाँ पार्टीमा पुराना दलबाट आएका नेता-कार्यकर्ताको भावनामा चोट पुग्ने गरी आलोचना नगर्न पनि उनले सुझाव दिए।रास्वपाको नीति, सिद्धान्त र सरकारले अघि बढाएका अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिँदै उनले पुराना दलबाट आउने सबैलाई नकारात्मक दृष्टिले हेर्न नहुने बताए। ‘आरोप लगाउने मात्रै होइन, काम गरेर मन फर्काउने हो,’ आचार्यले भने, ‘पुराना पार्टीबाट खराब पात्र आए पनि असल अभ्यास सिकाएर अघि बढाउन र सुधार्न सक्नुपर्छ।’
विगतमा गम्भीर अपराधमा संलग्न व्यक्तिहरू समेत समयसँगै सुध्रिएका उदाहरण रहेको उल्लेख गर्दै सुधारको अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनले बताए। रास्वपाले विरोध र आलोचनाभन्दा काम तथा व्यवहारबाट जनताको विश्वास जित्ने बाटो रोज्नुपर्ने उनको भनाइ थियो।