नेपालगन्ज : जेनजी आन्दोलनका क्रममा फरार भएका मध्ये १ सय ६९ जना बालबन्दी र कैदीबन्दी अझै सम्पर्कमा आउन सकेका छैनन ।
२०८२ भदौं २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा दुई वटा बालसुधारगृह र एक कारागारबाट फरार भएका ३ सय ४० जनामध्ये १ सय ७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको थियोे। तर, उक्त समयमा फरार भएका १ सय ६९ जना भने अझै फरार भएका हुन ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृह, जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका थिए । प्रहरीका अनुसार जयन्दु बाल सुधारगृहबाट १ सय १५ जनामध्ये ६८ जना, नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १ सय ४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधारगृहबाट भागेका १ सय १५ बालबन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिएका छन । अझै ४७ जना फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको बताए। शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएका थिए ।
नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेका १ सय ७६ बालबन्दीमध्ये ७८ जना फरार भएको बताए । सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको थियो । फरार भएका मध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ।
नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १ सय ४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् । कारागार प्रमुख दलबहादुर बस्नेतका अनुसार १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएका छन । उक्त आन्दोलनका क्रममा कारागारमा ५ सय ८५ जना कैदीबन्दी रहेका थिए ।